बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा लरेन्स बिश्नोई र गाेल्डी बरारमाथि मुद्दा दायर

बुधबार, २४ असार २०८३, ०९ : ३८
बुधबार, २४ असार २०८३

सारांश

  • अमेरिकाले क्यानडामा सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या गराएको आरोपमा भारतीय गिरोहका प्रमुख लरेन्स बिश्नोई र गोल्डी बरारविरुद्ध मुद्दा दायर गरेको छ ।
  • अभियोगपत्रअनुसार बिश्नोई र बरारले भारतको जेलभित्रबाट मोबाइल फोनमार्फत निज्जरको हत्याको निर्देशन दिएका थिए ।
  • यो अभियोग अमेरिका र क्यानडाले संयुक्त रूपमा सञ्चालन गरिरहेको ठुलो अनुसन्धानको एक हिस्सा हो जसमा भारतमा आधारित तीनवटा सङ्गठित आपराधिक समूहका ३७ जना विरुद्ध अभियोग लगाइएको छ ।

वाशिङटन डीसी । अमेरिकाले क्यानडामा सन २०२३ मा सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या गराएको आरोपमा जेलमा रहेका भारतीय आपराधिक गिरोहका प्रमुख लरेन्स बिश्नोई र उनका उत्तर अमेरिकी सहयोगी सतिन्दरजीत सिंह (उर्फ गोल्डी बरार)विरुद्ध अभियोग दर्ता गरेको छ ।

लस एन्जलसस्थित संघीय अदालतमा सार्वजनिक गरिएको अभियोगपत्रअनुसार बिश्नोई र बरारले सन २०२३ जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तअन्तर्गत सरेस्थित एक सिख गुरुद्वाराबाहिर निज्जरको हत्या गराउने योजना निर्देशन दिएका थिए ।

अभियोगपत्रमा बिश्नोईले भारतको जेलभित्रबाट तस्करी गरेर ल्याइएका मोबाइल फोनमार्फत हत्या अभियान सञ्चालन गरेको तथा निज्जरको तस्बिर र उनी बस्ने विभिन्न ठेगाना साथी षड्यन्त्रकारीलाई उपलब्ध गराएको उल्लेख छ । अमेरिकी अधिकारीहरूका अनुसार गोल्डी बरार बिश्नोईका बाल्यकालका साथी हुन र उत्तर अमेरिकामा लरेन्स बिश्नोई अर्गनाइज्ड क्राइम ग्रुपको गतिविधि सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्दै आएका थिए ।

निज्जरको हत्यापछि क्यानडा र भारतबिच गम्भीर कूटनीतिक विवाद उत्पन्न भएको थियो । तत्कालीन क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली अनुसन्धानकर्ताहरू भारतीय सरकारी एजेन्टहरूको सम्भावित संलग्नताबारे विश्वसनीय आरोपको अनुसन्धान गरिरहेको बताएका थिए । भारतले भने उक्त आरोपलाई सुरुदेखि नै निराधार र हास्यास्पद भन्दै अस्वीकार गर्दै आएको छ । अमेरिकाले दायर गरेको नयाँ अभियोगपत्रमा निज्जरको हत्यामा भारतीय सरकारको संलग्नता वा जानकारी रहेको कुनै आरोप लगाइएको छैन । अमेरिकी अधिकारीहरूले पत्रकार सम्मेलनमा पनि भारतीय सरकार घटनामा संलग्न रहेको वा त्यसबारे जानकारी भएको कुनै दाबी गरेका छैनन् ।

निज्जर क्यानडेली नागरिक थिए । उनी भारतबाट अलग स्वतन्त्र खालिस्तान राज्यको पक्षमा अभियान चलाउँदै आएका थिए । भारत सरकारले उनलाई यसअघि नै आतंकवादीको सूचीमा राखेको थियो । यो अभियोग अमेरिका र क्यानडाले संयुक्त रूपमा सञ्चालन गरिरहेको ठुलो अनुसन्धानको एक हिस्सा हो । उक्त अनुसन्धानमा भारतमा आधारित तीनवटा सङ्गठित आपराधिक समूहसँग सम्बन्धित ३७ जना विरुद्ध जबर्जस्ती असुली, लागूऔषध तस्करी तथा सङ्गठित अपराधसम्बन्धी अभियोग लगाइएको छ । तीमध्ये २४ जना पक्राउ परिसकेका वा पहिलेदेखि नै हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यसअघि क्यानडेली प्रहरीले मे २०२४ मा निज्जरको हत्या प्रकरणमा चार जना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । उनीहरूको भारतीय सरकारी निकायसँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान अझै जारी रहेको क्यानडेली प्रहरीले जनाएको छ । अमेरिकाको अभियोगपत्रमा भने वास्तविक गोली चलाएको आरोप लागेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन र उनीहरूलाई केवल सह–षड्यन्त्रकारीका रूपमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप