बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस पुनर्जागरणको प्रश्न भाग–२

नेपाली कांग्रेस: रक्त, त्याग र लोकतन्त्रको अखण्ड यात्रा

बिहीबार, २५ असार २०८३, ११ : ००
बिहीबार, २५ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले राणा शासनको अन्त्य गरी लोकतन्त्रको स्थापनामा नेतृत्वदायी भूमिका खेलेको थियो।
  • २०१७ सालको राजनीतिक घटनाक्रमपछि पञ्चायती निरंकुश व्यवस्था लादिए पनि कांग्रेसले लोकतान्त्रिक आन्दोलनको संघर्ष जारी राख्यो।
  • २०४६ सालको जनआन्दोलन, संविधानसभाको निर्वाचन र २०७२ सालमा संविधान जारी हुनु जस्ता उपलब्धिमा कांग्रेसको भूमिका निर्णायक रह्यो।

कुनै पनि राजनीतिक दलको वास्तविक शक्ति उसको चुनावी जित–हारले मात्र मापन हुँदैन। त्यसको मूल्याङ्कन इतिहासले गर्छ। इतिहासले हेर्छ कि त्यो दलले राष्ट्रका लागि के त्याग गर्‍यो, जनताको स्वतन्त्रताका लागि कति संघर्ष गर्‍यो र सङ्कटको घडीमा कस्तो नेतृत्व प्रस्तुत गर्‍यो।

यही मापदण्डबाट हेर्दा नेपाली कांग्रेस नेपालको सबैभन्दा ऐतिहासिक र प्रभावशाली राजनीतिक शक्ति हो, जसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको थियो। यसको इतिहास केवल सरकार गठन र विघटनको कथा होइन; यो स्वतन्त्रताको खोजी, नागरिक अधिकारको स्थापना, निरङ्कुुश शासनविरुद्धको संघर्ष र लोकतन्त्रको निरन्तर यात्राको इतिहास हो।

त्यसैले नेपाली कांग्रेसको चर्चा गर्दा कुनै दल विशेषको मात्र चर्चा हुँदैन, नेपालको लोकतान्त्रिक विकासक्रमको चर्चा हुन्छ। राणा शासनको एक शताब्दीभन्दा लामो निरङ्कुश व्यवस्थाले नेपाली जनतालाई शिक्षा, अभिव्यक्ति, संगठन र राजनीतिक सहभागिताबाट वञ्चित गराएको थियो।

राज्य केही सीमित व्यक्तिको अधिकारभित्र सीमित थियो र नागरिकलाई आफ्नै देशमा स्वतन्त्र भएर बाँच्ने अधिकारसमेत थिएन। त्यस्तो कठिन समयमा परिवर्तनको सपना देख्नु नै ठुलो साहस थियो। र, त्यसलाई वास्तविकतामा बदल्न जीवन अर्पण गर्नु झनै ठुलो साहस थियो। त्यही साहसका साथ नेपाली कांग्रेसका अग्रजहरूले प्रजातन्त्रको दीप बाल्ने अभियान सुरु गरे।

उनीहरूले सत्ता प्राप्तिका लागि होइन, नागरिक स्वतन्त्रताको पुनःस्थापनाका लागि संघर्ष गरे। जेल, निर्वासन, आर्थिक अभाव र जीवनको जोखिम उनीहरूका लागि सामान्य कुरा बने। लोकतन्त्र उनीहरूको राजनीतिक कार्यक्रम मात्र थिएन; त्यो जीवनदर्शन थियो।

विसं २००७ सालको जनक्रति नेपालको आधुनिक इतिहासको निर्णायक मोड बन्यो। सशस्त्र संघर्ष, जनदबाब र राष्ट्रिय चेतनाको अभूतपूर्व जागरणले राणा शासनको अन्त्य गरायो र प्रजातन्त्रको ढोका खोल्यो। यो विजय कुनै एक व्यक्तिको होइन, हजारौँ ज्ञात–अज्ञात योद्धाहरूको सामूहिक त्यागको परिणाम थियो।

नेपाली कांग्रेसले यस आन्दोलनको नेतृत्व गर्दै नेपाली जनतालाई एउटा नयाँ युगमा प्रवेश गरायो। नागरिक अधिकार, राजनीतिक सहभागिता र स्वतन्त्रताको अवधारणाले त्यहीँबाट संस्थागत यात्रा सुरु गर्‍यो। आज हामीले सहज रूपमा प्रयोग गर्ने धेरै लोकतान्त्रिक अधिकार त्यही आन्दोलनमा गरिएको बलिदानका प्रतिफल हुन्।

२०१७ सालमा वीपी नेतृत्वको निर्वाचित सरकार विघटन गरियो र पञ्चायती निरंकुश व्यवस्था लादियो। लोकतन्त्र फेरि सङ्कटमा पर्‍यो।

त्यसो त २००७ सालपछि पनि लोकतन्त्रको यात्रा सहज रहेन। राजनीतिक संक्रमण, संस्थागत कमजोरी र पुराना शक्तिहरूको प्रतिरोधबिच देशले नयाँ बाटो खोजिरहेको थियो। यिनै चुनौतीबिच २०१५ सालमा नेपालको पहिलो आमनिर्वाचन सम्पन्न भयो। नेपाली जनताले पहिलो पटक आफ्नो प्रतिनिधि आफैँ छान्ने अवसर पाए।

त्यो केवल निर्वाचन थिएन; सार्वभौमिकताको ऐतिहासिक घोषणा थियो। नेपाली कांग्रेसले स्पष्ट जनादेश प्राप्त गर्‍यो र नेतृत्वले लोकतन्त्रलाई संस्थागत गर्ने प्रयास सुरु गर्‍यो। योजनाबद्ध विकास, शिक्षा विस्तार, भूमि सुधार, प्रशासनिक सुधार र नागरिक स्वतन्त्रतालाई बलियो बनाउने सोच त्यही समयबाट अघि बढ्न थालेको थियो। यसको नेतृत्व कांग्रेसका महान् नेता वीपी कोइरालाले गरेका थिए।

यद्यपि, त्यो यात्रा धेरै लामो समय चल्न पाएन।

२०१७ सालमा वीपी नेतृत्वको निर्वाचित सरकार विघटन गरियो र पञ्चायती निरंकुश व्यवस्था लादियो। लोकतन्त्र फेरि सङ्कटमा पर्‍यो। धेरै नेताहरू जेल परे, धेरै निर्वासनमा जान बाध्य भए र राजनीतिक गतिविधिमाथि कठोर नियन्त्रण लगाइयो। तर नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको संघर्ष छोडेन।

सत्ता गुमाएपछि सिद्धान्त पनि गुमाउने राजनीतिक संस्कृतिभन्दा फरक, कांग्रेसले लोकतन्त्रको पक्षमा निरन्तर आवाज उठाइरह्यो। कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र जनसहभागिताको पक्षमा उभिनु नै त्यस समयको सबैभन्दा ठुलो योगदान थियो।

यही निरन्तरको संघर्षले लोकतन्त्रको ज्योति निभ्न दिएन। यस कालखण्डमा पार्टीका नेताहरूले व्यक्तिगत जीवनभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिए। कैयौँले वर्षौँ जेल जीवन बिताए, परिवारबाट टाढा रहे, आर्थिक कठिनाइ भोगे, तर लोकतन्त्रप्रतिको विश्वास त्यागेनन्।

उनीहरूको त्यागले एउटा महत्त्वपूर्ण सन्देश दियो– लोकतन्त्र कुनै शासकले दिने उपहार होइन, जनताले संघर्ष गरेर प्राप्त गर्ने अधिकार हो। यही चेतनाले नेपाली समाजमा राजनीतिक जागरणलाई निरन्तर बलियो बनायो।

२०४६ सालको जनआन्दोलन त्यसै संघर्षको परिपक्व परिणाम थियो। विभिन्न लोकतान्त्रिक शक्तिहरूको सहकार्य, जनसहभागिता र व्यापक आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरायो। बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो र नेपाली जनताले फेरि आफ्नो राजनीतिक अधिकार प्राप्त गरे। यो आन्दोलनले एउटा गहिरो शिक्षा पनि दियो– जब लोकतान्त्रिक शक्तिहरू साझा उद्देश्यका लागि एक हुन्छन्, तब निरङ्कुशता टिक्न सक्दैन।

संविधानसभाको निर्वाचन, शान्ति प्रक्रिया र २०७२ सालमा संविधान जारी हुनु नेपालको लोकतान्त्रिक यात्राका ऐतिहासिक उपलब्धि हुन्। संविधान पूर्ण छैन।

विभाजनले जहिले पनि प्रजातान्त्रिक आन्दोलनलाई कमजोर बनाउँछ, तर एकताले इतिहास बदल्न सकिन्छ। त्यसपछि पनि नेपालको राजनीतिक यात्रा सहज भएन। सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता, राजसंस्थासँगको द्वन्द्व र राष्ट्रिय सङ्कटका अनेक चरण आए। तर यिनै कठिन परिस्थितिमा नेपाली कांग्रेसले पुनः संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्णायक भूमिका खेल्यो।

२०६२/०६३ सालको जनआन्दोलनले लोकतन्त्रलाई नयाँ चरणमा पुर्‍यायो। निरंकुश शासनको अन्त्य भयो, शान्ति प्रक्रियाको ढोका खुल्यो र नयाँ संविधान निर्माणको आधार तयार भयो। यो केवल राजनीतिक परिवर्तन थिएन; दशकौँ लामो हिंसा र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धातर्फको ऐतिहासिक रूपान्तरण थियो।

संविधानसभाको निर्वाचन, शान्ति प्रक्रिया र २०७२ सालमा संविधान जारी हुनु नेपालको लोकतान्त्रिक यात्राका ऐतिहासिक उपलब्धि हुन्। संविधान पूर्ण छैन। यसको कार्यान्वयनमा चुनौती छन्। सुधारको आवश्यकता सधैँ रहन्छ। तर यसले लोकतन्त्र, सङ्घीयता, समावेशिता, मानव अधिकार र जनताको सार्वभौमिकतालाई संस्थागत गरेको छ।

यस ऐतिहासिक प्रक्रियामा नेपाली कांग्रेसको भूमिका निर्णायक रह्यो। सहमति, संवाद र संविधानवादप्रतिको प्रतिबद्धताले देशलाई नयाँ राजनीतिक आधार प्रदान गर्‍यो। तर इतिहासको सबैभन्दा ठुलो शिक्षा यही हो कि कुनै पनि उपलब्धि स्थायी हुँदैन। लोकतन्त्र एक पटक जितेर सधैँ सुरक्षित रहने व्यवस्था होइन। यसलाई प्रत्येक पुस्ताले आफ्नो इमानदारी, उत्तरदायित्व र सेवाभावबाट जोगाइरहनु पर्छ।

नेपाली कांग्रेसले आफ्नो गौरवशाली विगतलाई भविष्य निर्माणको ऊर्जा बनाउन सकेमा मात्र इतिहासले फेरि एकपटक यसलाई नयाँ भूमिका निर्वाह गर्ने अवसर दिनेछ।

००७ सालको क्रान्ति, ०४६ सालको जनआन्दोलन वा ०६२/०६३ को ऐतिहासिक परिवर्तन केवल सम्झनाका उत्सव होइनन्; ती वर्तमानलाई मार्गदर्शन गर्ने प्रेरणा स्रोत हुन्। यदि ती मूल्यहरू व्यवहारमा हराए भने इतिहासको गौरव पनि क्रमशः फिका हुँदै जान्छ।

आज नेपाली कांग्रेसका लागि यही सबैभन्दा ठुलो चुनौती छ। पार्टीसँग गौरवशाली इतिहास छ, तर इतिहासले मात्र भविष्य निर्माण गर्दैन। इतिहासले जिम्मेवारी दिन्छ, अवसर दिन्छ, प्रेरणा दिन्छ; तर भविष्य वर्तमानको आचरण, सङ्गठनको सुदृढता, नेतृत्वको नैतिकता र जनताप्रतिको उत्तरदायित्वले निर्धारण गर्छ।

त्यसैले आज कांग्रेसले आफ्ना संस्थापकहरूको सङ्घर्षलाई केवल स्मरण गर्ने होइन, त्यसलाई वर्तमान कार्यशैलीमा रूपान्तरण गर्न आवश्यक छ। यदि लोकतन्त्रका लागि जीवन अर्पण गर्ने पुस्ताको त्यागबाट वर्तमान पुस्ताले विनम्रता, सेवा, अनुशासन र राष्ट्रप्रतिको समर्पण सिक्न सकेन भने इतिहासप्रतिको सम्मान अधुरो रहनेछ।

नेपाली कांग्रेसको वास्तविक सम्पत्ति सत्ता होइन, इतिहास हो। तर इतिहासको संरक्षण भाषणले हुँदैन; सिद्धान्त, सेवा र आत्मसुधारले हुन्छ। जनताले आज पनि त्यो पार्टी खोजिरहेका छन्, जसले उनीहरूको विश्वास जितोस्, भविष्यप्रति आशा जगाओस् र राष्ट्रलाई सही दिशा देओस्।

त्यसैले नेपाली कांग्रेसले आफ्नो गौरवशाली विगतलाई भविष्य निर्माणको ऊर्जा बनाउन सकेमा मात्र इतिहासले फेरि एकपटक यसलाई नयाँ भूमिका निर्वाह गर्ने अवसर दिनेछ। वर्तमानको नेतृत्व यो ऐतिहासिक जिम्मेवारीबाट पटक्कै भाग्न मिल्दैन।

क्रमश...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप