बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा

बुधबार, २४ असार २०८३, ०६ : २७
बुधबार, २४ असार २०८३

सारांश

  • पर्वतको महाशिला नामक विशाल ढुङ्गा दक्षिण एसियाकै ठुलो ढुङ्गा भएको दाबी गरिएको छ।
  • महाशिला ढुङ्गाको नामकरणका पछाडि मालढुँगा, मियालढुँगा र मूलढुँगा जस्ता विभिन्न रोचक किस्सा जोडिएका छन्।
  • महाशिला गाउँपालिकामा पैयुँकोट मन्दिर र फलामखानी जस्ता अन्य पर्यटकीय तथा ऐतिहासिक स्थलहरू पनि रहेका छन्।

एउटा गीत छ– घुम्न जाऊँ, घुम्न जाऊँ, घुम्न नगरकोट । 

नगरकोटमा के छ र त्यस्तो ? त्यही डाँडाको थुम्को, गुराँसे जङ्गल र पारी देखिने हिमालको लहर । त्यो बाहेक ? 

खै, मलाई त केही लाग्दैन ।

त्यही केही नलाग्ने ठाउँ नेपालमा हजारौँ छन् । केही नलाग्ने त्यस्तै ठाउँमा संसारमा कतै नभेटिने सुन्दरता कोरिएर अडिएका छन् । त्यति सुन्दरता त भिन्चीको मोनालिसा पेन्टिङमा पनि छ कि छैन कुन्नि ? एक छिन गम खानैपर्ने हुन्छ ।

हजारौँमा हराएको त्यस्तै ठाउँहरूको सूचीमा लेख्न मिल्ने एक ठाउँ हो– पर्वतको महाशिला । 

भर्खरका तन्नेरीहरू डच सुन्दरीलाई हेरेर रूप त यस्तो पो होस भन्ने कल्पना गर्छन् । स्कान्डेभियन मुलुकका केटीहरू मात्रै सुन्दरी होइनन्, सुन्दरी त घाना र नाइजेरियाका केटी पनि उस्तै सुन्दर हुन्छन् । रङ्गमा कालो भएर के भो र ? सुन्दरता अनुहारको रङ्गमा मात्रै पोखिने त हैन होला ?

महाशिला पनि नाइजेरियन केटी हो । देख्दा अलि काली देखिएला, तर यसको सुन्दरताले सबै मानकहरूलाई पुरा गरेकै छ ।

बुढापाकाले गाउँ ठाउँतिर एउटा कुरा भनिरहन्छन्– पछाडिबाट हेर्दा ब्युटिफुल, अगाडीबाट हेर्दा हावडाको पुल । 

महाशिला त अगाडीबाट हेर्दा पनि ब्यूटिफुल नै छ ।

अब लाग्ला, यो महाशिला के हो ? गाउँपालिकाको नाम रहेको महाशिला भन्ने शब्द खास के को नाम हो ?

तपाईँ यस्तै सोच्दै हुनुहुन्छ भने– महाशिला एउटा ठुलो डुङ्गाको नाम हो । यसले दक्षिण एसियाकै ठुलो डुङ्गा हुँ भनेर पनि दाबी गरिरहेको छ । कति ठुलो भने, पहिले पहिले यसको फेदमा एक माना चामलको भात बसालेर डुङ्गाको परिक्रमा गरेर फर्कदा भात पाकिसकेको हुन्थ्यो भनेर बुढापाकाहरू सुनाउँछन् ।

पर्वतको एउटा स्थानीय तह हो– महाशिला । त्यो नामको न्वारन गर्ने डुङ्गाको नाम नै महाशिला हो । यो यति विशाल डुङ्गा यहाँ नभएको भए यो गाउँपालिकाको नाम के हुन्थ्यो होला है ? यस्तै प्रश्नले मैँले बारम्बार यहाँका बुढापाकालाई भनिरहन्छु । तर जवाफमा फूलको पत्रजस्तो कोमल जवाफ आउँछ– फिस्सको हाँसो मात्रै । यसको विकल्प कसैका मुखबाट सुनेकै छैन ।

कुरा गरौँ त्यही विशाल डुङ्गा महाशिलाको, जसको पुरानो नाम हो– मालढुँगा । जसको नामबाटै गाउँपालिकाको न्वारन भएको छ । भन्नेहरूले यो गाउँपालिकालाई पर्वतको कालिकोट पनि भन्छन् । म पनि यसै भन्थेँ । कहिलेकाहीँ भन्छु पनि । तर कालिकोट आफैँमा देशको एउटा गहना हो । यस अर्थमा महाशिला पनि गहना हो । सुनको कि हिराको ? कि फलामको ? फलामकै भए पनि गहना त गहनै हो । 

कुरो त्यही मालढुँगाको हो, जसले जन्मदर्तामा महाशिला भनेर नाम राखेको छ । यसको नामका पछाडि केही रोचक किस्सा छन्, जुन कुरा कमैलाई थाहा होला ।

किस्सा नं. १– यो मालढुँगा हो ।

चौबिसे राज्यको पालामा अलि बलियो कुरालाई, अलि बलियो मान्छेलाई माल भनेर भनेको कुरा इतिहासका केही पानामा पढ्न पाइन्छ । बहादुरीपूर्वक मल्लयुद्ध लड्ने व्यक्तिलाई माल भनेर भनेको त पर्वत राज्यको इतिहासमा दस्तावेजिकरण भएकै पनि छ । हो, त्यस्तै माल डुङ्गा हो यो । 

जसको वैभवका कारणले नै शब्द पाएको होला– माल भन्ने । हेर्दै अजंगको डुङ्गा । पुछारमा बसेर हेर्ने हो भने यसको दायाँ बायाँको भाग त परैको कुरा, उचाई हेर्न पनि निधारमा हत्केलाको पाली लगाउनुपर्छ । सिरमा टोपी छ भने टोपी अड्याउनुपर्छ । यति विशाल एउटै डुङ्गा छ, त्यो पनि एकै किसिमको । बिचमा रंग भरेर आफूलाई सजाएको । 

यसलाई मालढुँगा भनेर भनिने एउटा अर्को कथा गाउँ ठाउँमा अझै बाँचेकै छ । पुरानो बेलामा दूरी नाप्न न मिटर भनिन्थ्यो, न किलोमिटर । बरु आसामतिर गएर फर्केकाहरूले माइल भन्ने शब्द भित्र्याएका थिए । उनीहरूकै मुखबाट निस्केको हो यो डुङ्गाको दूरीको नापो– यो त एक माइलको डुङ्गा छ । त्यही कुरा बिस्तारै अपभ्रंश हुँदै माइलढुँगा बन्न गयो । 

पछि सजिलोसँग भन्दा मयलढुँगा बन्यो । र, झनै पछि चटपटे शैलीमा ढुँगाले नाम पाउँदै गयो– मालढुँगा । दूरी नाप्ने एकाइले यसको एक किसिमको नामकरण गरिदियो ।

किस्सा नं. २– यो मियालढुँगा हो । 

किस्सा नं. १ को कुरा एक शताब्दी पुरानो हो । तर यो किस्साको समय आजभन्दा लगभग पाँच सय वर्ष पुरानो छ । चौबिसे राज्यको पालामा यो भेग रहेको पैयुँ राज्यका दोश्रा महाराज थिए– लाभसिंह । धुँवाकोटको फलामखानी अवलोकन गरेर फर्कँदै गरेका बखत उनै महाराज लाभसिंह यसै डुङ्गामा एक छिन विश्राम गरे । 

अलि तल बूढो चौपारीको छेउमै मियाल फलेर लटरम्म भएको थियो । महाराजले त्यही मियालको बोटबाट अलिकति फल टिपेर ल्याउन लगाए । रानी सुरुचिसँगै त्यही डुङ्गाको सिरानमा बसेर मियालका फल खाए । पर्वते राजकुमारी सुरुचिले ढोरलथानामा रहँदा यस्तै डुङ्गाको सिरमा बसेर फलफूल खाने गर्थिन भनिन्छ । उनैले नाम दिइन– यस डुङ्गालाई मियालको डुङ्गा । 

किस्सा नं. ३– यो मूलढुँगा हो ।

बुढापाकाले भने–सुनेको अनुसार कुरो आजभन्दा लगभग ६ सय वर्ष पहिलेको हो । त्यसबेलाका बालाकोटका मुखिया गञ्जु आलेले यसै डुङ्गामा रात बिताउँदा राती सपनामा काली भगवतीले दीक्षा दिएकी थिइन । त्यही दीक्षामा उनलाई यो भेगमा राजपूत राजा मागेर ल्याई राजा राख्न र आफूलाई मन्दिर बनाएर पूजा गर्न अह्राएकी थिइन । 

त्यही सपनाको फल अनुसार पछि यो भेगमा पैयुँ राज्य बन्यो । त्यस अर्थमा, पैयुँ राज्यको स्थापनाका लागि मूल स्रोत यही डुङ्गा बन्यो । पछि यस भेगका प्रथम महाराजले उनै गञ्जु आलेको कुरा अनुसार यस डुङ्गालाई मूलढुँगा भनेर नामकरण गरिदिए । 

यी त भए, यस भेगका बूढापाकाका मुखमा बाँचेका यस डुङ्गाका कुरा । केही धार्मिक पक्षसमेत यस स्थानसँग जोडिएर बाँचेका छन् ।

गुजराती लिपीमा लेखिएको प्राप्त प्रमाणले के भन्छ भने, इस्वी संवत १७९५ मा यही डुङ्गामा स्वामीनारायणले तपस्या गरेका थिए । मुक्तिनाथको तीर्थमा निस्किएका स्वामीनारायणले यसै डुङ्गाको सिरमा रहेको गुफामा बसेर लगभग तीन महिना तपस्या गरेका थिए भन्ने विश्वास सो धार्मिक सम्प्रदायका अनुयायीहरूले गरेका छन् । 

gajurat

त्यसैले पनि होला, हाल गुजरातको अक्षरधामकै विशेष पहलमा यस स्थानमा स्वामीनारायणको मूर्ति स्थापना गरिएको छ । स्वामीनारायणको यस स्थानसँगको सम्बन्धका लागि शिलालेखमा पूर्ण ब्यहोरा उल्लेख गरी यस स्थानमा त्यो शिलालेख स्थापना पनि गरिएको छ ।

हिन्दु धर्मको एक प्रसङ्ग यही डुङ्गासँग जोडिने गरेको कहानी रहेको यस भेगका बुढापाकाहरू सुनाउँछन् । भगवानको पालामा ऋषिमुनिहरुको ध्यान भङ्ग गर्न आएका दैत्यहरूलाई लडेर पराजय गराउनका लागि भगवान् शिवले आफ्नो बाहन नन्दीको भेषमा यही ठाउँमा आउनुभएको र दैत्यहरूसँग नन्दीको भेषमै युद्ध गर्दा एउटा सिङ भाँच्चिएको प्रसङ्ग छ । त्यही भाँचिएको सिङले विशाल पत्थरको रूप लिएको र यो महाशिलाको विशाल चट्टान बनेको भन्ने कथा यहाँका बुढापाकाहरूले बडो रसले सुनाउने गर्छन् । 

यस अर्थमा यो विशाल डुङ्गा, नन्दीको त्यही भाँचिएको सिङको अवतार हो । अर्थात, भगवान् शिवको छद्म अवतार । 

एउटा अचम्मको घटना भयो यही डुङ्गामा । कुरा केही दशक पहिलेको मात्रै हो ।

यही डुङ्गाको पिँधका सानो गुफामा बसेर तपस्या गर्ने बाहुन जोगी एकाएक हराए । उनी तपस्या गरिरहँदा डुङ्गाको कापबाट पानी उम्रेर सानो कुवा बनेको थियो । उनी हराएसँगै त्यो कुवा पनि सुक्यो । धेरैपछि ती बाहुन जोगी फेरी फर्किएर यहीँ आए, आफ्नो तपस्या र पूजाआजा सुरु गरे । उनी फर्केर आएको त्यसै दिन त्यो सुकेको पानीको मूल पुनः उम्रियो अनि कुवा बन्यो । त्यो कुवा अहिले पनि उस्तै छ । डुङ्गाको कापबाट पानी उम्रिएकै छ ।

अब पाठकलाई एउटा कौतुहलता उब्जन सक्छ । 

त्यो के भने, त्यहाँ पुगेर फोटो खिच्न पाए हुन्थ्यो  । हेर्न पाए हुन्थ्यो त्यो भीमकाय शिला डुङ्गालाई । तर पुग्ने कसरी ?

गाउँपालिका भूगोलमा अलि कठिन भए पनि, यो धार्मिक र ऐतिहासिक ढुङ्गोमा पुग्न त्यति गाह्रो छैन । कुस्माबाट साइत सार्ने हो भने लगभग एक घण्टाको पक्की बाटोको यात्रापछि पुरानो गौँडा रहेको लुँखुदेउराली पुगिन्छ । त्यहीँ नजिकै छ, कालोपत्रे बाटोको छेउमै यो डुङ्गा । आउँदा फलेवासको उकालो चढेर आउनुपर्छ । नत्र भने, वालिङबाट आँधिखोला तरेर लगभग बिस किलोमिटरमा पुगिन्छ पैयुँ गाउँपालिकाको केन्द्र भएको हुवास बजार । 

त्यहाँबाट लगभग बाह्र किलोमिटर कालोपत्रे बाटो भएरै उकालो लाग्ने हो भने पुगिन्छ यसको फेदमै । कतैबाट आउँदा पनि बाटो असजिलो लाग्दैन । 

महाशिलामा घुम्न आउने निम्तो सहितको यो लेखले यही डुङ्गालाई मात्रै यति बेलासम्म गर्भमा बोकिरहेछ । तर, यहाँ आएपछि छुटाउनै नहुने ठाउँ हो– पैयुँकोट मन्दिर । यही मन्दिर हो, तत्कालीन चौबिसे राज्यको रूपमा रहेको पैयुँ राज्यको राजधानी पैयाँचउर भएको ठाउँ । इतिहासका तथ्य अलि बाँङ्गिएर मात्रै हो, खोज्दै जाँदा नेपालको पहिलो सेन वंशीय राज्य यही हो भनेर अभिलेखले देखाउँछन् । 

आजभन्दा पाँच सय असी वर्ष पहिले हालको नेपालको भूभागभित्र पहिलोपटक यही ठाउँमा सेन वंशका राजाले राजकाज सुरु गरेका हुन । यो मन्दिर रहेको पैयाँचउरको क्षेत्रबाट देखिने दृश्य यो लेखकले यहाँ बयान गर्नै सक्दैन । धेरै शब्द आफैँमा अपूरा हुन्छन् ।

अर्को छुटाउनै नहुने ठाउँ हो– फलामखानी । यहाँको सुन्दर भूआकृति रामारोशन क्षेत्रका पाटनमा बसेका थुम्काभन्दा कम्तीका छैनन् । यहीँबाट देखिन्छ– पूर्वमा गोरखादेखि पश्चिममा मुगुसम्मका हिमालको लहर आँखै अगाडि । यी हिमाल यसरी देखिन्छन् कि आँखामै आएर थपक्क बसेजस्तो हुन्छ । 

सिङ्गो हिमालको हारी परेलासँगै जोडिन आउँछन् । अझ, जाडोको याममा लामो झरी पर्‍यो भने यी थुम्कामा पर्ने हिउँ खेल्दै रमाउनुको मज्जा कसरी लेखूँ ?

यो फलामखानी डाँडामा आँखाको सौन्दर्य मात्रै होइन, यहाँ भएका रने खानी, धने खानी जस्ता धेरै फलामखानीका सुरुङ छन् । सल्लैसल्लाको वनभित्रको बाटो भएर पुगिने ती फलामखानीबाट फलामका धाउ निकालेर हातैमा खेलाउन सकिन्छ ।

बाँकी ? 

बाँकी तपाईँलाई यही सुन्दर महाशिलामा स्वागत छ । यो माटोले कुरेर बसेको छ तपाईँलाई । यहाँको हावाले तपाईंको जुलफी हल्लाउने अवसर पर्खेर बसिरहेको छ । 

के तपाईँलाई अझै पनि जाऊँ–जाऊँ जस्तो लागेन– महाशिला ।

(लेखक महाशिला गाउँपालिका, पर्वतका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप