बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

बुधबार, ३१ असार २०८३, १३ : ३७
बुधबार, ३१ असार २०८३

सारांश

  • कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्रा.डा. सुनिलकुमार जोशी उपकुलपति र डा. भीमबहादुर चन्द रजिष्ट्रारमा नियुक्त भएका छन् ।
  • सिफारिस समितिका संयोजक प्रा.डा. जयराज अवस्थीले सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल मार्फत सभामा योग्यताक्रम सहितको प्रतिवेदन पेश गरेका थिए ।
  • नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ ।

काठमाडौँ। कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा.भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सिफारिस समितिका संयोजक प्रा.डा.जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रम सहितको प्रतिवेदन सभामा पेस गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिएका हुन् । 

मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न भएको बताए । उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे । 

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति रहेका थिए ।

को हुन् नवनियुक्त उपकुलपति र रजिष्ट्रार 

उपकुलपति प्रा.डा.सुनिलकुमार जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आएका छन् । यसअघि उनी सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रूपमा समेत काम गरेका थिए ।

जोशीले अक्सफोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रूपमा पनि काम गरेका छन् । काठमाडौँ चाबहिलका स्थानीय बासिन्दा जोशीले एमडी, एमफिल, पिएचडी, पिजिडिडि, एफआरएसपिएच लगायतका शैक्षिक उपाधि हासिल गरेका छन् । चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरूमा उनको सक्रिय संलग्नता रहेको थियो । 

त्यसैगरी, नवनियुक्त रजिष्ट्रार डा.भिमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील रहेका छन् । उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन् । यसअघि उनी सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

बैतडीको पाटन नगरपालिका १ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रूपमा समेत योगदान दिइसकेका छन् । स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण तथा संस्थागत विकासमा उनको लामो अनुभव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप