चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
सारांश
- काठमाडौँमा चीनका चार प्रमुख सहरका समसामयिक चित्रकला र क्यालिग्राफी प्रदर्शनी सुरु भएको छ।
- प्रदर्शनीले चीनका बेइजिङ, टियानजिन, साङ्घाई र चोङकिङका कला, संस्कृति र रचनात्मक चेतनालाई समेटेको छ।
- यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र मित्रतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । काठमाडौँमा एक महिना लामो समसामयिक चिनियाँ चित्रकला तथा क्यालिग्राफी प्रदर्शनी बुधबारदेखि सुरु भएको छ।
‘लान्टिङ ग्यादरिङ: ओभरसिज एक्जिबिसन अफ कन्टेम्पोररी चाइनिज पेन्टिङ एन्ड क्यालिग्राफी फ्रम बेइजिङ, टियानजिन, साङ्घाई एन्ड चोङकिङ’ शीर्षक दिइएको यस कार्यक्रमको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तमछाली, चीनको त्सिङ्हुआ विश्वविद्यालयको वु ग्वानझोङ कला अनुसन्धान केन्द्रका क्युरेटर तथा अनुसन्धानकर्ता सु हाङ र नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका उपनिर्देशक लिउ झानपिङले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व कुलपति हार्तमछालीले मसीले मनलाई जोड्ने र कलाले मित्रता बढाउने बताए। यस्ता प्रदर्शनीहरू मित्रता, सह-अस्तित्व र सहकार्य प्रवर्द्धन गर्न सहयोगी हुने उनको भनाइ छ। सिर्जनात्मक प्रविधिमा विविधता भए पनि साझा विषयवस्तु र अवधारणाका कारण कलाको क्षेत्रमा नेपाल र चीनबिच निकटता रहेको हार्तमछालीले थपे। उनले ललितकलाको क्षेत्रमा दुई देशबिच अन्तरक्रियात्मक सहकार्यका लागि आह्वान गर्दै कला प्रदर्शनीका लागि थप मञ्चहरू खोज्न आग्रह गरे।
यसैगरी नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका उपनिर्देशक लिउ झानपिङले यस प्रदर्शनीले चीनका चार प्रमुख सहरहरू बेइजिङ, साङ्घाई, टियानजिन र चोङकिङको कला, संस्कृति र रचनात्मक चेतनालाई बोकेको बताए। प्रदर्शनीमा धेरै प्रसिद्ध कलाकारहरू, विषयवस्तुको विस्तृत दायरा र विविध शैलीहरू समावेश गरिएको उनले जानकारी दिए।
यसले परम्परागत ब्रसवर्कको भावनालाई समसामयिक संवेदनशीलतासँग जोडेको छ। जसले समसामयिक चिनियाँ क्यालिग्राफी र चित्रकलाको विविध एवं जीवन्त परिदृश्य प्रदर्शन गर्ने उपनिर्देशक लिउले बताए। नेपाल र चीन हिमाल र नदीहरूले जोडिएका नजिकका छिमेकी हुन् र यिनीहरूबिच पुस्तौँ पुरानो मित्रता छ। लिउले भने, ‘हाम्रा जनताबिच घनिष्ठ सांस्कृतिक सम्बन्ध छ।’ उनले थपे, ‘सांस्कृतिक र कलात्मक आदानप्रदान सधैँ आपसी समझदारी र मित्रतालाई गहिरो बनाउने एक महत्त्वपूर्ण बन्धन भएको छ।’
कार्यक्रममा बोल्दै चीनको त्सिङ्हुआ विश्वविद्यालयका क्युरेटर तथा अनुसन्धानकर्ता सु हाङले यी चार चिनियाँ सहरहरूले मिलेर समसामयिक चिनियाँ भावनाको सबैभन्दा जीवन्त रूप प्रतिनिधित्व गर्ने बताए। यिनीहरूमा परम्पराको गहिराइ र समयको व्यापकता दुवै हुनुका साथै स्थानीय जराप्रतिको दृढ प्रतिबद्धता र खुला एवं आलिङ्गन गर्ने भावना रहेको उनले उल्लेख गरे।
यी कलाकृतिहरू नेपालमा ल्याउनुको मुख्य उद्देश्य सबैभन्दा जीवन्त ब्रस र मसीको माध्यमबाट वास्तविक, विविध र निरन्तर विकास भइरहेको चीनलाई प्रस्तुत गर्नु रहेको उनको भनाइ छ। काठमाडौँमा यो प्रदर्शनी आयोजना गर्नु र यी चार सहरका ब्रस तथा मसीका फरक शैलीहरूलाई एउटै पर्खालमा संवाद गराउनु आफैँमा एक सांस्कृतिक सिम्फनी भएको उनले बताए। सु हाङले यसअघि न्युयोर्क, ओस्लो, बेइजिङ, हाङ्झोउ र विश्वका अन्य सहरहरूमा एकल कला प्रदर्शनी गरिसकेका छन्।

यस प्रदर्शनीले बेइजिङ, टियानजिन, साङ्घाई र चोङकिङका समसामयिक चिनियाँ चित्रकला र क्यालिग्राफीका कामहरूलाई एक ठाउँमा ल्याएर चिनियाँ कलात्मक परम्पराको समृद्धि र समसामयिक रचनात्मक अभिव्यक्तिलाई प्रदर्शन गरेको छ। यो प्रदर्शनीले नेपाली दर्शकहरूलाई परम्पराको समसामयिक व्याख्याको कदर गर्ने अवसर प्रदान गर्दछ।
यसका साथै दुई देशबिचको आपसी समझदारी र सांस्कृतिक संवादलाई बलियो बनाउँछ। शताब्दीयौँदेखि चिनियाँ चित्रकला र क्यालिग्राफीलाई चीनको सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिइँदै आइएको छ। यसले कलात्मक उत्कृष्टता, दार्शनिक विचार र सौन्दर्य मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। यो प्रदर्शनी नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, चाइना सेन्टर अफ इन्टरनेसनल कल्चरल एक्सचेन्ज एन्ड टुरिजम प्रमोसन र बेइजिङ चाइना मिलेनियम मोनुमेन्ट आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण