मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा

मङ्गलबार, २३ असार २०८३, १५ : १६
मङ्गलबार, २३ असार २०८३

रोयटर्स । बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा राजकुमार ह्यारी मंगलबार आफ्नो पत्नी र परिवारबिना लन्डनमा उपस्थित हुनेछन् ।

सोही दिन डेली मेल पत्रिकाका प्रकाशक एसोसिएटेड न्यूजपेपर्सविरुद्ध दायर गरेको अत्यन्त महँगो र चर्चित मुद्दाको फैसला सुनाइने भएको छ । 

वर्षमा एक वा दुई पटक मात्र बेलायत आउने ह्यारी सोमबार साँझ पाँचदिने कार्यक्रमका लागि लन्डन पुगेका हुन् । तर उनको भ्रमणको सुरुआतमै केही अवरोध देखियो । सुरक्षासम्बन्धी चिन्ताका कारण उनले अन्तिम समयमा आफ्ना साना छोराछोरीलाई साथमा नल्याउने निर्णय गरे । त्यसपछि उनलाई बकिङ्घम दरबारमा बस्न पनि अनुमति नदिइएको बताइएको छ । 

गोपनीयता उल्लङ्घनसम्बन्धी यो बहुचर्चित मुद्दाको फैसला ह्यारीका लागि बाँकी रहेका सबै कानुनी लडाइँमध्ये अन्तिम हो । ह्यारीले लामो समयदेखि बेलायती सञ्चारमाध्यममाथि आफ्नो शक्ति दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । 

शाही परिवारभित्रको मतभेद

४१ वर्षीय ह्यारी सन् २०२० देखि आफ्नी अमेरिकी पत्नी मेघनसँग अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । उनले सक्रिय शाही जिम्मेवारी त्यागेपछि शाही परिवारभित्र गहिरो मतभेद उत्पन्न भएको थियो । पछिल्ला वर्षहरूमा उनले त्यो सम्बन्ध सुधार्न चाहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् । 

यस भ्रमणमा उनका दुई सन्तान (७ वर्षीय आर्ची र ५ वर्षीया लिलिबेट) ले चार वर्षपछि पहिलो पटक आफ्ना हजुरबुबा राजा चार्ल्ससँग भेट गर्न सक्ने व्यापक अड्कलबाजी गरिएको थियो । यसलाई शाही परिवारबिचको सम्बन्ध सुधार्ने मौकाका रूपमा पनि हेरिएको थियो । 

तर परिवारको प्रहरी सुरक्षा व्यवस्थासम्बन्धी विवाद तथा बकिङ्घम दरबारमा बस्न दिइएको निमन्त्रणा फिर्ता लिइएपछि पुनर्मिलनको आशामा धक्का लागेको छ । फलस्वरूप ह्यारी एक्लै लन्डन पुगेका छन् । 

सञ्चारमाध्यमविरुद्धको कानुनी अभियान

सञ्चारमाध्यमविरुद्ध अदालतमा ह्यारीले चलाइरहेको कानुनी अभियान पनि शाही परिवारसँग उनको मतभेदको अर्को कारण बनेको छ । डेली मेलका प्रकाशक एसोसिएटेड न्यूजपेपर्सविरुद्धको मुद्दाको फैसला ग्रीनह्विच समयअनुसार दिउँसो १ बजे सुनाइने अपेक्षा गरिएको छ ।

यो मुद्दा ह्यारी, प्रसिद्ध गायक एल्टन जोन तथा बेलायतका अन्य पाँच चर्चित व्यक्तिहरूले संयुक्त रूपमा दायर गरेका हुन् । यस वर्षको सुरुमा ह्यारी स्वयं अदालतमा साक्षीका रूपमा उपस्थित भएका थिए । 

दुवै पक्षका लागि ठुलो दाउ

यस मुद्दाको महत्त्व दुवै पक्षका लागि निकै ठुलो छ । कानुनी टोलीका अनुसार मुद्दाको कुल खर्च करोडौं पाउन्ड पुग्ने अनुमान गरिएको छ । मुद्दामा हार्ने पक्षले मुख्य रूपमा ती खर्च बेहोर्नुपर्नेछ । यदि मुद्दाका बादीहरू विजयी भए भने उनीहरूले उल्लेखनीय क्षतिपूर्ति पनि पाउने सम्भावना छ । 

त्यसैगरी, यदि ह्यारी तथा अन्य चर्चित बादीहरू पराजित भए भने उनीहरूको सार्वजनिक प्रतिष्ठामा असर पर्न सक्छ । अर्कोतर्फ, यदि एसोसिएटेड न्यूजपेपर्स पराजित भयो भने अंग्रेजी भाषी विश्वमा अत्यधिक पढिने उसका प्रकाशनहरू तथा तिनका वरिष्ठ सम्पादक र पत्रकारहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप