मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण

मङ्गलबार, २३ असार २०८३, १९ : ३०
मङ्गलबार, २३ असार २०८३

जनकपुरधाम । धनुषा–महोत्तरी हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण कार्यमा भएको लापरवाहीका कारण सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सरकारको प्राथमिकतामा परेको कमला पुल अहिले पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । १५ वर्षअघि निर्माण कार्य सुरु हुँदा पनि पुल कहिले बन्ने हो भन्ने टुङ्गो छैन । देशभरिका मिडियामा चर्चामा आएको कमला पुलका विषयमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहल गरेको सुनिए पनि पुल अझै निर्माण हुन सकेको छैन ।

पुल निर्माण नहुँदा वर्षायाममा नदीमा पानी बढेपछि सर्वसाधारण डुङ्गाबाट यात्रा गर्न बाध्य छन् । पानी कम भएका बेला भने कहिले ढुङ्गा त कहिले बाँसको लच्काबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । पूर्वी भेगलाई जनकपुरधामसँग सिधै जोड्ने यो पुल निर्माण नहुँदा स्थानीयले दैनिक सास्ती खेपिरहेका छन् । 

२०६८ साल जेठमा भएको ठेक्का सम्झौताअनुसार २०७१ साल मंसिरसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर ठेकेदार परिवर्तन, पटक–पटक म्याद थप र निर्माण कार्य पूरा हुन नसक्दा स्थानीय अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

kamala-aandolan

सिराहाका स्थानीय देबु राउत भन्छन्, अप्ठ्यारो त अप्ठ्यारो छ यात्रा गर्न । दोषी ठेकेदार हो । कुनै मतलब नै हुँदैन ।

महोत्तरीको लोहरपट्टी नगरपालिकाका सीताशरण ठाकुर भन्छन्, 'रिस्क धेरै छ । सिराहा जाने छोटो बाटो भएकाले हामी यही बाटो जान्छौं । वर्षौंदेखि अब अधुरो पुल पूरा हुन्छ भन्ने सुनिरहेका छौं, तर अहिलेसम्म भएको छैन । ज्यानलाई बाजी राखेर पुल पार गर्नुपरेको छ ।' 

२०७१ सालमा सकिनुपर्ने काम तत्कालीन ठेकेदार पप्पु कन्स्ट्रक्सनबाट अलपत्र परेपछि २०७६ सालमा मुख्य ठेकेदार पप्पुलाई हटाएर निर्माण कार्यको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइयो । तर काम जारी रहँदा २०७८ सालमा कमला नदीमा आएको बाढीले दुई वटा पिलरको जग ढसिएपछि निर्माण कार्यमा नयाँ समस्या थपियो । त्यसपछि निर्माण कम्पनीबीच उत्पन्न विवाद र बजेट अभावका कारण कमला पुल सरकारदेखि स्थानीयसम्मको अत्यन्त चासोको विषय बने पनि पटक–पटक म्याद थप हुँदा पनि बन्न सकेको छैन । 

२०६८ सालमा ठेक्का सम्झौता हुँदा यता चार वटा संघीय निर्वाचन सम्पन्न भइसकेका छन् । प्रत्येक निर्वाचनमा सिराहा र धनुषाका नेताहरूले कमला पुललाई मुख्य एजेन्डा बनाए पनि पुल अझै अधुरै छ । विभिन्न पार्टीका केन्द्रीय तहका नेता, कुलमान घिसिङ, सुदन गुरुङ, बब्लु गुप्ता लगायतले पुलको अनुगमन गर्दै छिट्टै निर्माण सम्पन्न हुने आश्वासन दिएका थिए । तर ती आश्वासन फोटो र समाचारमै सीमित भएको स्थानीयको गुनासो छ ।

kamala-bridge

सिराहाका स्थानीय काशी साफी भन्छन्, 'चुनावका बेला नेताले मलाई भोट दिनु, पुलको अधुरो काम पूरा हुन्छ भन्छन् । हाम्रो आशा पलाउँछ, तर जितेर गएपछि हामी फेरि निराश हुन्छौं ।' अर्का स्थानीय रामसागर पण्डित भन्छन्, '७० वर्ष भइसक्यो । यो जुनीमा पुल पूरा भएको देख्छु कि देख्दिनँ, ठेगान छैन । मर्मत–सम्भारका लागि पनि केन्द्र, प्रदेश सरकार वा मन्त्री कसैको चासो देखिँदैन ।' 

कमला पुल निर्माण कार्य प्रभावकारी बनाउन संघर्ष समितिले बेलाबेलामा संघीय र प्रदेश सरकारलाई घच्घच्याउँदै आएको छ । संघर्ष समितिसँग प्रदेश सरकारले पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न संघीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारको स्रोतबाट पनि बजेट व्यवस्थापन गर्ने गरी २०८१ मंसिरभित्र डीपीआर तयार गर्ने सम्झौता गरेको थियो । तर उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाए । 

यादवका अनुसार जेठ १८ गते प्रदेश सभाका सभामुखलाई ज्ञापनपत्र बुझाएर निर्माणका लागि तत्काल बजेट सुनिश्चित गर्न माग गरिएको थियो । सभामुखले सदनमा छलफल गरेर काम अगाडि बढाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै उनले आफूहरू फेरि ठगिएको महसुस भएको बताए । 

kamala-dunga

कमला पुल निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयवासी, यात्रु तथा व्यवसायीले अझै पनि सास्ती खेपिरहेका छन् । निर्माणमा भएको ढिलाइले यातायात, आवागमन, आर्थिक गतिविधि र दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको छ । पटक–पटक म्याद थपिए पनि पुल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा निर्माण व्यवस्थापन र कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

सम्बन्धित निकायले निर्माण कार्यलाई तीव्रता दिई पुल छिटो सम्पन्न गरी सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनु आवश्यक देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप