बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग

बुधबार, २४ असार २०८३, ११ : ४६
बुधबार, २४ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन् ।
  • सांसद सङ्ग्रौलाले सभामुखको आचरणको आलोचना गर्न नहुने कानुनी व्यवस्था स्मरण गराउँदै प्रतिपक्षी दलका नेताहरूको शब्द चयनप्रति आपत्ति जनाइन् ।
  • उनले एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि नियमापत्ति जनाउँदै रेकर्डबाट शब्द हटाउन वा जस्ताको तस्तै राख्न विकल्प दिइन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी सदनमा बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा नियमापत्ति जनाउँदै प्रतिपक्षी दलका नेताहरूको व्यवहार र शब्द चयनप्रति आपत्ति जनाइन् । प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ को व्यवस्था स्मरण गराइन् । 

सांसद सङ्ग्रौलाले नियमावलीको नियम २१ को खण्ड ‘ख’ उल्लेख गर्दै भनिन्, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ । तर, यहाँ जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गरिन्छ, यो कस्तो नियत हो ?’

उनले प्रतिपक्षी बेन्चका नेताहरूलाई चुनौती दिँदै त्यस्तो भाषाको अर्थ र आधार प्रस्ट पार्न माग गरिन् ।  सांसद सङ्ग्रौलाले सभामुखको ध्यानाकर्षण गराउँदै दुई वटा विकल्प प्रस्तुत गरिन् । ‘सभामुखलाई सोधिएको कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने शब्द या त संसद्‌को रेकर्डबाट तत्काल हटाइयोस्,’ उनले भनिन्, ‘यदि हटाइँदैन भने त्यसलाई जस्ताको तस्तै राखियोस्, ताकि भोलिको पुस्ता र इतिहासले हेरोस् कि प्रतिपक्षी बेन्चमा हामीले कस्ता–कस्ता दिग्गज सांसदहरू पठाएका थियौँ ।’

एमाले सांसद राजेन्द्र राईले बोल्ने क्रममा सभामुख डोलप्रसाद अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेपछि सङ्ग्रौलाले नियमापत्ति जनाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप