शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
विज्ञका कुरा

मनसुनसँगै बढ्दो ज्वरो

डेङ्गु, स्क्रब टाइफस र टाइफाइडको जोखिम
शुक्रबार, २६ असार २०८३, ११ : ००
शुक्रबार, २६ असार २०८३

सारांश

  • मनसुन सुरु भएसँगै नेपालमा ज्वरो र कडा झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
  • लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम बढेको छ, जसको नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्नुपर्छ ।
  • स्क्रब टाइफस किर्नाको टोकाइबाट सर्ने रोग हो, जसको समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।

नेपालमा मनसुन भित्रिएसँगै ज्वरोका बिरामी पनि बढ्दै गएको छ । काठमाडौँमा हुने दैनिक वर्षा अनि कहिलेकाहीँ ढल निकास व्यवस्थित नहुँदा काठमाडौँ नै डुबाउला जस्तो गरी पानी जम्मा हुने अवस्था देखिन्छ, जसले गर्दा पानीजन्य सङ्क्रामक रोगको जोखिमलाई ह्वात्तै बढाइदिएको छ। 

ज्वरोसँगै कडा झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने क्रम पनि बढेको छ। नेपालमा सामान्य पखाला लाग्दा अस्पताल नआउने हुँदा अस्पताल आउने यस्ता बिरामीलाई यस लेखमा ‘कडा झाडापखाला’ भनिएको हो।

हाल सङ्क्रामक रोगको ग्राफ पनि बढ्दै गइरहेको देखिन्छ। ज्वरो रोगको एक लक्षण मात्र भएको अनि सीमित जीवाणुहरूको मात्र परीक्षण हुँदा धेरैमा रोग अज्ञात नै देखिँदै आइरहेको पाइन्छ। अर्थात्, अधिकांश ज्वरोका बिरामीको रोग निदान हुने गरेको पाइँदैन। मनसुन भित्रिएसँगै नेपालमा पुष्टि हुँदै आइरहेका ज्वरोको लक्षण भएका केही सरुवा रोगहरू निम्न छन्:

  • डेङ्गु

पछिल्लो केही दिनयता लामखुट्टे ह्वात्तै बढेको देखिन्छ। दैनिकजसो देखिने घाम र पानीको लुकामारीसँगै लामखुट्टेको वृद्धि विकास सहज भएको छ। यसकारण पनि आगामी केही हप्तामा डेङ्गुको जोखिम बढ्ने देखिन्छ। डेङ्गु ‘एडिस’ जातको लामखुट्टेले सार्ने भएकाले लामखुट्टेको नियन्त्रण नै डेङ्गु नियन्त्रणको एकमात्र निर्विकल्प उपाय हो भन्दा फरक नपर्ला। 

लामखुट्टेको 'लार्भा खोज र नष्ट गर' अभियानका बारेमा धेरै वर्षदेखि व्यापक बहस हुने गरेको भए तापनि कार्यान्वयनको पक्ष भने अति नै फितलो देखिन्छ, जसले गर्दा डेङ्गु भौगोलिक रूपमा व्यापक विस्तार हुँदै गइरहेको छ।

सन् २०२२ मा नेपालको इतिहासमै सबैभन्दा ठुलो मानवीय क्षति डेङ्गुको कारणले हुन पुगेको तथ्याङ्क छ। आधिकारिक तथ्याङ्कले सङ्क्रमितको सङ्ख्या ५ अङ्कमा देखाएको भए तापनि यो सङ्ख्या ६ अङ्कमा अर्थात् लाखौँमा भएको हुनसक्ने अनुमान गर्न सकिन्छ। किनभने प्रकोपको केही समयपछि डेङ्गुको जस्तो लक्षण भएका अधिकांश बिरामीका परिवारका अन्य सदस्यले परीक्षण नै गर्न छाडेका थिए। 

शरीरका मांसपेशी तथा जोर्नी असाध्यै दुख्नु र खानेकुराको नाम सुन्नेबित्तिकै तीव्र वाकवाक लाग्नु वा बान्ता हुनु यसको अन्य सङ्क्रमणभन्दा भिन्न देखिने लक्षण हुन्। यीबाहेक आँखाको गेडी खस्ला जस्तो गरी दुख्नु, शरीरमा ससाना राता बिमिरा देखिनु र खानामा अरुचि हुनु यसका अन्य लक्षण हुन्। 

डेङ्गु थप जटिल भएमा शरीरका खासगरी नाक र गिजाबाट रक्तस्राव हुन सुरु गर्दछ। यसबाहेक विभिन्न अङ्गहरूमा पनि डेङ्गुको असर देखिने गर्दछ। डेङ्गुको मृत्युदर अन्य सङ्क्रामक रोगहरूको तुलनामा कम भए तापनि यसको दुखाइ भने सहन अति नै गाह्रो हुन्छ। त्यसैले पनि होला, कहिलेकाहीँ डेङ्गु सङ्क्रमित बिरामी स्वयम्‌ले पनि 'डेङ्गु रोग शत्रुलाई पनि नलागोस्' भन्ने गरेको लेखकको अनुभव छ।

  • स्क्रब टाइफस

हाल स्क्रब टाइफस फाट्टफुट्ट देखिन सुरु भइसकेको छ। यो ‘चिगर माइट’ नामक किर्नाको टोकाइबाट हुने गर्दछ। डेङ्गु र स्क्रब टाइफस वर्षेनि सँगसँगैजसो देखिने गरेको पाइन्छ। गत वर्ष काठमाडौँमा डेङ्गुभन्दा स्क्रब टाइफस बढी देखिएको थियो। 

Scrub-Typhus

काठमाडौँमा स्क्रब टाइफस व्यापक देखिनु आफैँमा अचम्मलाग्दो विषय थियो; किनभने स्क्रब टाइफस विशेषतः काठमाडौँबाहिर मोफसलका जिल्लाहरूमा बढी देखिने गरेको विगतको अनुभव छ। स्क्रब टाइफसको उपचार सुरुमै गरिएन भने मृत्युसमेत गराउन सक्दछ। तर समयमै पहिचान गरी एन्टिबायोटिक लिएमा यो पूर्ण रूपमा निको हुन्छ।

ज्वरोसँगै चिगर माइट नामक किर्नाको टोकाइबाट शरीरको छालामा कालो पाप्रो अर्थात् ‘स्कार’ देखिएमा स्क्रब टाइफस सङ्क्रमणको सम्भावना अति बलियो हुन्छ। पसिना आउने, शरीरमा बिमिरा देखिने, सास फेर्न केही गाह्रो भएको महसुस हुने, आँखाको सेतो भाग हल्का रातो हुने, वाकवाक लाग्ने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्याहरू स्क्रब टाइफसका थप लक्षण हुन्। 

प्रयोगशाला निदानबाट स्क्रब टाइफसको पुष्टि निश्चित हुने गर्दछ। चिगर माइट नामक किर्ना विशेषतः अग्ला झाडी अनि घाँसमा हुने हुँदा घरवरपर त्यस्ता झारहरू राख्नु हुँदैन। त्यस्तै, भुइँमा बस्दा ओछ्याएर मात्र बस्नुपर्दछ। यो किर्ना मुसामा पनि पाइने हुँदा आफ्नो घरवरिपरि मुसा आउने वातावरण सिर्जना गर्नु हुँदैन। अर्थात्, घरवरिपरि फोहोर हुन दिनु हुँदैन भने अन्न-अनाज भण्डारण गरिएको ठाउँमा पनि मुसा नआओस् भन्नका लागि व्यवस्थित गर्नुपर्दछ।

  • टाइफाइड

हाम्रो समाजमा अहिले पनि ‘ज्वरो आयो ? त्यो टाइफाइड पनि हुन सक्दछ है’ भन्ने चलन यथावत् छ। यसले नेपालमा ज्वरोको प्रमुख कारकहरूमध्ये टाइफाइड पनि एक हो भन्ने देखाउँछ। यो सङ्क्रमित खाना तथा पानीबाट सर्ने गर्दछ। यो 'साल्मोनेला टाइफी' नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ। 

पछिल्लो समय टाइफाइड फैलिने मुख्य कारण जारको पानी पनि भएको पाइएको छ। काठमाडौँमा बिक्री गर्न राखिएका धेरै जारका पानीमा ‘फेकल कोलिफर्म’ अर्थात् दिसामा पाइने जीवाणु मिश्रित हुने गरेको विभिन्न समयमा गरिएका परीक्षणले देखाएका छन्।

यो वर्षको मनसुन भित्रिसकेको भए तापनि बजारमा बेच्न राखिएका जारका पानीको गुणस्तर परीक्षण भइरहेको छ वा छैन भन्ने बारेमा जानकारी सार्वजनिक भएको देखिँदैन। यस्तो जानकारी सार्वजनिक हुन यस मानेमा पनि आवश्यक छ कि उपभोक्ताले आफूले पिउन लागेको पानी कम्तीमा ढुक्क भएर उपभोग गर्न सकून्। 

लामो समय ज्वरो आउनु, थकित हुनु, टाउको दुख्नु, वाकवाक लाग्नु, पेट दुख्नु, कब्जियत वा पखाला लाग्नु र कसै-कसैलाई शरीरमा बिमिरा देखिनु यसका लक्षण हुन्। रगतको परीक्षणपछि यसको निश्चित निदान हुन्छ र यसको उपचार एन्टिबायोटिकबाट गरिन्छ।

अन्त्यमा, माथि उल्लिखित सङ्क्रमणबाहेक ज्वरो ल्याउने अन्य धेरै कारक सङ्क्रमणहरू नेपालमा छन्। तर दुर्भाग्यवश, सीमित सङ्क्रमणहरूलाई मात्र नियमित परीक्षणमा राख्ने हुँदा धेरै ज्वरोका बिरामीमा कारण पत्ता लाग्ने गरेको पाइँदैन। सङ्क्रमणको पहिचानविना सही उपचारको सम्भावना कम हुन्छ भने उपचारसमेत लम्बिने वा बिरामीमा जटिलता देखिन सक्ने सम्भावना बढेर जान्छ। तसर्थ, ज्वरोका थप सम्भावित कारण र जीवाणु पत्ता लगाउन नेपालमा परीक्षणको दायरालाई बढाउन अति आवश्यक देखिन्छ। जीवाणु पत्ता लगाउन सकिएमा ज्वरोको प्रकोपलाई नियन्त्रण गर्न छिटो र सहज हुनेछ। यद्यपि, माथि उल्लेख गरिएका र पुष्टि हुँदै आइरहेका सङ्क्रामक रोगहरूका बारेमा बेलैमा सचेतना प्रवाह गर्ने, फैलिएको भए त्यसको कारण तथा रोकथाममा ध्यान दिने गरिएमा सम्भावित सङ्क्रमण, जटिलता र रोग फैलने क्रमलाई शीघ्र रोक्न सकिनेछ।

डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप