आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा

आइतबार, २८ असार २०८३, ०८ : २१
आइतबार, २८ असार २०८३

काठमाडौँ । आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘कमला मिस’ । फिल्मले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु भएको जनाएको हो । सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य समेटिएको छ । जसले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्ष झल्काउँछ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी चलचित्रमा छ । ‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप