ऐतिहासिक षड्यन्त्रको पासोमा रैथाने शिल्पी समुदाय
सारांश
- शिल्पी समुदायहरूको प्रश्न केवल सामाजिक विभेदको मात्र नभई इतिहास, सभ्यता, पहिचान, संस्कृति, भूमि र अस्तित्वसँग जोडिएको छ ।
- समुदायभित्र जीवित वैकल्पिक इतिहास दृष्टिअनुसार वर्तमानमा अनुसूचित जाति वा कथित दलित भनेर चिनिने धेरै आदिमवासी समुदायहरू भारतीय उपमहाद्धीपका प्राचीन आदिमवासी समूहका उत्तराधिकारी हुन् ।
- यस दृष्टिले हेर्दा आजको दलित परिचय उनीहरूको आदिमवासी पुर्ख्यौली मूल पहिचान होइन, बरु इतिहासको लामो कालखण्डमा विकसित राजनीतिक, धार्मिक र सामाजिक शक्ति सम्बन्धको परिणाम हो ।
नेपाल, भारतका वर्तमानमा अनुसूचित जाति तथा कथित दलित भनेर चिनिने शिल्पी समुदायहरूको प्रश्न केवल सामाजिक विभेदको प्रश्न मात्र होइन । यो इतिहास, सभ्यता, पहिचान, संस्कृति, भूमि र अस्तित्वसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।
मानवशास्त्रीय, समाजशास्त्रीय तथा नृवंश शास्त्रीय दृष्टिले हेर्दा यी समुदायहरूको वर्तमान अवस्थालाई केवल गरिबी, पिछडापन वा सामाजिक बहिष्करणको परिणामका रूपमा बुझ्न पर्याप्त हुँदैन । उनीहरूको विगत, सामुदायिक श्रुतिस्मृति, मौखिक इतिहास, सांस्कृतिक निरन्तरता र सभ्यतागत योगदानलाई समेत समान रूपमा अध्ययन गर्नु आवश्यक हुन्छ ।
विश्वका धेरै आदिवासी तथा मूलवासी समुदायहरूको इतिहास शासकीय अभिलेखमा भन्दा लोकस्मृति, भूगोल, किंवदन्ती, वंशपरम्परा, स्थाननाम, गीत, संस्कार, सांस्कृतिक अभ्यासहरू र पुरातात्त्विक प्रमाणहरूमा सुरक्षित रहेको पाइन्छ ।
विजेताहरूले इतिहास लेख्ने र पराजित वा सीमान्तकृत समुदायहरूका अनुभवहरू इतिहासको किनारामा धकेलिने प्रक्रिया विश्वव्यापी समस्या नै हो । नेपाल, भारतका शिल्पी समुदायहरूको इतिहास पनि धेरै हदसम्म यस्तै अवस्थाबाट गुज्रिएको छ । यस्तो हुनसक्ने सम्भावनाहरूप्रति समुदायले राज्यमाथि लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।
समुदायभित्र जीवित वैकल्पिक इतिहास दृष्टिअनुसार वर्तमानमा अनुसूचित जाति वा कथित दलित भनेर चिनिने धेरै आदिमवासी समुदायहरू भारतीय उपमहाद्धीपका प्राचीन आदिमवासी समूहका उत्तराधिकारीहरु हुन् । उनीहरु आफूलाई गैरआर्य द्रविड, नागवंशी तथा केही किराँत नश्लसँग मिश्रित महाजातीय समुदायका रूपमा बुझ्छन् ।
यही दृष्टिकोणले सिन्धुघाँटी सभ्यताको निर्माण, धातु–प्रविधि, शिल्प–हस्तकला, निर्माणकला र उत्पादन प्रणालीमा यिनै समुदायहरूको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्दछ । यद्यपि, यस्ता दाबीहरू थप अनुसन्धानका विषय हुन् । तर समुदायको सामूहिक स्मृतिमा यिनको बलियो उपस्थिति रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।
विभिन्न ऐतिहासिक तथ्यप्रमाण, अभिलेख, भौगोलिक साक्ष्यले र समुदायको बुझाइमा भारतीय उपमहाद्धीपमा बाह्य समूहहरूको आगमनसँगै शक्ति सन्तुलनमा व्यापक परिवर्तन आयो । प्रारम्भमा वर्ण, रंग वा सांस्कृतिक भिन्नतामा आधारित विभेद बिस्तारै श्रम, श्रमिक र जातीय विभेदमा रूपान्तरण भयो ।
फलस्वरुप उत्पादन, निर्माण, धातुकला, छालाशिल्प, वाद्य निर्माण र अन्य जीवनोपयोगी सीपसँग सम्बन्धित समुदायहरू क्रमशः सामाजिक रूपमा सीमान्तकृत हुँदै गए । यही प्रक्रियाबाट शूद्र, अछुत र अन्ततः अपमानित र घृणित कथित दलितको रूपमा चिनिएको समुदायको दाबी छ ।
यस दृष्टिले हेर्दा आजको दलित परिचय उनीहरूको आदिमवासी पुर्ख्यौली मूल पहिचान होइन । बरु इतिहासको लामो कालखण्डमा विकसित राजनीतिक, धार्मिक र सामाजिक शक्ति सम्बन्धको परिणाम हो ।
यदि इतिहासलाई केवल सत्ता र दरबारको इतिहासका रूपमा मात्र हेरियो भने समाज निर्माण गर्ने ऐतिहासिक श्रमजीवी समुदायहरूको योगदान अदृश्य हुन्छ । तर सभ्यातको निर्माणमा शिल्प, श्रम र उत्पादनको भूमिका केन्द्रीय हुन्छ ।
विभिन्न वस्तु र धातुका खानी उत्खनन, घरमहल निर्माण गर्ने, कृषि औजार बनाउने, धातु गलाउने, वाद्य निर्माण गर्ने, वस्त्र र छालाका सामग्री उत्पादन गर्ने समुदायहरूको आनुवंशिक ज्ञान प्रणालीबिना कुनै सभ्यता निर्माण सम्भव हुँदैन । विडम्बना के छ भने सभ्यता निर्माण गर्ने तिनै हातहरू इतिहासका पानाबाट हराउँदै गए । तर शासन गर्नेहरूको नाम भने इतिहासमा सुरक्षित रह्यो ।
समुदायभित्र प्रचलित ऐतिहासिक श्रुतिस्मृति, मौखिक लोकपरम्परा र भौगोलिक तथ्यहरूले भारतका महार, चँवर, सँबर, चौंबर, पासी, दुसाध, डोम तथा अन्य समुदायहरूको प्राचीन उपस्थिति र राजनीतिक भूमिकाको चर्चा गर्छन् । महाराष्ट्रलाई महार समुदायको आदिभूमिसँग, सौराष्ट्रलाई चमार वा सार्की समुदायसँग, लखनउलाई सम्राट् लखन पासीसँग र धातुका टक चलाउने परम्परालाई लोहार (लुवार) राजवंशसँग जोड्ने वैकल्पिक व्याख्याहरू समुदायभित्र पाइन्छन् ।
यस्ता कथनहरू शैक्षिक अनुसन्धानका विषय हुन् सक्छन् । साथै, ती समुदायको ऐतिहासिक चेतनाको महत्त्वपूर्ण अंश हुन् । समुदायका लागि यी केवल कथा होइनन्, आफ्नो गुमाइएको इतिहास खोज्ने ठोस आधार, पुर्ख्यौली पदचाप एवम् सङ्केतहरू हुन् ।
नेपालका सन्दर्भमा पनि यस्ता स्मृतिहरू प्रशस्त भेटिन्छन् । तराई क्षेत्रमा ७औँ देखि १३औँ शताब्दीको बिचमा राजा सहलेश (दुसाध/पासवान) ले मैसोथागढ (हालको सिरहा) लाई केन्द्र बनाएर शासन गरेको थिए । जो तराईवासी र भूमिपुत्र दुबैका लागि पूज्य छन् ।
तराईमा डोम समुदायले बाँसको चोयाबाट ढकिया नबुनीकन छठ पर्व पूरा हुँदैन । त्यसैगरी मुसहर समुदायलाई परम्परागत भूमिको औषधी विज्ञानको विशिष्ट ज्ञाता मानिन्छ ।
त्यसैगरी मिथिलका डोम र चमार राजवंशको राजकाजको गाथा आजसम्म समुदायमा जीवित छन् । इटलिका नागरिक कापुचिन पादरी कास्सिआनो १७३९–१७५४ ई. भित्र पटक–पटक नेपाल भ्रमण गरेर सिम्रौनगढको पर्खालको बारेमा उनको रिर्पोटमा उल्लेख गरेको पाइन्छ ।
उनकानुसार (चर्मनगढ, चिमनगढ हुँदै) सिम्रौनगढका चक्रव्यूहाकार चित्र भक्तपुर दरबार क्षेत्रमा थियो, जसको प्रकाशन उनले इटलीका पत्रिकामा गरेका थिए (बहुभाषिक सयपत्री, वर्ष–४,२०५५ ः १४९) । डा.नवल वियोगीका अनुसार भारतका अनुसूचित जाति, नेपालका रैथाने शिल्पी समुदाय मूलतः द्रविड र नागपाल वंशका हुन् । सार्की राजाहरुले सर्वप्रथम छालाका मुद्रा निर्माण गरेर समाजमा मुद्राको शुरुवात् गरेको इतिहास पाइन्छ ।
विशेषगरी तराई, सुदूरपश्चिम, कर्नाली, भेरी क्षेत्रका शिल्पी समुदायहरू आफूलाई त्यस भूगोलको आदिम शिल्प (मानव) सभ्यताको विकासकर्ता मान्छन् । त्यसैगरी कर्नाली, भेरी नामकरण, सभ्यता विकास, भूमि र सांस्कृतिक विकासँग जोडेर हेर्छन् । उनीरुको तर्क छ कि खस, बाहुनहरुको ठुलो आगमन हुनुअघि तराई, सुदुरपश्चिम, कर्नाली, भेरी क्षेत्रमा यिनै आदिमवासी शिल्पी समुदायहरूको लामो शासनसत्ता, राजनीतिक र सांस्कृतिक उपस्थिति बलियो थियो ।
यो तथ्य तराई, सुदूरपश्चिम र कर्नाली, भेरी क्षेत्रको थात्थलोमा त्यहाँ रहेका विभिन्न गढी, कोट र किल्लाहरुबाट प्रमाणित हुन्छ ।
यसको भौगोलिक तथ्यप्रमाणका रूपमा त्यस क्षेत्रका स्थाननामहरुमा उल्लेखनीय मानिन्छ । जस्तै कालिकोटको लुहारकोट, जुम्लाको सुनार गाउँ, बझाङको सुनिकोट, डुम्राकोट, सुनिगाड, खाँडाचक्रलगायतका स्थानहरू समुदायको स्मृतिमा आज पनि ऐतिहासिक प्रतीकका रूपमा रहेका छन् । समुदायको प्रश्न छ– यदि यी समुदायहरू सधैँ सीमान्तकृत मात्र थिए भने उनीहरूका नामका यति धेरै कोट, किल्ला, गढी र भूगोल किन बने ? किन विभिन्न जिल्लाहरूमा ३ देखि ४ वटासम्म समुदायगत नाम बोकेका ऐतिहासिक स्थलहरू भेटिन्छन् ।
स्थानीयका अनुसार कालिकोटको लुहारकोटमा शान्ति र देवराज लुहारलगायतले राजकाज गरेका थिए । खाँडाचक्रलाई लुहार राजाहरुले विशेष अवसरमा खाँडा चक्राकार घुमाउने परम्परासँग जोडेर व्याख्या गरिन्छ । त्यस्तै पूर्णप्रकाश नेपाल यात्रीले जुम्लाको सुवर्णनगर (सुनार) लाई राजा देशददेवसँग र बझाङको सुनिकोटलाई कालु सुनेल (सुनार) सँग सम्बन्धित रहेको डा. सूर्यमणि अधिकारीले बाइसे राज्यको इतिहासमा उल्लेख गरेका छन् ।
भियालकोट र सुनारकोट (सार्की र सुनार), मुगु, भुलकोट (सार्की/भुल), बागलुङ/बझाङ, डुम वा डोमराजाकोट (डोम, डुम), सुर्खेत र डोटी (उदुम्बरपुरी), तिरुवाकोट, रुचालकोट र समुद्रपालगढी (कामी र सार्की), हुम्ला, पुर्कोट (सार्की), तनहुँमा रहेको छ ।
चमार (सार्की) वंशीय राजाहरूले लामो समय शासन गरेको कुरा के.पी. संखवारद्वारा लिखित ‘शुद्रों का खोजपूर्ण इतिहास अर्थात् सच्चा भारतका इतिहास’ मा उल्लेख गरेका छन् । उनका अनुसार चमार/सार्की राजा सारङ्देव (सार्कीदेव) ले एघारौँ शताब्दीतिर उत्तरी भारतदेखि र नेपालको सारङ्कोट, कास्कीसम्म शासन गरेको उल्लेख छ ।
त्यसैगरी दर्नाकोट र बादीकोट (दमाईं र बादी), अछाम, प्यूठान, कुमालीकोट र गन्धर्वकोट (बादी र गन्धर्व), डोटी र बागलुङ (गलकोट) । विशेषगरी तराई, मध्य नेपाल, सुदूरपश्चिम, कर्नाली र भेरी क्षेत्रमा यी समुदायको राजकाज र शासनसत्ताको केन्द्रको रूपमा रहेको देखिन्छ ।
यसले ऐतिहासिक राज्यसत्ताको महत्त्व, राजकीय प्रमाण, शासन र प्रशासनिक अस्तित्वको केन्द्र, प्रभुत्व र खानी उत्खनन्, प्राचीन थात्थलो, सुरक्षात्मक सामरिक किल्ला, कलासंस्कृति, कलात्मक र साङ्गीतिक संवाहकहरुको केन्द्रको रूपमा चर्चित रहेको इतिहास गुमनाम छ । बझाङमा प्रचलित एक भनाइ छ, ‘कोटहरुमध्येको जेठो डुम्राकोट, मष्टहरुमध्येको जेठो ढँढार मष्ट ।’ यसलाई समुदायको आदिपना, प्राचीनताको उपस्थिति र सांस्कृतिक स्मृतिको अभिव्यक्तिका रूपमा लिइन्छ ।
समुदायको अर्को महत्त्वपूर्ण प्रश्न इतिहास लेखनसँग सम्बन्धित छ । उनीहरूको धारणा छ कि सुदूरपश्चिम, कर्नाली, भेरी र तराई क्षेत्रको शिल्प (मानव) सभ्यताको इतिहासमाथि पर्याप्त अनुसन्धान भएकै छैन । बरु छोटो अवधिको राज्य विरासतलाई सभ्यताको रूपमा स्थापित गरियो ।
जबकि दीर्घकालीन रैथाने समुदायको इतिहासलाई छायामा पारियो । पूर्ण प्रकाश नेपाल यात्रीले सिञ्जाको ऐतिहासिक रुपरेखा पुस्तकमा करिब तीनसय वर्षको शासन अवधिलाई आधार मानेर ‘खस सभ्यता’ भन्नसम्म सकिने उल्लेख गरेका छन् । समुदायभित्र भने प्रश्न उठ्छ– यदि कुनै समुदायको बलियो उपस्थिति वा शासन शताब्दियौं पुरानो थियो भने त्यसको अध्ययन किन भएन ?
इतिहासकार डा. सुरेन्द्र केसीले पाँचौं, छैंटौं शताब्दीमा कुमाउँ, गढवाल र अछामहुँदै खस समूहहरुको प्रवेशको चर्चा गरेका छन् । समुदायभित्र प्रचलित वैकल्पिक दृष्टिकोणले यही प्रक्रियापछि रैथाने शिल्पी समुदायहरु क्रमशः राजनीतिक रूपमा विस्थापित भएको तर्क गर्दछ । उनीहरूका अनुसार यही विस्थापनको परिणामस्वरुप शिल्पी समुदायहरुको स्थानान्तरण गण्डकी, लुम्बिनी, बागमती, कोशी हुँदै पूर्वी नेपाल, दार्जिलिङ, सिक्किम, आसाम र भूटानसम्म विस्तार भएका हुन् । अस्तित्वको प्रश्नसँगै सांस्कृतिक स्वामित्वको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।
दमाहा, ढोलकी, हुडके, छलियालगायत नाच, पञ्चैबाजा, धातुकला, वाद्य निर्माण तथा विविध शिल्प परम्पराहरूलाई लिएर स्वामित्व र पहिचानको बहस तीव्र बन्दै गएको छ । कुनै पनि जाति, समुदायको संस्कृति सबैले प्रयोग र साझा गर्न सक्छन् ।
तर, त्यसको मूल वा उत्पत्तिकर्ता र संवाहक समुदायलाई विस्थापित गरेर पहिचान मेटाएर श्रेयहरण गर्नु सांस्कृतिक अपहरण र नरसंहार नै हो । यूनेस्कोकानुसार– ‘जसको संस्कृति, उसको पहिलो अधिकार’ भन्ने अवधारणाले यही नैतिक आधार एवंम् भावलाई बल प्रदान गर्दछ ।
आज अर्को बहस आदिवासीपनको परिभाषासँग सम्बन्धित छ । संयुक्त राष्ट्रसंघले आदिवासी पहिचानका लागि केही अन्तर्राष्ट्रिय मापदण्ड प्रस्ताव गरेको छ । तर रैथाने शिल्पी समुदायका केही चिन्तकहरुको तर्क छ कि दक्षिण एशियाको सन्दर्भमा आदिम शिल्प–ज्ञान, जल, जमिन, जंगलसँगको ऐतिहासिक सम्बन्ध, सभ्यता निर्माणमा योगदान, भूमिपुत्रको निरन्तरता र सांस्कृतिक स्मृतिलाई पनि महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । उनीहरुकानुसार सबै आदिमवासी समुदायहरु अनिवार्य रूपमा सँधै शासित मात्र थिए भन्ने मान्यता दक्षिण एशियाको जटिल ऐतिहासिक यथार्थसँग मेल नखान सक्छ ।
यसै क्रममा जाति र वर्गको बहस पनि महत्त्वपूर्ण हुन्छ । कार्ल माक्र्सले मुख्यतः वर्गीय सम्बन्धका आधारमा समाजको विश्लेषण गरे । तर दक्षिण एशियाली समाजमा जातीय विभेदले आर्थिक, सामाजिक र राजनीतिक अवसरहरुको वितरणलाई गहिरो रूपमा प्रभावित गरेको छ । यही कारणले विश्वगुरु बुद्ध र युगनायक डा. भीमराव अम्बेडकरले सामाजिक अन्यायको मूल संरचनामा जातीय विभेदलाई विशेष महत्त्व दिएका थिए ।
यस दृष्टिले दक्षिण एशियाको सामाजिक यथार्थलाई केवल वर्गीय कोणबाट मात्र सामाजिक अन्यायको मूल संरचनामा जातीय विभेदलाई विशेष महत्त्व दिएका थिए । यसकारण दक्षिण एशियाको जाति, इतिहास र पहिचनाको सामाजिक यथार्थलाई केवल वर्गीय कोणबाट मात्र सीमित गरेर बुझ्न सकिँदैन ।
यद्यपि समुदायको सबैभन्दा ठुलो चुनौती बाह्य उत्पीडनबाट मात्र आएको छैन । आफ्नै इतिहासप्रतिको उदासीनता, मौखिक श्रुतिस्मृतिको इतिहास अभिलेखीकरण नगर्नु, स्थाननामको अध्ययन नगरिनु, पुरातात्त्विक सम्भावनाप्रति बेवास्ता, सांस्कृतिक सम्पदाको संरक्षणमा कमजोरी र आत्महीनताको मानसिकताले ठुलो क्षति पुर्याएको छ ।
यसका अतिरिक्त गहिरो खोज–अनुसन्धानको अभाव, समुदायमा एकता, सहकार्य, सहयोग र सामूहिक भावनाको कमी र नयाँ पुस्तामा ऐतिहासिक चेतना हस्तान्तरणको काम अझै व्यवस्थित रूपमा हुन सकेको छैन । भनिन्छ, ‘इतिहास केवल अरुले मात्र मेटाउँदैन, कहिलेकाँही उत्तराधिकारीहरुले बिर्सेर पनि हराउँछ ।’
त्यसैले आजको आवश्यकता केवल गौरवशाली अतीतको भावनात्मक पुनरावृत्ति होइन । आवश्यकता अनुसन्धानको हो । आजको तथ्य, प्रमाण, पुरातत्त्व, मौखिक इतिहास, भूगोल र सांस्कृतिक स्मृतिलाई जोडेर नयाँ ढंगले इतिहास पढ्ने हो ।
कालीकोटको लुहारकोट, जुम्लाको सुनार गाउँ, बझाङको सुनिकोट, डुम्राकोट, सुनिगाड तथा कर्नाली, भेरी र तराईका असंख्य ऐतिहासिक स्थलहरुको व्यवस्थित अध्ययन हुन सकेमा पर्यटन प्रवर्द्धन, नयाँ तथ्यहरू उजागर हुन सक्ने सम्भावना अझै बाँकी छ ।
निष्कर्ष:
आदिमवासी शिल्पी समुदायहरुको प्रश्न अन्ततः केवल अतीतको प्रश्न होइन, यो वर्तमान र भविष्यको प्रश्न पनि हो । यदि कुनै समुदायको इतिहास, संस्कृति, शिल्प–ज्ञान, भूमि र सामूहिक स्मृति क्रमशः हराउँदै गयो भने त्यससँगै उसको आत्मविश्वास, आत्मसम्मान र भविष्य निर्माणको आधार पनि कमजोर हुँदै जान्छ ।
आजको आवश्यकत कुनै समुदायलाई अरुभन्दा माथि वा तल साबित गर्नु होइन । आवश्यकता इतिहासको छायामा परेका आवाजहरूलाई सुनिनु हो । आदिमवासी शिल्पी समुदायको मौखिक इतिहास, स्थाननाम, सांस्कृतिक स्मृति, शिल्प–ज्ञान र सभ्यतागत योगदानमाथि निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ । यदि समुदायका दाबीहरूमा ऐतिहासिक अंश छन् भने ती सार्वजनिक हुनुपर्छ ।
यदि भ्रम छन् भने वैज्ञानिक अनुसन्धानले त्यसलाई स्पष्ट गर्नुपर्छ । तर, अनुसन्धान नगरी इतिहासलाई अस्वीकार गर्नु पनि ज्ञानको पक्षमा हुँदैन । साथै सम्बद्ध समुदायले पनि आत्मालोचना गर्न आवश्यक छ । आफ्ना सांस्कृतिक सम्पदाहरू जोगाउने, मौखिक इतिहासहरु अभिलेखीकरण गर्ने, नयाँ पुस्तालाई ऐतिहासिक चेतना हस्तान्तरण गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने जिम्मेवारी समुदायकै काँधमा छ । केवल पीडाको स्मृतिले भविष्य निर्माण हुँदैन, ज्ञान, संंगठन, अनुसन्धान र साँस्कतिक पुर्नजागरणले मात्र भविष्य निर्माण गर्न सक्छ ।
हुुड्के, छलिया नाच, पञ्चैबाजा, धातुकला, वाद्य निर्माण, छालाशिल्प तथा मौलिक ज्ञान प्रणालीहरु केवल साँस्कृतिक सम्पदा मात्र होइनन् । ती समुदायको सामूहिक आत्मा, स्मृति र पहिचानका जीवित अभिव्यक्तिहरु हुन् । तिनको उचित संरक्षण, सुरक्षा, विकास र पुस्तान्तरणबिना समुदायको दीर्घकालीन अस्तित्व, इतिहास र पहिचान सुरक्षित रहन सक्दैन ।
अन्ततः प्रश्न आज पनि उही छ, आफनो इतिहासबाट विमुख बनाइएको समुदाय आखिर कहिले आफ्नै जरा खोज्न फर्किन्छ ? आफ्ना पुर्खाले निर्माण गरेका सभ्यता, शिल्प–ज्ञान र सांस्कृतिक धरोहरलाई कहिले कहिले पुनः चिन्ने ? इतिहासको पुर्नपाठ, सांस्कृतिक पुर्नजागरण, आत्मसम्मान र शैक्षिक जागरणको बाटो समातेर मात्र समुदायले आफ्नो वास्तविक स्थान पुनः प्राप्त गर्नसक्छ । आखिर कुम्भकर्णे निद्रामा परेको सामूहिक चेतना कहिले ब्यूँझिने ? भन्ने प्रश्नको उत्तर पनि यहीँ लुकेको छ ।
सायद त्यस दिन, जब समुदायले अरुले थोपरेको परिचयभन्दा आफ्नो ऐतिहासिक अस्तित्व खोज्न थाल्नेछ । जब हीनताभन्दा आत्मसम्मान रोज्नेछ, जब भावनालाई अनुसन्धानसँग, स्मृतिलाई प्रमाणसँग र गौरवलाई ज्ञानसँग जोड्नेछ ।
त्यही दिन आदिमवासी शिल्पी समुदायको वास्तविक पुनर्जागरणको सुरुवात हुनेछ । त्यही दिन इतिहासको किनारामा धकेलिएका आवाजहरु इतिहासको केन्द्रमा सुन्न थालिनेछन् । र, सम्भवतः त्यही दिन आजसम्म षड्यन्त्रको जालोमा अल्झाइएका समुदायहरूले आफ्नो वास्तविक ऐतिहासिक धरातल पुनः भेट्टाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न अस्पतालको अटेरी
-
कृत्रिम महँगीको मारमा आम नागरिक
-
साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण