शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
मुग्लिन–पोखरा सडक

पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?

शनिबार, २७ असार २०८३, १६ : ३५
शनिबार, २७ असार २०८३

काठमाडौँ । मुग्लिन–पोखरा सडकअन्तर्गत मुग्लिन–आबु खैरेनी खण्ड सडक विस्तारको काम बढाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ बाट विस्तार कार्य अघि बढाउने गरी तयारी भइरहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यसको पूर्वी खण्डलाई १ अर्ब ५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ भने समग्र योजनाका लागि कुल ३ अर्ब १ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । यस बजेट विनियोजनले लामो समयदेखि प्रक्रियागत र मुआब्जा विवादका कारण सुस्त रहेको यस खण्डको भौतिक निर्माण कार्यलाई गति दिने अपेक्षा गरिएको छ । 

एसियाली विकास बैंक (एडीबी) को लगानीमा सञ्चालित मुग्लिन–पोखरा सडक आयोजनाको मुग्लिन–आँबुखैरेनी खण्डमा मुआब्जा विवाद छ । स्थानीयस्तरमा यो विवाद नसल्झिँन हालसम्म यस खण्डमा भौतिक निर्माणको कुनै पनि काम सुरु हुन सकेको छैन ।

पूर्वी खण्डमा सडकको काम सकियो, मादी पुल अन्तिम चरणमा

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर छ । यसमध्ये ३२ किलोमिटर सडक विस्तारको कार्य सम्पन्न भइसकेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यस सडक खण्डमा पर्ने अन्य सहायक सडक निर्माण र आवश्यक पूर्वाधारका कामहरू भने लगभग सकिएका छन् । हाल अन्तिम चरणमा रहेको सडकको ‘रोड मार्किङ’ को काम पनि लगभग अन्तिम अवस्थामा छ । ठेक्का सम्झौता सकिएसँगै यस खण्डका धेरैजो काम सकिएका छन् । 

तर, पूर्वी खण्डकै मुख्य संरचनाको रूपमा रहेको दमौलीस्थित मादी नदीको पुल निर्माणको भौतिक प्रगति भने जम्मा ८६ प्रतिशत मात्र छ । यही असार १९ गतेसम्म समयसीमा रहेको यो पुल निर्माण पक्षले तोकिएको समयमा काम नसकिएपछि थप ३०३ दिनको म्याद थप माग गर्दै आयोजनालाई पत्राचार गरेको थियो । पूर्वी खण्डको निर्माण कार्य ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन’ लाई ठेक्का दिइएको थियो । सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र अन्य स्थानहरूमा २५–२५ मिटर चौडा सडक विस्तार गरिएको छ । 

पश्चिम खण्डमा म्याद थपको तयारी

यसैगरी मुग्लिन पोखरा सडकको पश्चिम खण्ड (जामुने–सेतीपुल) को भौतिक प्रगति भने हालसम्म ८२ प्रतिशत पुगेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार चार लेन सडक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेको छ । कुल ३६ किलोमिटर लम्बाई रहेको यस खण्डमा अब १० किलोमिटर सर्भिस लेन र सडक सुरक्षाका कामहरू मात्र बाँकी छन् । 

यो सडक खण्ड यही असार १५ गतेसम्मको म्याद रहेको तर  निर्माण सम्पन्न हुन नसकेपछि म्याद थपको तयारी भइरहेको छ । आयोजना प्रमुख कुँवरले भने, ‘पेट्रोलको मूल्यवृद्धि र बिटुमिन अभावको असर नपरे पनि चैत वैशाखमा पानी परेर काम प्रभावित भयो । अहिले म्याद थपको तयारी भइरहेको छ ।’ 

२०७८ देखि सुरु भएको यो पश्चिम खण्डको काम चिनियाँ कम्पनी ‘यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’ सँग ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले वर्षात्का कारण ७५ दिन काम हुन नसकेको दाबी गर्दै ६ महिना म्याद थपको माग गरेको छ । तर, आयोजना कार्यालयले भने २ देखि ४ महिनासम्म मात्र म्याद थप्ने विषयमा आवश्यक छलफल गरिरहेको छ । 

आयोजना प्रमुख कुँवरले भने ‘निर्माण व्यवसायीले ६ महिना म्याद थप गर्न माग गरेका छन्, तर उनीहरुले मागेजति म्याद थप्न सकिँदैन । कति म्याद थप्दा ठिक हुन्छ त्यहीअनुसार छलफल गरेर म्याद थप्ने तयारी भइरहेको छ । करिब ३–४ महिना थप्नु पर्ने देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप