मेलम्चीको विकल्प खोज्दै केयूकेएल : शिवपुरीको बागमती नदीबाट थप पानी ल्याउने योजना
सारांश
- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची आयोजनाको आपूर्ति बन्द भएपछि शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने योजना अगाडि बढाएको छ।
- शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने ५-६ वर्ष पुरानो योजनालाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएसँगै तीव्र पारिएको हो।
- आगामी तीन हप्तादेखि एक महिनाभित्र ४ देखि ५ करोड लिटर थप पानी आपूर्ति गरी मेलम्चीको पानी अभावले प्रभावित क्षेत्रमा राहत पुर्याउने लक्ष्य राखिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन्।
कार्यकारी निर्देशक साहका अनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित बागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तीव्र पारेको छ।
वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन र दररेटको समस्याका कारण रोकिएको उक्त आयोजना मंगलबारको बैठकबाट ईआईए प्रतिवेदन स्वीकृत भएसँगै ‘फास्ट ट्र्याक’ मा अगाडि बढाइएको छ। हाल बागमतीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ।
पहिलेका दुई वटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य मंगलबारदेखि नै सुरु भइसकेको छ। उक्त आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताए।
आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ। यसबाट चक्रपथभित्र मेलम्चीको पानी अभावका कारण प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ।
उनले बैठकमा भने, ‘यो मेलम्ची काठमाडौँ उपत्यकामा पानीको स्रोतहरूमध्ये अहिले मेलम्चीबाट आउने स्रोत १८ देखि २० करोड लिटर प्रतिदिन त्यो बन्द भएको स्थितिमा हामीले वैकल्पिक पानीको स्रोत खोज्ने क्रममा बागमती सुन्दरीजल प्रशोधन केन्द्रको माथि बागमती खोलाबाट शिवपुरीबाट पानी ल्याउने एउटा हाम्रो ५–६ वर्ष पहिलेको योजना थियो।’
योजनाको अवरोध र नयाँ सुरुआतबारे प्रष्ट पार्दै उनले थपे, ‘५–६ वर्षको योजना विभिन्न कारणले ईआईए रिपोर्ट नभएर, हामी दुईपल्ट टेन्डर गरेपनि दर रेटको कारणले रद्द गर्नुपर्ने स्थिति भएपनि अहिले हामीले त्यहाँ हिजोबाट फास्ट ट्र्याकमा ईआईए रिपोर्ट पनि लगभग पास भयो हिजोको बैठकबाट। म पनि त्यहाँ सहभागी थिएँ र हिजोको हाम्रो प्रयासबाट हामीले त्यो शिवपुरीको निकुञ्जबाट बागमतीको नदीबाट अहिले जुन २ करोड प्रतिलिटर पानी आइरहेको भोल्युमलाई थप पाइपहरू, पहिले हाम्रो १४ इन्चको दुई वटा पाइपबाट पानी सप्लाई गरेको थियो, त्यसलाई हामीले अर्को पाइप २० इन्चको पाइप थप गरेर हिजोबाट हामी काम सुरु गरेका छौँ।’
पाइप व्यवस्थापन र लक्ष्यबारे उनले भने, ‘त्यसमा हामीसँग भएकै पाइप, डीआई पाइपहरू लगभग २०० मिटर र बाँकी एचडीपीई पाइप ५०० एमएम डायामिटरको त्यसलाई हामीले खरिद प्रक्रियाबाट खरिद गर्नेछौँ र त्यो लक्ष्य हामीले एक महिना भित्रै, ३ हप्ता देखि १ महिना भित्रै प्राप्त गर्छौँ। त्यसबाट के हुन्छ भने हाम्रो अर्को जम्मा ४ देखि ५ करोड लिटर हामी थप गर्छौँ र यो काठमाडौँ भ्यालीमा रिङरोड भित्र मेलम्चीबाट जुन पानीको आपूर्ति बन्द छ, त्यसलाई हामीले केही न केही राहत दिने प्रयासमा छौँ।’
केयुकेएलमा रहेको ठूलो परिमाणको बक्यौता असुल गर्ने प्रक्रिया अगाडि बढाइएको र मध्यपुर थिमीका केही घरहरूमा देखिएको पानीको समस्यालाई तत्काल समाधान गरिने प्रतिबद्धता उनले व्यक्त गरे। सडक खन्ने सन्दर्भमा स्थानीय तह तथा वडा अध्यक्षहरूसँग आवश्यक समन्वय गरेर काम गरिने समेत उनले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण