७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
सारांश
- रौतहटका उखु किसानलाई सात दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको छ।
- जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि उखु उत्पादक संघका प्रतिनिधिको सहभागितामा यो निर्णय गरिएको हो।
- प्रशासनले किसानको विवरण र कागजात संकलन गरी सात दिनभित्र भुक्तानी प्रक्रिया सुरु गर्नेछ।
रौतहट । लामो समयदेखि सरकारी अनुदान रकमको पर्खाइमा रहेका रौतहटका उखु किसानको समस्या समाधानतर्फ उन्मुख छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार भएको छलफलपछि सात दिनभित्र आवश्यक विवरण र कागजात उपलब्ध गराई अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति भएको हो। सहमतिसँगै उखु किसानले घोषणा गरेका सबै संघर्षका कार्यक्रम पनि स्थगित भएका छन्।
रौतहटका सिडियो दिनेश सागर भुसालको उपस्थिति तथा सहायक सिडिओ जितेन्द्रकुमार यादवको अध्यक्षतामा भएको बैठकमा उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवसहितका प्रतिनिधिको सहभागितामा उक्त निर्णय गरिएको हो।
निर्णयअनुसार उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराइनेछ। त्यसका लागि स्थानीय तह र सम्बन्धित निकायले सात दिनभित्र किसानको विवरण तथा आवश्यक कागजात पेश गर्ने र त्यसको रुजु गरी नियमानुसार भुक्तानी प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बैठकले किसानको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखाका कर्मचारीलाई सक्रिय रूपमा सहजीकरण गर्न निर्देशन दिएको छ। विवरण संकलनदेखि समस्या समाधानसम्म समन्वयात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ।
उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले अनुदान रकम सुरक्षित राख्ने जिम्मेवारी प्रशासनले लिएको र किसानले आवश्यक कागजात समयमै उपलब्ध गराउने सहमति भएको बताएका छन् भुक्तानी प्रक्रिया तत्काल सुरु गर्ने सहमतिपछि हालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिएका छन्।
सिडियो भुसालले उखुको प्रमाणीकरण चिनी उद्योग (मिल) ले गर्ने र किसानको प्रमाणीकरण स्थानीय तहबाट हुने व्यवस्था मिलाइएको बताएका छन्। आवश्यक कागजात पूरा भएपछि अनुदान भुक्तानी समितिलाई प्रक्रिया अघि बढाउन सहज हुने र एक साताभित्रै किसानको बैंक खातामा अनुदान रकम जम्मा हुने गरी काम अघि बढाइएको उनले स्पष्ट पारेका छन्।
यसअघि प्रशासनिक ढिलाइका कारण करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम फ्रिज भएको थियो। तर माथिल्लो निकायसँगको समन्वयपछि उक्त रकम पुनः उपलब्ध गराउने आश्वासन प्राप्त भएको सङ्घ ले जनाएको छ। सहायक सिडिओ यादवको कमजोरीको कारण किसानले समयमा अनुदान रकम नपाएको तथा ७ करोड रुपैयाँ फ्रिज हुने भएपछि किसानहरु आन्दोलित भएका थिए। बुधवार साँझ गरुडा झाँझ पुल छेउमा तयार बालेर आन्दोलन गर्दै गौर चन्द्रपुर मुख्य सडक ४ घन्टा अवरुद्ध गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण