सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन

सोमबार, २९ असार २०८३, ०७ : ५२
सोमबार, २९ असार २०८३

सारांश

  • फिफाले हालको ४८ टोलीबाट बढाएर ६४ टोली पुऱ्याउने सम्भावनाबारे अध्ययन गर्ने भएको छ।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार विश्वकप आयोजना गर्दा सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ र हरेक राष्ट्रले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्छ।
  • सन् २०३० को विश्वकप इतिहासमै पहिलो पटक धेरै महादेशमा आयोजना हुनेछ र यसलाई ६४ टोलीमा विस्तार गरिएमा दक्षिण अमेरिकाका तीन राष्ट्रले समूहका सम्पूर्ण खेल आयोजना गर्न सक्नेछन्।

न्युयोर् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को फिफा विश्वकपमा थप १६ टोली सहभागी गराएर प्रतियोगितालाई ६४ टोलीको बनाउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने बताएका छन्। 

स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले हालको ४८ टोलीबाट बढाएर ६४ टोली पुऱ्याउने प्रस्ताव अर्थपूर्ण हुन सक्ने बताएका हुन्। उनले भने, ‘यो विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अवश्य पनि यस विषयमा अध्ययन र छलफल हुनेछ।’

इन्फान्टिनोका अनुसार विश्वकप आयोजना गर्दा केवल युरोप र दक्षिण अमेरिकालाई मात्र होइन, सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। उनले थपे, ‘विश्वकप आयोजना गर्दा यसलाई सम्पूर्ण विश्वका लागि आयोजना गर्नु महत्त्वपूर्ण हुन्छ। हरेक राष्ट्रले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्छ। अहिले विश्वभरका टोलीहरूको स्तर अत्यन्त उच्च भएको छ र निरन्तर सुधार भइरहेको छ। यदि साना राष्ट्रहरूलाई विश्वकपमा सहभागी हुने अवसर नै दिइएन भने उनीहरूमा अझ राम्रो बन्ने प्रेरणा पनि हराउन सक्छ।’

सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए। अहिले जारी २०२६ को संस्करण भने पहिलो पटक ४८ टोलीसहित आयोजना गरिएको हो। हाल यस प्रतियोगितामा अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेन गरी चार टोली मात्र बाँकी छन्। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजना भइरहेको १०४ खेलको यो प्रतियोगितामा अब दुई सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल मात्र हुन बाँकी छ।

इन्फान्टिनोले ४८ टोलीको यो विश्वकपलाई ‘विशाल सफलता’ को संज्ञा दिएका छन्। उनले भने, ‘हरेक टोलीले उच्च स्तरको प्रदर्शन गर्‍यो। सबै महादेशका टोलीहरूले गोल गरे र कम्तीमा एक अङ्क जिते। अफ्रिकाका १० मध्ये ९ टोली नकआउट चरणमा पुगे।’ अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल पाँच टोली मात्र सहभागी भएको स्मरण गराउँदै उनले यसले सबै टोलीलाई अवसर दिनु कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट देखाउने बताए।

सन् २०३० को विश्वकप इतिहासमै पहिलो पटक धेरै महादेशमा आयोजना हुनेछ। प्रतियोगिताका पहिलो तीन खेल क्रमशः उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने तय गरिएको छ। त्यसपछिका बाँकी खेलहरू मोरक्को, पोर्चुगल र स्पेनमा आयोजना गरिनेछन्। यदि यो प्रतियोगितालाई ६४ टोलीमा विस्तार गरियो भने दक्षिण अमेरिकाका ती तीनै राष्ट्रले एउटा–एउटा खेल मात्र होइन, चार टोली सम्मिलित एक–एक समूहको सम्पूर्ण खेल नै आयोजना गर्न सक्ने सम्भावना रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप