सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
सारांश
- सिंहदरबार परिसरभित्र ट्राफिक नियमको पालना र कार्यान्वयन कमजोर देखिएको छ।
- सिंहदरबार परिसरका विभिन्न सडकमा सडकको दुवैतर्फ आधा–आधा भाग ओगट्ने गरी तथा फुटपाथ नै ढाकेर सवारीसाधन पार्क गरिनु सामान्य दृश्य बनेको छ।
- यसका कारण काम विशेषले सिंहदरबार पुग्ने सेवाग्राही, कर्मचारी तथा आगन्तुकले फुटपाथ प्रयोग गर्न नपाई सडकबाटै हिँड्नुपर्ने अवस्था छ।
काठमाडौं । सार्वजनिक सडकमा केही मिनेट सवारी रोके पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था छ। तर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने ट्राफिक नियमको पालना र कार्यान्वयन कमजोर देखिएको छ।
सर्वसाधारणबाट ट्राफिक नियम उल्लंघन गरेबापत दैनिक लाखौँ रुपैयाँ जरिवाना उठाउने ट्राफिक प्रहरीले सिंहदरबारभित्र हुने अव्यवस्थित पार्किङप्रति भने प्रभावकारी निगरानी गर्न नसकेको देखिन्छ। सिंहदरबार परिसरका विभिन्न सडकमा सडकको दुवैतर्फ आधा–आधा भाग ओगट्ने गरी तथा फुटपाथ नै ढाकेर सवारीसाधन पार्क गरिनु सामान्य दृश्य बनेको छ।
यसका कारण काम विशेषले सिंहदरबार पुग्ने सेवाग्राही, कर्मचारी तथा आगन्तुकले फुटपाथ प्रयोग गर्न नपाई सडकबाटै हिँड्नुपर्ने अवस्था छ। पैदलयात्रीको सुरक्षित आवागमनका लागि निर्माण गरिएका फुटपाथ नै पार्किङस्थलमा परिणत हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ।
कतिपय स्थानमा ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएको भए पनि त्यही स्थानमा सवारी पार्क गरिएका भेटिन्छन्। यसले नियमको पालना गराउने निकाय र सरकारी कार्यालयभित्रकै व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
अव्यवस्थित पार्किङको सबैभन्दा बढी असर अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई परेको छ। ह्विलचेयर प्रयोगकर्ताले फुटपाथ प्रयोग गर्न नसकी सवारी चल्ने सडकबाटै ह्विलचेयर गुडाउनुपर्ने अवस्था छ। सडक किनारसमेत सवारीले ढाकेकाले उनीहरूको आवागमन थप असहज र जोखिमपूर्ण बनेको छ। यसले अपाङ्गतामैत्री सार्वजनिक संरचना निर्माण र समान पहुँच सुनिश्चित गर्ने सरकारी प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ।
सिंहदरबार देशको प्रशासनिक केन्द्र मात्र नभई सुशासन, कानुनको शासन र सार्वजनिक अनुशासनको नमुना हुनुपर्ने स्थान हो। तर त्यही क्षेत्रमा ट्राफिक नियमको खुलेआम उल्लंघन भइरहँदा सर्वसाधारणका लागि लागू हुने नियम सरकारी निकायभित्र समान रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ।
सरकारले सडक सुरक्षा, पैदलयात्रीमैत्री पूर्वाधार र अपाङ्गतामैत्री पहुँचलाई प्राथमिकतामा राखेको बताइरहे पनि सिंहदरबारभित्र देखिएको अव्यवस्थित पार्किङले व्यवहारमा अझै सुधार आवश्यक रहेको संकेत गरेको छ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
-
साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो
-
सिरहाबाट ३४ लाखको भन्सार छलिका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण