बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो

मेस्सीले गरे एक गोल र एक असिस्ट, बने सर्वाधिक गोलकर्ता

मङ्गलबार, २३ असार २०८३, २३ : ५०
मङ्गलबार, २३ असार २०८३

 अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टमाथि पुनरागमन जित निकालेको छ ।  ३–२ को जित निकाल्दै अर्जेन्टिनाले जारी प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । 

२–० ले पछि परेको कठिन अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले सनसनीपूर्ण जित हात पारेको हो।

एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिम र ६७ औँ मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत २–० को अप्रत्याशित अग्रता लिँदै अर्जेन्टिनालाई स्तब्ध पारेको थियो। तर, खेलको अन्तिम १० मिनेटमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ७९ औँ मिनेटमा लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३ औँ मिनेटमा मेसी आफैँले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिएका बेला इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए। 

एन्जोको यो गोलका लागि लाउटारो मार्टिनेजले असिस्ट उपलब्ध गराएका थिए।
आजको गोलसँगै कप्तान लियोनल मेसी यस विश्वकपमा ८ गोलसहित शीर्ष स्थानमा उक्लिएका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ । जुन केलियन एमबाप्पेको भन्दा २ गोल बढी हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा इजिप्टको ऐतिहासिक विश्वकप यात्रा समाप्त भएको छ। उत्कृष्ट प्रदर्शनका बाबजुद इजिप्ट प्रतियोगिताबाट बाहिरिएको छ भने अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विजरल्याण्ड वा कोलम्बियामध्ये एकको सामना गर्नेछ। 

इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले मेसीको पेनाल्टी रोक्नुका साथै धेरै उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट भने जोगाउन सकेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप