बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश

बुधबार, ३१ असार २०८३, १७ : ३९
बुधबार, ३१ असार २०८३

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'क्वालिटी' ब्रान्डको ब्याच नम्बर ३० को मुँगको दाल न्यून स्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
  • प्रयोगशाला परीक्षणमा उक्त दाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यून स्तरको पाइएको हो ।
  • विभागले उपभोक्ताहरूलाई उक्त ब्याच नम्बर उल्लेख भएको दाल खरिद तथा उपभोग नगर्न सचेत गराएको छ ।

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘क्वालिटी’ ब्रान्डको ब्याच नम्बर ३० उल्लेख भएको मुँगको दाल न्यून स्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनका क्रममा सङ्कलन गरिएको उक्त दालको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएपछि विभागले बिक्री–वितरणमा समेत रोक लगाएको हो ।

विभागले २०८३ असार ३१ गते एक सूचना जारी गर्दै कास्कीको पोखरास्थित ‘गृहिणी एग्रो प्रोडक्ट’ द्वारा उत्पादित उक्त ब्रान्डको दाल बजारबाट तत्काल फिर्ता लिन उत्पादकलाई निर्देशन दिएको छ ।

विभागका अनुसार प्रयोगशाला परीक्षणमा उक्त दाल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) को प्रावधान विपरीत न्यून स्तरको पाइएको हो । 

ऐनको दफा ३८ (२) बमोजिम विभागले उक्त ब्याच नम्बर ३० का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम यसको बिक्री वितरण नगर्न/नगराउन उत्पादक तथा विक्रेताहरूलाई आदेश दिएको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी गरिएको यस आदेशको अवज्ञा गरी बिक्री वितरण जारी राखेमा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ । 

साथै, विभागले उपभोक्ताहरूलाई उक्त ब्याच नम्बर उल्लेख भएको दाल खरिद तथा उपभोग नगर्न समेत सचेत गराएको छ ।

image (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप