मेरिनो मैदान छिरेको ६ मिनेटमै रोनाल्डोको विश्वकप यात्रा टुंगियो
एक गोल पनि नखाई स्पेन क्वार्टरफाइनलमा प्रवेश
सारांश
- स्पेनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोको निर्णायक गोलको मद्दतले पोर्चुगललाई १-० ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
- यस पराजयसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा र सम्भावित अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको मानिएको छ ।
- स्पेनले लगातार छैटौँ क्लिनसिट राख्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएको छ, जसमा गोलकिपर उनाई सिमोनले लगातार ६०९ मिनेटसम्म गोल नखाने विश्व कीर्तिमान कायम गरेका छन् ।
काठमाडौँ । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेपछि सोमबार स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । यससँगै विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा र सम्भवतः अन्तर्राष्ट्रिय करियर पनि अन्त्य भएको मानिएको छ ।
फाउल भएपछि मेरिनोले छिटो फ्रिकिक लिए, गोलतर्फ अघि बढे र ७५औँ मिनेटमा मैदान प्रवेश गरेका फेरान टोरेसको पासलाई सदुपयोग गर्दै गोलकिपर डियोगो कोस्टालाई छक्याएर विजयी गोल गरे ।
मेरिनो ८५औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । तर मैदानमा छिरेको ६ मिनेटमै उनले खेलको दिशामात्र बदलिदिएनन्, अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोल र २३३ खेलको कीर्तिमान बनाएका ४१ बर्षीय महान् खेलाडी रोनाल्डोको विश्वकप यात्रामा पनि पूर्णविराम लगाई दिए।
मेरिनोको चनाखो प्रदर्शनले गत मे महिनामा आर्सनललाई दुई दशकभन्दा बढीपछि प्रिमियर लिग उपाधि जिताउन योगदान दिएको बहुआयामिक क्षमता फेरि प्रमाणित ग¥यो । चोटका कारण उनी स्पेनको विश्वकप टोलीमा पर्ने वा नपर्ने अन्योलमा समेत थिए ।
यो जितसँगै स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा आफ्नो एकमात्र विश्वकप उपाधि जितेपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । अब ‘ला रोजा’ले शुक्रबार लस एन्जलस स्टेडियममा अमेरिका वा बेल्जियममध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
पोर्चुगलका कप्तान रोनाल्डो लगातार दोस्रो विश्वकपमा आफ्नो टोलीलाई क्वार्टरफाइनल पु¥याउने प्रयासमा थिए । तर पोर्चुगलले अहिलेसम्म यस्तो उपलब्धि हासिल गर्न सकेको छैन ।

युरोपका यी छिमेकी चिरप्रतिद्वन्द्वीबीच १०५ वर्षअघि म्याड्रिडमा पहिलो मैत्रीपूर्ण खेल भएको थियो । यसपटकको भेट भने उनीहरूको पछिल्लो विश्वकप भिडन्तभन्दा बिल्कुल फरक रह्यो ।
आठ वर्षअघि रोनाल्डोले स्पेनविरुद्ध ३–३ को रोमाञ्चक बराबरीमा आफ्नो विश्वकप करियरको एकमात्र ह्याट्रिक गरेका थिए । त्यो खेल प्रतियोगिताकै उत्कृष्ट खेलहरूमध्ये एक मानिन्छ ।
४१ वर्षीय रोनाल्डोले यस विश्वकपमा तीन गोल गरेका भए पनि स्पेनका गोलकिपर उनाई सिमोनविरुद्ध भने धेरै अवसर सिर्जना गर्न सकेनन् ।
स्पेनले खेलभर उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि खेल अतिरिक्त समय वा सम्भावित पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिएको थियो । तर अन्तिम क्षण (९०+१ मिनेट)मा मेरिनोले गोल गर्दै खेलको फैसला सुनाए ।
स्पेनले विश्वकपमा लगातार छैठौँ क्लिनसिट राख्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएको छ । गोलकिपर उनाई सिमोनले पनि लगातार ६०९ मिनेटसम्म गोल नखाने नयाँ विश्वकप कीर्तिमान कायम गरे ।

यसअघि इटाली (१९९०) र स्विट्जरल्यान्ड (२००६–१०) को लगातार गोल नखाएको विश्वकप खेलको कीर्तिमान स्पेनले तोडेको हो । स्पेनको यो यात्रा सन् २०२२ को अन्तिम १६ मा मोरक्कोसँग गोलरहित बराबरीबाट सुरु भएको थियो, जहाँ पेनाल्टी सुटआउटमा मोरक्को विजयी बनेको थियो ।
यस विश्वकपको समूह चरणको पहिलो खेलमा स्पेनले केप भर्डेसँग अप्रत्याशित गोलरहित बराबरी खेलेको थियो । त्यसपछि भने टोलीले लगातार चार खेलमा कुनै गोल नखाई जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
सिमोनले यसअघि बिहीबार अस्ट्रियामाथि ३–० को जितसँगै लगातार ५१७ मिनेट गोल नखाने कीर्तिमान तोडेका थिए । इटालीका चर्चित गोलकिपर वाल्टर जेङ्गाले सन् १९९० को घरेलु विश्वकपमा लगातार पाँच क्लिनसिट राख्दै उक्त कीर्तिमान बनाएका थिए ।
सिमोनको क्लिनसिट यात्रा सन् २०२२ को कतार विश्वकपमा जापानसँग २–१ को हारपछि सुरु भएको थियो ।
पोर्चुगलविरुद्धको खेलअघि उनले यस विश्वकपमा जम्मा चारवटा मात्रै बचाउ गरेका थिए, किनभने अस्ट्रियाले लक्ष्यमा कुनै प्रहार गर्न सकेको थिएन । तर अर्लिङ्टनमा सोमबार उनले पहिलो हाफमै रोनाल्डोका दुई प्रहार उत्कृष्ट रूपमा बचाए ।
तीमध्ये दोस्रो बचाउ विशेष आकर्षक थियो । हावामै उफ्रिरहेका बेला उनले पछाडि फर्केर दुवै हातले बल समात्दै पोर्चुगललाई गोलबाट वञ्चित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण