बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति

बुधबार, २४ असार २०८३, २० : ५१
बुधबार, २४ असार २०८३

सारांश

  • नेपाल र कम्बोडियाले अनलाइन ठगी र अन्तरदेशीय अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेका छन् ।
  • कम्बोडियामा रहेका नेपाली नागरिकलाई स्क्यामिङ सेन्टरबाट उद्धार गर्न दुई देशबीच समन्वय हुने भएको छ ।
  • कम्बोडियामा नेपाली दूतावासले स्वास्थ्य कूटनीति अन्तर्गत आँखा शिविर सञ्चालन गरेको छ ।

काठमाडौँ । नेपाल र कम्बोडियोको बिचमा अनलाइन ठगी तथा अन्य अन्तरदेशिय अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ । 

कम्बोडिया समेत हेर्ने थाईल्याण्डस्थित नेपाली राजदूत धनबहादुर ओली र कम्बोडियाको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव ईट सोफिया बिच भएको भेटवार्तामा  त्यस्तो सहमति भएको हो ।

नेपालमा पनि कम्बोडियामा जस्तै प्रकृतिको ‘स्क्यामिङ सेन्टर’ चलाउने तयारी गरिरहेका बङ्गलादेशी र चिनियाँ नागरिकहरू पक्राउ परिरहेको अवस्थामा उच्चस्तरीय भेट भएको भेटमा सहभागी एक जना नेपाली अधिकारीले बताए । राजदूत ओली र सोफियोको बिचमा मानव बेचबिखन, अनलाइन स्क्याम, साइबर अपराध तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ ।

नेपाली नागरिकहरू पनि कम्बोडियाका स्क्यामिङ सेन्टरमा पुगेको आशङ्का गरिएको छ । विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसाको अवधि सकिएका ६०२ जनालाई बैंकक स्थित नेपाली दूतावासले स्वदेश फर्कन आह्वान गरेको छ । 

कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना शुल्क मिनाहा गराइएका ६६ जनालाई तत्काल नफर्किए कानुनी सजाय व्यहाेर्नुपर्ने भन्दै आइतबार पनि दूतावासले सुचना जारी गरेर ती ६६ जनाको नाम सार्वजनिक गरेको छ । नेपाली दूतावासले अहिलेसम्म स्क्यामिङ सेन्टरमा काम गर्न पुगेका ३ सय जना नेपाली नागरिकको उद्धार गरेको बताइएको छ ।

राजदूत ओलीले अनलाइन स्क्याममा संलग्न  ठेगानाहरूबाट नेपाली नागरिकहरूको उद्धारमा सहयोग पुर्‍याएकोमा कम्बोडिया सरकारप्रति आभार व्यक्त गरेका छन् । भेटमा उनले भने, ‘गैरकानूनी कार्यमा संलग्न सीमित व्यक्तिको अपराध सम्पूर्ण नेपाली समुदायलाई हेर्ने दृष्टिकोण बन्नु हुँदैन ।’

यसैबिच कम्बोडियाको कम्पोङ चाम प्रान्तमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा अस्पताल तथा अनुसन्धान केन्द्र, एनआरएनए कम्बोडिया र नेपाली दूतावासको समन्वयमा आँखा शिविर सञ्चालन गरिएको छ। 

g

मोतियाबिन्दु स्क्रिनिंग सहितको बृहत् निःशुल्क आँखा उपचार शिविरले कम्बोडियामा नेपालको ‘स्वास्थ्य कूटनीति’ को उत्कृष्ट उदाहरण प्रस्तुत गरेको नेपाली अधिकारीहरू बताउँछन्।

जुलाई ४ र ५ मा सम्पन्न आँखा शिविरबाट हजारौँ बिरामीले विशेषज्ञ सेवा प्राप्त गरे । कार्यक्रम सफल बनाउन एनआरएनए कम्बोडियाका पूर्वअध्यक्ष तथा हाल एसिया–प्यासिफिक क्षेत्रीय डीआरसी लाल सिंह खड्का,एनआरएनए दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्या,एनआरएनए कम्बोडियाका अध्यक्ष शिव पराजुलीलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप