डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
सारांश
- डा. चन्द्र गिरीको 'डङ्की : सपनाको कालबाटो' उपन्यासले अवैध आप्रवासनको कथासँगै विश्वव्यापी असमानता, नेपाली युवाको स्वप्न-मनोविज्ञान, आधुनिक सभ्यताको विडम्बना र मानवीय अस्तित्वको सङ्घर्षलाई समाहित गरेको छ।
- 'डङ्की' शब्द अभावले जन्माएको विवशता र स्वदेशमा अवसरको मृत्युपछि विदेशी भूमितर्फ उन्मुख हुने जोखिमपूर्ण यात्राको साङ्केतिक अभिव्यक्ति हो।
- यो कृति अमेरिका पुग्नुअघि मानिसले गुमाउने कुराहरूको कथा हो र यसले पाठकलाई आफ्नै समाज, राज्य र समयको असफलता देखाउँछ।
साहित्यको प्रयोजन केवल कथा भन्नु होइन, समयको अन्तस्करणलाई अभिव्यक्त गर्नु पनि हो। कुनै कृतिको स्थायित्व त्यसले सिर्जना गरेको रोमाञ्चमा भन्दा त्यसले उठाएका प्रश्नहरूको गहिराइमा निहित हुन्छ। यही कसीमा डा. चन्द्र गिरीको ‘डङ्की : सपनाको कालबाटो’ समकालीन नेपाली आख्यानमा एउटा विशिष्ट हस्तक्षेपका रूपमा उदाएको छ।
यसले अवैध आप्रवासनको कथा मात्र भन्दैन; विश्वव्यापी असमानता, नेपाली युवाको स्वप्न–मनोविज्ञान, आधुनिक सभ्यताको विडम्बना र मानवीय अस्तित्वको सङ्घर्षलाई एउटै आख्यानभित्र समाहित गर्ने साहस गरेको छ।
‘डङ्की’ शब्द आफैँमा एउटा विम्ब हो। त्यो कुनै मार्गको नाम नभए पनि खासमा यो अभावले जन्माएको विवशताको नाम हो। यो स्वदेशमा अवसरको मृत्यु भएपछि विदेशी भूमितर्फ उन्मुख हुने जोखिमपूर्ण यात्राको साङ्केतिक अभिव्यक्ति हो। त्यसैले यस उपन्यासमा अमेरिका एउटा भूगोलभन्दा बढी मनोविज्ञान बनेर उपस्थित हुन्छ। समीक्षक एवं पत्रकार राजकुमार बानियाँले कृति विमोचन समारोहमा भनेझैँ, ‘अमेरिका महाशक्ति मुलुक मात्र होइन, मानसिकता हो’, जुन मानसिकता झल्काउने कृति हो– ‘डङ्की’।
कृतिमा अमेरिका पुग्नु उपलब्धि होइन; अमेरिका पुग्नका निम्ति चुकाइएको मूल्य नै मूल आख्यान हो। यही दृष्टिले हेर्दा ‘डङ्की’ नेपाली समाजमा मौलाउँदै गएको अमेरिकी मोहको उत्सव होइन, त्यसको निर्मम परीक्षण हो।
नेपाली साहित्यमा ‘तल्लो बाटो’को प्रसङ्ग पूर्णतः नवीन भने होइन। यसअघि कृष्ण धरावासीको ‘तल्लो बाटो’ ले यही विषयलाई साहित्यमा प्रवेश गराइसकेको थियो। तर डा. गिरीको ‘डङ्की’ले त्यसलाई झनै व्यापक भूराजनीतिक सन्दर्भ, अनुसन्धानको प्रामाणिकता र अनुभूतिको घनत्व प्रदान गरेको छ। पुस्तक विमोचन समारोहमा स्वयं कृष्ण धरावासीले आफ्नो कृतिभन्दा ‘डङ्की’ बढी आधिकारिक र जीवन्त बनेको अभिव्यक्ति दिएका थिए। एउटा स्थापित आख्यानकारबाट आएको यस्तो स्वीकारोक्ति केवल प्रशंसा होइन; विषयवस्तुको गहिराइ, अनुसन्धानको परिश्रम र आख्यानको विश्वसनीयताप्रतिको सम्मान पनि हो। त्यसैले ‘डङ्की’लाई यस विषयमा लेखिएको नेपाली भाषाको सबैभन्दा परिपक्व, प्रामाणिक र संवेदनशील कृतिमध्ये एक मान्न कुनै सङ्कोच मान्नुपर्दैन।
उपन्यासको मूल शक्ति यसको कथानकमा भन्दा यसको अनुभवजन्य सत्यमा निहित छ। लेखकले पाठकलाई घटनाको सूची सुनाउँदैनन्, उनी पाठकलाई आफूसँगै यात्रामा डोर्याउँछन्। इलामको सलकपुरबाट आरम्भ भएको यात्राले भारत, रुस, स्पेन, ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिकासम्म पुग्दा भूगोल मात्र बदलिँदैन; मानिसको आत्मा, विश्वास र सहनशीलताको पनि क्रमशः परीक्षा हुँदै जान्छ। यो यात्रा सीमाना पार गर्ने यात्रा मात्र होइन, भ्रमबाट यथार्थतर्फको कठिन आरोहण पनि हो।
कृतिको सबैभन्दा सबल पक्ष यसको शिल्पगत प्रयोगशीलता हो। यसमा आख्यान, नियात्रा, संस्मरण, डायरी र अनुसन्धान एकअर्कामा यसरी विलीन भएका छन् कि तिनको पृथक् सीमा छुट्याउन कठिन हुन्छ। परम्परागत आख्यानको रेखीय संरचनाबाट अलग्गिएर लेखकले यात्रालाई कथाको मेरुदण्ड बनाएका छन्। कतै पात्र बोल्छन्, कतै प्रकृति, कतै स्मृति र कतै समय स्वयं। यही संरचनागत नवीनताले ‘डङ्की’लाई समकालीन नेपाली उपन्यासहरूको भीडबाट पृथक् पहिचान प्रदान गरेको छ।
भाषिक दृष्टिले ‘डङ्की’को अर्को विशेषता यसको सहजता हो। भाषा अनावश्यक अलङ्कारले बोझिलो बनेको छैन, तर त्यसभित्र दृश्य सिर्जना गर्ने अद्भुत क्षमता छ।
उपन्यासको भाव–संरचनामा 'डेरियन ग्याप' केवल एउटा स्थान होइन, सम्पूर्ण कृतिको दार्शनिक केन्द्र हो। त्यहाँ सभ्यताको मुकुण्डो झर्छ र मानिस आफ्नो आदिम अस्तित्वसँग आमनेसामने उभिन्छ। घना वन, दलदल, भोक, मृत्युको सन्त्रास र अज्ञात भविष्यबीच बाँच्नका लागि गरिएको सङ्घर्षले पाठकलाई एउटा असहज प्रश्न सोध्छ– सभ्यता वास्तवमै कति सभ्य छ? मानिसलाई आफ्नो स्वप्न प्राप्त गर्न यति अमानवीय परीक्षा किन दिनुपर्छ? यही प्रश्नले उपन्यासलाई सामान्य साहसिक यात्राको वृत्तान्त हुनबाट जोगाएर मानवीय अस्तित्वको विमर्शमा रूपान्तरित गर्छ।
लेखकको वैज्ञानिक पृष्ठभूमि यहाँ स्पष्ट अनुभूत हुन्छ। प्रकृतिको वर्णन सौन्दर्यबोधका निम्ति गरिएको छैन; त्यसमा पारिस्थितिकीप्रतिको संवेदनशीलता, पर्यावरणीय चेतना र भूगोलको जीवन्त अनुभूति मिसिएको छ। वन, नदी, पहाड र मरुभूमि यहाँ निर्जीव पृष्ठभूमि होइनन्; ती पात्रहरूसँगै दुःख भोग्ने मौन सहयात्री हुन्। साहित्य र विज्ञानको यस्तो सन्तुलित समागम नेपाली आख्यानमा विरलै देख्न पाइन्छ।
भाषिक दृष्टिले ‘डङ्की’को अर्को विशेषता यसको सहजता हो। भाषा अनावश्यक अलङ्कारले बोझिलो बनेको छैन, तर त्यसभित्र दृश्य सिर्जना गर्ने अद्भुत क्षमता छ। लेखकले पाठकलाई घटनाको सूचनासँगै दृश्य देखाउँछन्, वातावरण सुनाउँछन् र पीडा महसुस गराउँछन्। यही कारणले उपन्यास पढ्दा शब्दभन्दा दृश्य स्मृतिमा बस्छन्। आख्यानकार धरावासीकै शब्दमा यो कृति पढ्न थालेपछि छाड्न नमिल्ने, पढुँला भन्दै महिनौँ थन्क्याउन नसकिने खालको छ।
यद्यपि, ‘डङ्की’का केही सीमाहरू पनि छन्। कतिपय प्रसङ्गमा स्थान, मार्ग र प्रक्रियाको विवरण यति विस्तृत भएको छ कि आख्यानको गतिशीलता केही क्षणका लागि सुस्ताएको अनुभूति हुन्छ। केही पात्रहरू प्रभावशाली भएर उदाउँछन्, तर तिनको मनोवैज्ञानिक विकास अपेक्षाकृत छोटो रहन्छ। विशेषतः अमेरिका पुगेपछिको अस्तित्वगत द्वन्द्व, सांस्कृतिक सङ्घर्ष र सपनाको वास्तविक मूल्याङ्कनमा लेखकले अझ गहिरो प्रवेश गर्नसक्ने सम्भावना थियो।
‘डङ्की : सपनाको कालबाटो’ अमेरिका पुग्ने कथा होइन; अमेरिका पुग्नुअघि मानिसले गुमाउने कुराहरूको कथा हो।
तर, यी सीमाहरू कृतिको समग्र मूल्यका अगाडि गौण देखिन्छन्। किनभने ‘डङ्की’को मूल उपलब्धि यसको कथानक होइन; यसको वैचारिक प्रस्थानबिन्दु हो। यसले नेपाली समाजमा गहिरिँदै गएको प्रवासन–मनोविज्ञानलाई प्रश्न गर्छ। यसले अमेरिका पुग्ने आकाङ्क्षालाई न त अपराध ठहर गर्छ, न मुक्तिको अन्तिम द्वार मान्छ। बरु यसले सोध्छ– किन एउटा युवालाई आफ्नो जन्मभूमिभन्दा हजारौँ किलोमिटर टाढाको अनिश्चित मृत्युमार्ग बढी विश्वसनीय लाग्छ? यही प्रश्नमा उपन्यासको राजनीतिक, सामाजिक र नैतिक चेतना निहित छ।
‘डङ्की’को अर्को उल्लेखनीय पक्ष यसको मानवीय करुणा हो। यसमा कुनै पात्र नायक भएर चम्कँदैन; सबै पात्रहरू आ–आफ्नो नियतिसँग सङ्घर्षरत साधारण मानिस हुन्। उनीहरूका आँसु निजी छन्, तर तिनको पीडा सामूहिक छ। यही सामूहिक पीडाले उपन्यासलाई एउटा व्यक्तिको यात्राबाट एउटा पुस्ताको इतिहासमा रूपान्तरित गरेको छ। यस अर्थमा ‘डङ्की’ नेपाली युवाको अदृश्य डायरी हो– जहाँ प्रत्येक पृष्ठमा सपना पनि छ, सन्त्रास पनि; आशा पनि छ, अभाव पनि।
अन्ततः, ‘डङ्की : सपनाको कालबाटो’ अमेरिका पुग्ने कथा होइन; अमेरिका पुग्नुअघि मानिसले गुमाउने कुराहरूको कथा हो। यो सीमाना पार गर्ने यात्राभन्दा बढी आत्माको परीक्षा हो। यसले पाठकलाई अमेरिका देखाउँदैन; उसले आफ्नै समाज, आफ्नै राज्य र आफ्नै समयको असफलता देखाउँछ। राम्रो साहित्यले उत्तरभन्दा प्रश्न धेरै छोडेर जान्छ। ‘डङ्की’को सबैभन्दा ठूलो सफलता पनि यही हो– यसले पाठकलाई पुस्तक बन्द गरेपछि पनि बेचैन बनाइरहन्छ।
यसैले ‘डङ्की’ समकालीन नेपाली साहित्यमा आप्रवासनको विमर्शलाई नयाँ उचाइ दिने, अनुसन्धान, अनुभूति र कलात्मकताको त्रिवेणीमा निर्मित, समयसँग दीर्घ संवाद गर्न सक्ने सशक्त आख्यानका रूपमा स्मरणीय रहने विश्वास गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण