यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
सारांश
- यस वर्षको असार २६ गतेसम्म देशभर कुल धान रोपाइँ योग्य जमिनको ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।
- गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको कृषि विभागको तथ्याङ्कले देखाएको छ।
- यस वर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी ६५.९ प्रतिशत रोपाइँ भएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम ३१.५ प्रतिशत रोपाइँ भएको छ।
काठमाडौँ । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ योग्य जमिनको ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।
कृषि विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरण अनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो। गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्याङ्कले देखाएको छ।
कृषि विभागका अनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ। प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ।
गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। त्यहाँ कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा रोपाइँ भएको विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत अर्थात् १ लाख ७९ हजार ६३१ हेक्टर र सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। सुदूरपश्चिमको तथ्याङ्क भने असार १९ गतेसम्मको मात्रै समावेश गरिएको विभागले जनाएको छ।
यसैगरी बागमती प्रदेशमा ५७.१ प्रतिशत अर्थात् ६५ हजार ४४६ हेक्टर रोपाइँ सकिएको छ भने कर्णाली प्रदेशमा ४०.५ प्रतिशत अर्थात् १७ हजार ५४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ। मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२.८ प्रतिशत अर्थात् १ लाख २६ हजार ४३९ हेक्टरमा मात्र रोपाइँ भएको छ।
यस्तै कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ।
कृषि विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष सबैजसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ। गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत रोपाइँ भइसकेकोमा यस वर्ष ५७.९ प्रतिशत मात्र भएको छ। त्यस्तै कर्णालीमा गत वर्ष ८३.२३ प्रतिशत रोपाइँ भएकोमा यसपालि ४०.५ प्रतिशत मात्रै सकिएको छ। बागमतीमा पनि गत वर्ष ७६.३१ प्रतिशत रोपाइँ भएकोमा यसपालि ५७.१ प्रतिशत मात्रै भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द
-
१५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
-
सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण