एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
बेइजिङ । चीन सरकारले आफ्ना सबैभन्दा उन्नत कृत्रिम बौद्धिकता (एआई) मोडेलमा विदेशी पहुँच सीमित गर्ने सम्भावनाबारे प्रमुख प्रविधि कम्पनीहरूसँग छलफल सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो एक महिनायता चिनियाँ अधिकारीहरूले अलिबाबा, बाइटडान्स र जेडएआईजस्ता प्रमुख कम्पनीसँग बैठक गर्दै सार्वजनिक नभइसकेका अत्याधुनिक एआई मोडेलसमेत विदेशबाट प्रयोग गर्न नदिने विषयमा छलफल गरेका हुन् ।
यो कदमले चीनले उन्नत एआई प्रविधिलाई अमेरिकाले जस्तै रणनीतिक राष्ट्रिय सम्पत्तिका रूपमा हेर्न थालेको संकेत गरेको छ । सरकारले स्वदेशमा विकसित एआई प्रविधिलाई देशभित्रै सुरक्षित राख्ने नीति अघि बढाइरहेको स्रोतहरूले बताएका छन् । स्रोतका अनुसार चीनको वाणिज्य मन्त्रालयको नेतृत्वमा भएको बैठकमा क्लोज्ड–सोर्स र खुला दुवै प्रकारका अत्याधुनिक एआई मोडेलमा पहुँच सीमित गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा एआईसम्बन्धी स्वामित्वयुक्त प्रविधि चुहावट वा चोरीलाई चीनको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अपराध घोषणा गर्ने सम्भावनाबारे पनि चर्चा गरिएको बताइएको छ । साथै, चीनभित्रका एआई स्टार्टअपमा कसले लगानी गर्न पाउने भन्ने विषयमा पनि नयाँ प्रतिबन्ध लगाउने विकल्पबारे छलफल भएको स्रोतहरूले जनाएका छन् ।
गत वर्ष डिपसिकले आफ्नो आर–१ एआई मोडेल सार्वजनिक गरेपछि कम लागत र उच्च क्षमताका कारण चिनियाँ एआई मोडेलले विश्व बजारमा तीव्र विस्तार गरेका छन् । चीनले उन्नत एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने निर्णय गरेमा विश्वभरका व्यवसायहरूको एआई प्रयोग लागत बढ्न सक्ने र अन्तर्राष्ट्रिय एआई बजारमा समेत त्यसको प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।
तर, प्रस्तावित प्रतिबन्धको अन्तिम स्वरूप अझै तय भइसकेको छैन । स्रोतहरूका अनुसार यो व्यवस्था भविष्यमा सार्वजनिक हुने नयाँ एआई मोडेलमा मात्र लागु हुन सक्ने सम्भावना छ । चीन सरकारले कहिले वा यस्तो नीति लागु गर्ने भन्नेबारे भने हालसम्म औपचारिक जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण