चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह चार दिन संसद् बैठकमा सहभागी हुँदा तीन पटक विवादमा तानिएका छन् ।
- नीति तथा कार्यक्रम वाचनका क्रममा बिचमै बाहिरिएको र अनौपचारिक पहिरन लगाएको विषयमा उनी विवादित बने ।
- सरकारको नीति तथा कार्यक्रममा भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि उनी पुनः विवादमा परे ।
काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो अधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह जम्मा ४ दिन बैठकमा सहभागी भए । तीमध्ये ३ बैठकमा उपस्थित हुँदा उनी विवादमा तानिएका छन् ।
संघीय संसद्को गत वैशाख २८ गतेबाट सुरु भएको बजेट अधिवेशन अझै जारी छ । जारी अधिवेशनमा प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने दिन वैशाख २८ गते, अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्ने दिन जेठ १५ गते, जेठ १७ गते र असार २९ गते संसद्मा उपस्थित भए ।
उपस्थित भएका दिनमध्ये प्रधानमन्त्री सरकारको बजेट सार्वजनिक गर्ने दिनबाहेक बैठकमा विवादमा तानिएका हुन् ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेलामा बिचमै बाहिरिएको र औपचारिक पोसाक नलगाएको विषमा प्रधानमन्त्री शाह विवादित भए ।
संसद्मा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब ५० मिनेटपछि बैठकबाट बाहिरिएका थिए । नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई बिदाइ गर्न पनि उनी बैठक हलमा गएनन् । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधिसभामा टेबुल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही नबोलेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले अर्को दिन सरकारको धारणा माग गरेको थियो ।
उनी बिचमै संसद्को बैठक छोडेर हिँड्दा संसद् र राष्ट्रपतिको मात्रै होइन, सरकारकै सबैभन्दा ठुलो नीतिगत दस्ताबेज ‘नीति तथा कार्यक्रम’कै अपमान भएको भन्दै आलोचना भएको थियो ।
त्यो बाहेक उनले त्यो दिन लगाएको पहिरनबारे पनि सदनमा कुरा उठेको थियो । टिसर्टमाथि कोट र ‘जुत्ता’ लगाएको विषय पनि विपक्षीले सदनमै उठाएको थिए ।
तर, प्रधानमन्त्री बिचमै बाहिरिएको विषयमा प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिनुपरेको उनले उल्लेख गरेका थिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ राजनीतिक सल्लाहकार शाहले लेखेका थिए । तर, शाहले उक्त स्ट्याटस समेत केही मिनेटमै हटाएका थिए ।
जेठ १५ गते बजेट प्रस्तुत गर्ने दिन उनी प्रतिनिधि सभा बैठकमा उपस्थित भए पनि त्यस्तो कुनै विवाद बाहिर आएन ।
तर, त्यसको २ दिनपछि जेठ १७ गते प्रधानमन्त्री अकस्मात् प्रतिनिधि सभा बैठकमा सहभागी भए । बैठकमा सहभागी भएर सामान्य सांसदजस्तै हात उठाएर बोल्ने समय मागेका प्रधानमन्त्री शाहले रोष्टममा पुगेपछि सांसदहरूलाई प्रश्न गर्न भनेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले एउटा पार्टीबाट एक जनालाई प्रश्न गर्न समय दिए ।
तर, त्यो प्रश्न गर्ने बेलामै प्रतिनिधि सभा नियमावलीको विधि र प्रक्रिया नमिलेको भन्दै विपक्षी दलले विरोध गरेका थिए । तै पनि प्रश्नोत्तर चल्यो ।
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको मात्रै भूमि मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको’ आशयको विवादित अभिव्यक्ति बताए । त्यो विषय राष्ट्रघाती भन्दै अहिले पनि विपक्षी दलहरूले प्रधानमन्त्री शाहले कि नेपालले भारतको भूमि कहाँ मिचेको छ भन्ने तथ्य प्रस्तुत गर्नुपर्ने होइन भने त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर संसद्को रोष्टममै पुगेर माफी माग्नुपर्ने बताइरहेका छन् ।
यही विषयलाई लिएर केही दिन संसद् बैठक बस्न नै अवरोध पुर्याएका विपक्षी दलहरूले अहिले यो विषय हटाउनु पर्ने विषयमा बैठक सुरु हुँदासाथ आफ्ना कुरा राखेर चल्न दिने गरिरहेका छन् ।
तर, प्रधानमन्त्रीले न त्यो अभिव्यक्ति सच्याएका छन् न त सभामुखले संसद्को रेकर्डबाट त्यो अभिव्यक्ति नै हटाएका छन् ।
चौथोपटक शाह असार २९ गते मंगलबारको बैठकमा सहभागी भए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री शाह दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिए । जतिबेला विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका थिए । तर उनी जवाफ नदिई बाहिरिए । यतिमात्रै होइन उनले प्रतिनिधि सभा नियमावली मिचेको भन्दै विरोध समेत भयो ।
विपक्षी दल एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति नै गरे । महरले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुखको आसन र बोलिरहेका सदस्यको बिचबाट हिँडेर संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाए ।
महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ को व्यवस्था स्मरण गराउँदै संसद्मा नियमापत्ति प्रकट गरे । उक्त नियममा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट कोही पनि हिँड्न नहुने व्यवस्था छ ।
‘माननीय खुस्बु ओली संसद्मा बोलिरहनुभएको समयमा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू उक्त नियमको उल्लङ्घन गर्दै सभामुख र बोलिरहेका सदस्यको बिचबाट हिँड्नुभयो,’ महरले भने, ‘यस्तो अभ्यासले संसदीय मर्यादामा आँच पु¥याउँछ ।’
यस सम्बन्धमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री शाह संसद्मा उपस्थिति भएमा केही न केही त समस्या निस्किहाल्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सांसद राईले मंगलबारको सदनमा प्रतिनिधि सभा नियमावली विपरीतको विषय उठाउँदै त्यस्तो उल्लेख गरेका हुन् ।
‘प्रतिनिधि सभा २०८० को नियमावलीमा के छ भने, कुनै पनि माननीय बोल्दै गर्दा अथवा सभामुख बोल्दै गर्दा अगाडिबाट हिँड्न नमिल्ने भन्ने छ । त्यो मर्यादाक्रम अथवा मानहानि हुन्छ भन्ने छ । आज हाम्रो माननीय खुश्बु ओलीज्यू बोल्दै हुनुहुन्थ्यो । उहाँको अगाडिबाट हिँडिहाल्नुभो— सभापतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यू,’ सांसद राईले भनेका छन्, ‘उहाँलाई संसद्मा उपस्थिति भयो कि केही न केही त समस्या क्रियट भइहाल्छ । के भएको हो यो कुन्नि । यसो नगर्दा राम्रो हुन्थ्यो । त्यसैले सदनप्रति जवाफदेही हुनुपर्छ भनेको हामीले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण