घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
सारांश
- १४ वर्षको उमेरमा आमाबुवा गुमाएका अरशद वारसीले घर-घर लिपस्टिक बेचेर र सानातिना काम गरेर गुजारा चलाए।
- बाल्यकालमा आर्थिक सङ्कट र व्यक्तिगत पीडा भोगेका अरशदले नृत्यमा करियर बनाउँदै बलिउडमा प्रवेश गरे।
- ‘मुन्नाभाइ एमबीबीएस’को ‘सर्किट’ भूमिकाले करोडौँको मन जितेपछि अरशद वारसी एक बहुमुखी कलाकारको रूपमा चिनिए।
१४ वर्षको उमेरमा अरशद वारसीले यस्तो पीडा भोगे, जसले उनलाई समयभन्दा अगावै परिपक्व बनाइदियो। डाक्टरको सल्लाहमा उनले आमालाई पानी दिएनन् तर केही घण्टापछि आमाको निधन भयो।
यो कुराको पछुतो उनलाई आज पनि छ। आमाबुवाको निधनपछि घरको जिम्मेवारी उनको काँधमा आयो र उनले स्कुल छाड्नुपर्यो। उनले बसहरूमा र घर-घर गएर लिपस्टिक बेचे, फोटो ल्याबमा काम गरे र सानातिना काम गरेर गुजारा चलाए।
परिस्थिति यति गाह्रो थियो, कैयौँ पटक भविष्य अन्धकार देखिन्थ्यो। तर यही सङ्घर्षले उनलाई यस्तो कलाकार बनायो, जसले ‘मुन्नाभाइ एमबीबीएस’ को ‘सर्किट’ बनेर करोडौँ मानिसको मन जिते। उनलाई आफैँलाई पनि यो पात्र यति धेरै सफल होला भन्ने आस थिएन।
- बाल्यकालमा खुसीको जीवन, अनि सबै कुरा बदलियो
सन् १९६८ अप्रिल १९ मा मुम्बईमा जन्मिएका अरशद वारसीको सुरुवाती बाल्यकाल आर्थिक रूपमा राम्रो थियो। उनका बुवा अहमद अली खान वारसी सायर र गायक थिए। परिवारको जीवन सहज थियो, तर समयसँगै परिस्थिति बिग्रन थाल्यो।
कानुनी विवाद र आर्थिक नोक्सानका कारण परिवारको सम्पत्ति गुम्यो। ठूलो घर छाडेर उनीहरू सानो घरमा बस्नुपर्ने अवस्था आयो।
अरशदको जीवनमा सबैभन्दा ठूलो धक्का त्यतिबेला लाग्यो, जतिबेला उनले सानै उमेरमा आफ्ना आमाबुवा गुमाए। राज समानीको पोडकास्टमा उनले आफू मात्र १४ वर्षको हुँदा आमाबुवाको साथ गुमेको बताएका थिए। यो घटनाले उनलाई उमेरभन्दा पहिल्यै जिम्मेवार बनायो।
अरशदले भनेका थिए, ‘म आफ्नो उमेरको हिसाबले निकै परिपक्व भइसकेको थिएँ। बुवाको निधनपछि परिस्थिति लगातार बिग्रँदै गयो। आमाको निधनपछि म तुरुन्तै रुन पनि सकिनँ। अब सबै कुरा मैले नै सम्हाल्नुपर्छ भन्ने मलाई लाग्यो। कैयौँ हप्तापछि मात्र म धेरै रोएँ।’

- आमाको अन्तिम सम्झना आज पनि भुलेका छैनन्
अरशदका अनुसार उनकी आमा साधारण गृहिणी थिइन् र निकै मीठो खाना पकाउँथिन्। उनलाई मिर्गौलाको रोग लागेको थियो। त्यसैले नियमित डायलाइसिस गराउनुपर्थ्यो।
उपचारका क्रममा डाक्टरहरूले उनलाई पानी नदिन कडा निर्देशन दिएका थिए। तर उनकी आमा बारम्बार पानी माग्थिन् र अरशदले डाक्टरको सल्लाह मान्दै हरेक पटक नाइँ भन्थे।
उनले निधन हुनुभन्दा ठीक अघिल्लो रात आमाले आफूलाई बोलाएर पानी मागेको, तर आफूले नदिएको बताए। त्यही रात उनकी आमाको निधन भयो। अरशदका अनुसार यो घटनाले उनलाई आज पनि भित्रैदेखि झस्काउँछ।
त्यतिबेला उनलाई आफूले आमालाई पानी पिलाएको भए र त्यसपछि निधन भएको भए, जीवनभर आफैँलाई दोषी मान्थेँ जस्तो लाग्थ्यो। तर अहिले भने आमाको अन्तिम इच्छा पूरा गरिदिनुपर्थ्यो जस्तो उनलाई लाग्छ। धेरै पटक परिवारका सदस्यले बिरामीको इच्छाभन्दा पनि आफ्नो अपराधबोधका आधारमा निर्णय लिन्छन् भन्ने उनको बुझाइ छ।
- आर्थिक अभावका कारण पढाइ छाड्नुपर्यो
आमाबुवाको निधनपछि घर चलाउने जिम्मेवारी अरशदको काँधमा आयो। आर्थिक सङ्कट यति गहिरो थियो, उनले कक्षा १० पछि पढाइ छाड्नुपर्यो। गुजारा चलाउन उनले धेरै सानातिना काम गरे। उनले कस्मेटिक्स कम्पनीमा घर-घर पुगेर सामान बेच्ने सेल्सम्यानको रूपमा काम गरे। विभिन्न समाचारअनुसार उनी मुम्बईका बसहरूमा लिपस्टिक र कस्मेटिक सामान पनि बेच्थे।
अरशद वारसी भन्छन्, ‘म घर-घर गएर लिपस्टिक बेच्थेँ। धेरै मानिस ढोका बन्द गरिदिन्थे। तर त्यही समयले मलाई मानिसहरूसँग कुरा गर्न र जीवनको सामना गर्न सिकायो।’ उनले त्यसबेला हप्ताभरि मिहिनेत गरेर केही सय रुपैयाँ मात्र कमाउन सकेको, जबकि आमाको उपचारमा हरेक हप्ता करिब ८०० रुपैयाँ खर्च हुने गरेको बताए।
उनले भने, ‘म बिदाको दिन साङ्गीतिक कार्यक्रम गर्थेँ, जसको १७५ रुपैयाँ पाइन्थ्यो। जीवनमा आर्थिक रूपमा बलियो हुन कति जरुरी छ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ।’

- डान्सले बदल्यो जीवन
सङ्घर्षको बीचमा पनि अरशदको डान्सको सोख कहिल्यै हटेन। उनलाई बाल्यकालदेखि नै नृत्यमा रुचि थियो। बिस्तारै उनले डान्सलाई नै करियर बनाउने निर्णय गरे। डान्सप्रतिको लगावमै उनको जीवन बदलियो। उनी अकबर सामीको डान्स ग्रुपमा जोडिए।
सन् १९९१ मा उनले ‘अल इन्डिया डान्स’ प्रतियोगिता जिते र १९९२ मा लन्डनमा आयोजित ‘वर्ल्ड डान्स च्याम्पियनसिप’ को मोडर्न ज्याज विधामा चौथो स्थान हासिल गरे। त्यसपछि उनले डान्स स्टुडियो सुरु गरे र चलचित्रहरूमा कोरियोग्राफी गर्न थाले।
उनले ‘रूप की रानी चोरों का राजा’ को टाइटल ट्र्याकबाहेक ‘ठिकाना’ र ‘काश’ जस्ता चलचित्रमा पनि कोरियोग्राफी गरे। यहाँबाट उनको जीवनले नयाँ मोड लियो।
- जया बच्चनको नजर पर्यो, पहिलो अवसर पाए
कोरियोग्राफरको रूपमा काम गर्दा उनको भेट धेरै फिल्मी हस्तीहरूसँग भयो। यसै क्रममा जया बच्चनले उनको प्रतिभा देखेर अमिताभ बच्चन कर्पोरेसन लिमिटेड (एबीसीएल) को चलचित्र ‘तेरे मेरे सपने’ मा अभिनय गर्ने मौका दिइन्।
_qkqJrKiusr.jpg)
सन् १९९६ मा रिलिज भएको ‘तेरे मेरे सपने’ बाट अरशद वारसीले अभिनेताको रूपमा बलिउडमा कदम राखे। यो चलचित्र एबीसीएलको ब्यानरमा बनेको थियो भने निर्देशक जोय अगस्टिन थिए। यसअघि नै उनले कोरियोग्राफरका रूपमा पहिचान बनाइसकेका थिए।
उनको प्रवेश कुनै फिल्मी परिवारको कारण नभई प्रतिभाको बलमा भएको थियो। आफूमाथि विश्वास गर्ने अमिताभ बच्चन, जया बच्चन र जोय अगस्टिनप्रति आफू सधैँ आभारी रहने अरशदले बताएका थिए।
- पहिलो चलचित्रपछि सोचेजस्तो काम पाएनन्
‘तेरे मेरे सपने’ पछि अरशदलाई आफ्नो करियरको गति बढ्छ जस्तो लागेको थियो, तर त्यस्तो भएन। त्यसपछिका केही वर्षहरूमा उनले ‘हिरो हिन्दुस्तानी’, ‘होगी प्यार की जित’, ‘मुझे मेरी बिबी से बचाओ’, ‘जानी दुश्मन: एक अनोखी कहानी’ लगायतका चलचित्रमा काम गरे। तर अधिकांश चलचित्रले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेनन्। यस अवधिमा राम्रा भूमिका पनि कम पाए र उनलाई इन्डस्ट्रीमा आफूलाई फेरि प्रमाणित गर्नुपरेको महसुस भयो।
- ‘आउटसाइडर’ हुनुको मूल्य चुकाउनुपर्यो
द इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा अरशद वारसीले चलचित्र उद्योगमा बाहिरी कलाकारको सङ्घर्षको बारेमा कुरा गरेका थिए। उनले भनेका थिए, ‘इन्डस्ट्रीको एउटा वर्ग यस्तो छ, जसलाई हिट चलचित्र दिन धेरै मौकाहरू मिल्छ। तर जो फिल्मी परिवारबाट आउँदैनन्, उनीहरूका लागि एउटा फ्लपपछि फेरि सङ्घर्ष सुरु हुन्छ।’
समयसँगै आफूले यो यथार्थलाई स्विकारेको र गुनासो गर्नुको साटो आफ्नो काममा ध्यान केन्द्रित गर्ने बाटो रोजेको अरशदले बताए।
- ‘मुन्नाभाइ एमबीबीएस’ नै अन्तिम चलचित्र होला जस्तो लागेको थियो
सन् २००३ मा जब निर्देशक राजकुमार हिरानीले उनलाई ‘मुन्नाभाइ एमबीबीएस’ मा ‘सर्किट’ को भूमिका अफर गरे, तब अरशदलाई यो आफ्नो करियरको अन्तिम चलचित्र हुनसक्छ जस्तो लागेको थियो। सर्किटको भूमिका यति धेरै लोकप्रिय होला भन्ने उनलाई विश्वास थिएन।
अरशद वारसी भन्छन्, ‘मुन्नाभाइ एमबीबीएसपछि मेरो करियर सकिन्छ भन्ने मलाई पूरा विश्वास थियो। यो भूमिका धेरै सानो छ र यसले मलाई कुनै फाइदा हुँदैन भन्ने मलाई लागेको थियो।’ उनले त्यसबेला सञ्जय दत्त पनि चलचित्रको सफलतालाई लिएर पूर्ण रूपमा ढुक्क नरहेको खुलाए।
अरशद वारसी भन्छन्, ‘यदि तपाईं भूमिकालाई मात्र हेर्नुहुन्छ भने, त्यो धेरै ठुलो भूमिका थिएन। चलचित्र नचलेको भए त्यो भूमिकाको कुनै अर्थ रहँदैनथ्यो।’ उनले ‘सर्किट’ लाई ‘ईश्वरले दिएको भूमिका’ बताउँदै चलचित्र सुपरहिट हुनु र दर्शकले सर्किट र मुन्नाभाइको जोडीलाई हृदयदेखि नै रुचाउनु आफ्नो राम्रो भाग्य भएको बताए।

- सर्किटको नाम पहिले खुजली थियो
थोरैलाई मात्र थाहा छ, ‘मुन्नाभाइ एमबीबीएस’ मा सर्किटको भूमिका पहिले फरक थियो। त्यसको नाम ‘खुजली’ राखिएको थियो। अरशद वारसीले राजकुमार हिरानीलाई नाम परिवर्तन गर्ने सुझाव दिएका थिए। उनले पात्रको लुगा, हेयरस्टाइल र धेरै दृश्यहरूमा पनि आफ्नो सुझाव दिएका थिए। पछि गएर यही परिवर्तन ‘सर्किट’ को पहिचान बन्यो।
‘मुन्नाभाइ एमबीबीएस’ को सफलतापछि मानिसहरूले अरशद वारसीलाई उनको असली नामले भन्दा ‘सर्किट’ को नामले बढी चिन्न थाले। द इन्डियन एक्सप्रेससँगको कुराकानीमा उनले लद्दाखमा बाइक यात्राको क्रममा एक व्यक्तिले आफ्नो अनुहार अरशद वारसीजस्तै देखिने भन्दै उनको क्यारिकेचर (मिमिक्री) गरेर पैसा कमाउन सल्लाह दिएको रमाइलो किस्सा सुनाए। अरशदले त्यहाँ आफ्नो परिचय खुलाएनन् र त्यो घटनाको मज्जा लिए।
सन् २००६ मा आएको ‘लगे रहो मुन्नाभाइ’ ले सर्किटको भूमिकालाई अझ लोकप्रिय बनायो। यसपछि अरशद वारसी कमेडी अभिनेता मात्र रहेनन्, बहुमुखी कलाकारको रूपमा पहिचान बनाए। उनले ‘गोलमाल’ सिरिज, ‘धमाल’, ‘इश्किया’ र ‘जोली एलएलबी’ जस्ता चलचित्रबाट आफ्नो अभिनय क्षमता प्रमाणित गरे।
- ‘गोलमाल’ ले बनायो कमेडीको अनुहार
रोहित शेट्टीको ‘गोलमाल’ सिरिजमा अरशद वारसीले माधवको भूमिका निभाए। अजय देवगन, तुषार कपुर र श्रेयस तलपडे जस्ता कलाकारहरूको बिचमा पनि उनको कमिक टाइमिङले दर्शकको ध्यान खिच्यो। यसपछि ‘धमाल’, ‘डबल धमाल’ र ‘टोटल धमाल’ जस्ता चलचित्रले उनलाई हिन्दी सिनेमाका भरपर्दा कमेडी अभिनेताहरूको सूचीमा समावेश गरिदियो। यद्यपि, अरशद सधैँ आफू कमेडी अभिनेता मात्र बनेर रहन नचाहने बताइरहन्थे।
- ‘इश्किया’ र ‘जोली एलएलबी’ मा देखाए फरक रूप
विशाल भारद्वाजको ‘इश्किया’ मा ‘बब्बन’ र ‘जोली एलएलबी’ मा सङ्घर्षरत वकिल जगदीश (जोली) त्यागीको भूमिकाले अरशद हँसाउने अभिनेता मात्र होइनन् भन्ने कुरा प्रमाणित गरिदियो। यी चलचित्रमा उनको गम्भीर अभिनयलाई समीक्षकहरूले निकै रुचाए। पछि उनले आफूलाई धेरै तह भएका र अभिनेताको रूपमा केही नयाँ गर्ने मौका मिल्ने भूमिकाहरू मन पर्ने बताए।

सन् २०२० मा आएको वेब सिरिज ‘असुर’ अरशद वारसीको करियरको ठूलो मोड साबित भयो। यसमा उनले फरेन्सिक विशेषज्ञ धनञ्जय राजपुतको भूमिका निभाएका छन्। यो भूमिका उनका अघिल्ला कमिक भूमिकाहरूभन्दा विल्कुल फरक थियो।
यस सिरिजको बारेमा अरशदले भनेका थिए, ‘मैले दुई कारणले असुरमा काम गरेँ। पहिलो, यसको कथा निकै सानदार र अप्रत्याशित थियो। दोस्रो, यो कमिक भूमिका थिएन। यो एउटा गम्भीर, जटिल र धेरै पत्र भएको भूमिका थियो, जस्तो काम मलाई कमै मिल्छ।’
सिरिजको सफलतापछि दर्शकले उनलाई गम्भीर अभिनेताका रूपमा पनि स्विकारे। अरशद वारसी ओटीटी प्लेटफर्मले आफ्नो छवि बदल्न ठुलो भूमिका खेलेको मान्छन्। उनी भन्छन्, ‘मलाई खुसी छ, अब मानिसहरू मलाई हास्यकलाकार मात्र मान्दैनन्। मैले सधैँ फरक-फरक किसिमका भूमिका निभाउने प्रयास गरेँ र अहिले मानिसहरूले त्यसलाई चिनिरहेका छन्।’
हालै अरशद वारसीको वेब सिरिज ‘प्रितम एन्ड पेड्रो’ जियो हटस्टारमा स्ट्रिम भएको छ। उनको चलचित्र ‘वेलकम टु द जङ्गल’ सिनेमाघरहरूमा भर्खरै रिलिज भएको छ। यसबाहेक उनी शाहरुख खानको चलचित्र ‘किङ’ र ‘गोलमाल ५’ मा पनि देखिनेछन्।
- तीन दशकपछि पनि लगातार सक्रिय
करिब तीन दशक लामो करियरमा अरशद वारसीले ५० भन्दा बढी चलचित्र र थुप्रै वेब सिरिजमा काम गरेका छन्। उनले कहिल्यै चलचित्रको सङ्ख्याको पछि लाग्नुभन्दा आफूलाई मन पर्ने स्क्रिप्टलाई प्राथमिकता दिए।
अरशद वारसीको व्यक्तिगत जीवन पनि सन्तुलित रहेको छ। उनले सन् १९९९ मा मारिया गोरेटीसँग विवाह गरे। उनीहरूको भेट डान्सका दिनहरूमा भएको थियो। सङ्घर्षका दिनदेखि सफलतासम्म मारियाले सधैँ आफ्नो साथ दिएको कुरा अरशदले धेरै अवसरमा बताइसकेका छन्। उनी लाइमलाइटबाट टाढा रहेर परिवारसँग समय बिताउन रुचाउँछन् र निजी जीवनलाई मिडियाको चर्चाबाट टाढै राख्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण