अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
सारांश
- अभिनेत्री काजल कर्णले फिल्म 'चिरञ्जीवी भव:' को सुटिङ सेटमा आफूलाई मधेसी भनेर हेपिएको र जातीय विभेद गरेको आरोप लगाएकी छन् ।
- मेकअपको क्रममा जानीजानी कालो रङ दलिदिएको, मुख्य अभिनेत्री र सहायक निर्देशकबाट अपमानित भएको र स्क्रिप्टमा नभएको काम गर्न लगाइएको उनको गुनासो छ ।
- कार्यकारी निर्माताले झूट बोलेर बोलाएर पारिश्रमिक माग्दा फिल्मबाटै हटाइएको र मधेसी कलाकारले भोग्नुपर्ने सङ्कीर्ण सोचको पर्दाफास गरेको कर्णले बताएकी छन् ।
काठमाडौँ । अभिनेत्री काजल कर्णले फिल्म सुटिङमा आफूलाई मधेसी भनेर हेपेको बताएकी छन् । कर्णले नेपाली फिल्म ‘चिरञ्जीवी भव:’ को सेटमा आफूले जातीय र क्षेत्रीय पहिचानका आधारमा चरम अपमान भोग्नुपरेको खुलासा गरेकी हुन् ।
३५० भन्दा बढी थारु, भोजपुरी र मैथिली गीतहरूमा अभिनय गरिसकेकी काजलले आफ्नो सामाजिक सञ्जालमा फिल्म सुटिङका क्रममा निर्देशकदेखि मेकअप आर्टिस्टसम्मले आफूलाई ‘मधेसी’ भएकै कारण मानसिक तनाव दिएको र अपमानित गरेको बताएकी हुन्।
काजलका अनुसार फिल्मको सेटमा सबैभन्दा पीडादायी क्षण मेकअपको समयमा भएको थियो। मेकअप आर्टिस्टले उनको अनुहारमा जानीजानी कालो रङ दलिदिएका थिए।
उनले भनिन्, `ओइ मधेसेनी भन्दै उनीहरू ममाथि खित्का छोडेर हाँसे। मेरो माटो र पहिचानको उपहास गरियो।´
काजलले सुटिङ सेटमा मुख्य अभिनेत्री प्रशंसा रायमाझी र चीफ एडी (सहायक निर्देशक) नेत्रबाट पनि अपमानित हुनुपरेको बताएकी छिन्। इटहरीको सुटिङ लोकेसनमा मेकअप रुममा प्रवेश गर्दा प्रशंसा रायमाझीले मेरो रुमको माहोल नबिगार्दिनुस् भन्दै आफूलाई राख्न नदिएको र चीफ एडीले उल्टै आफूलाई थर्काएको उनले बताएकी छिन्।
डिजाइनरले नाप लिएर पनि अन्तिम समयमा आफ्नै लुगा व्यवस्था गर्न भनिएको र प्रोडक्सन टिमले गाडीको व्यवस्था नगरी बिहानैदेखि सास्ती दिएको उनको गुनासो छ।
स्क्रिप्टमा नभएको काम र बिना सूचना निष्कासन
काजलका अनुसार उनलाई कलाकारको रूपमा नभई मजदुरको रूपमा व्यवहार गरियो। स्क्रिप्टमा कतै उल्लेख नभए पनि उनलाई जबरजस्ती फोहोर उठाउने र कुचो लगाउने दृश्यहरू गराइएको थियो।
पीडा त्यतिमा मात्र सीमित रहेन। इटहरीमा सुटिङ भइरहेका बेला बाँकी पारिश्रमिक माग्दा कार्यकारी निर्माता शैलेश खत्रीले झूट बोलेर बोलाएको र त्यहाँ पुग्दा आफ्नो ठाउँमा अर्कै कलाकार राखिसकिएको उनले बताइन्। निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा आफूलाई कुनै पूर्व जानकारी बिना फिल्मबाट हटाइएको र लुगा लिन मात्र बोलाएको भन्दै अपमान गरिएको बताएकी छन् ।
नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपर्ने सङ्कीर्ण सोचको पर्दाफास गर्दै काजलले प्रश्न गरेकी छिन्– `के मधेसी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?´
आफूलाई फिल्मबाट हटाइए पनि आफ्नो सपना र हिम्मत नहारको उनको भनाई छ । यश विषयमा फिल्म ‘चिरञ्जीवी भव:’ को निर्माण पक्षले भने मुख खोलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
-
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण