बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्ने रास्वपा सांसद पाण्डेको चेतावनी

‘गोकर्णका जनता काकाकुल हुने तर पानी अन्यत्र पठाउने कार्य अब सह्य हुँदैन’
बुधबार, २४ असार २०८३, १४ : ३३
बुधबार, २४ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन्।
  • उनले गोकर्णेश्वर नगरपालिकाका बासिन्दाले पानी उपभोग गर्न नपाएको र कर्मचारी तथा प्राविधिकहरूको मिलेमतोले सर्वसाधारणले सास्ती भोग्नुपरेको आरोप लगाए।
  • सांसद पाण्डेले स्थानीयको समस्या तत्काल सम्बोधन नभए ड्याम बन्द गरेर पानी रोक्ने वा पाइप फुटाउने जस्ता कडा कदम चाल्ने चेतावनी दिए।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन्। 

बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको बताए। सांसद पाण्डेले खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकहरूको मिलेमतो रहेको आरोप लगाउँदै यसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उल्लेख गरे। 

कर्मचारीहरूले आफ्नो मनलाग्दो ढङ्गले केही टोलमा पानी छोड्ने र केहीमा नछोड्ने गरेको भन्दै उनले संयन्त्रको लापरबाहीप्रति आपत्ति जनाए। आफूले पनि पानी जडान गर्दा कर्मचारीको गैरजिम्मेवार व्यवहार र बेथिति भोगेको सन्दर्भ जोड्दै उनले आम जनताको अवस्था झनै दयनीय रहेको बताए।

उनले बैठकमा भने, ‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन्। मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन। यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ। म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन, यदि गोकर्णका जनताले पानी पाउँदैनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु।’

आरुबारी क्षेत्रमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भएर नयाँ प्रक्रियामा जान लागेको विषय उठाउँदै सांसद पाण्डेले दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइले स्थानीय थप मर्कामा परेको बताए। उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनाका इन्जिनियर तथा कर्मचारीहरूलाई कार्यशैली सुधार्न आग्रह गरे। 

कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीपनले जनतामा चरम असन्तुष्टि बढेको भन्दै उनले तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न माग गरे। आफ्नो निर्वाचन क्षेत्रका जनताको पीडालाई सरकारले नजरअन्दाज गरेमा पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कडा कदम चाल्न आफू पछि नहट्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप