शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
रिपोर्ट

बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती

बोडेको होल्डिङ सेन्टरमा पुगेका सुकुमबासी अझै ‘ढुक्क’ हुन सकेका छैनन्
शुक्रबार, ०१ साउन २०८३, ११ : ५४
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • थापाथली सुकुमबासी बस्तीमा डोजर चलेपछि कीर्तिपुरको होल्डिङ सेन्टरमा सारिएका सुकुमबासी बाढीले डुबेपछि भक्तपुरको बोडेमा आश्रय लिएका छन्।
  • बोडेमा आश्रय लिइरहेका सुकुमबासीहरू अस्थायी र असुरक्षित आवास, बालबालिकाको पढाइमा अवरोध, स्वास्थ्य समस्या र मानसिक तनावबाट गुज्रिरहेका छन्।
  • सुकुमबासीहरूले पैसाको सट्टा आत्मसम्मानसहित बाँच्न पाउने स्थायी आवास र भू-स्वामित्वको माग गरेका छन्।

काठमाडौँ । थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलेपछि सुकुमबासीहरूलाई आपतकालीन अवस्थामा कीर्तिपुरको होल्डिङ सेन्टरमा राखियो । उनीहरूलाई त्यहाँ पनि सुख मिलेन । असार १९ मा होल्डिङ सेन्टर छाडेर जाने सूचना जारी भएपछि उनीहरूमा डर, अन्योल र छट्पटी थियो । त्यसमाथि बस्तीमा बाढी पसेपछि अर्को विपत आइलाग्यो ।

असार २७ गते भीषण वर्षा र बाढीले कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबायो । यहाँ आश्रय लिइरहेका सुकुमबासीले लुगाफाटो, बिछ्यौना र अन्य सामान जोगाउन सकेनन् । सुकुमबासी बस्तीमा डोजर चल्दा मुस्किलले जोगाएका सामानहरू बाढीले डुबाइदियो । ज्यान जोगाउन लुगाफाटो समेत छोडेर भागेका २३ सुकुमबासी परिवार यतिबेला भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा ओत लागिरहेका छन् ।

तर, यो ‘ओत’ पनि नाममात्रको र अस्थायी खालको छ । एउटै कोठामा दुई–तीन वटा परिवार खाँदिएर बस्नुपर्ने बाध्यता छँदैछ, भविष्यप्रति पनि अनिश्चितता छाएको छ । ‘हामीलाई बिरालोले मुसालाई खेलाएजस्तै खेलौना बनाइयो,’ विस्थापितमध्येकी एक कमला उरावले गहभरि आँसु पार्दै भनिन्, ‘कति दिन यसरी अरुको शरणमा बस्ने ? हाम्रो स्थायी ठेगाना खोइ ?’

बोडेमा आश्रय लिइरहेकामध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । त्रिपुरेश्वरको विश्व निकेतन र सतुङ्गलका विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूका लागि बोडेबाट विद्यालय पुग्न टाढा र झन्झिटिलो छ । लगभग २० किलोमिटरको दुरी पार गरेर विद्यालय जानुपर्ने बाध्यताले कतिपय बालबालिकाको पढाइ नै अवरुद्ध हुने जोखिम बढेको छ । ‘आजबाट शिक्षा मन्त्रालयले एउटा गाडी त दिएको छ, तर सबै ठाउँमा पुग्न सम्भव छैन,’ एक अभिभावकले दुखेसो पोखे ।

बोडेमा आश्रय लिइरहेका २३ परिवारका करिब ७० जना सदस्यमध्ये धेरैजसो सुगर, ग्यास्ट्रिक र अन्य दीर्घ रोगबाट पीडित छन् । कसैको खुट्टाको अप्रेसन गर्नुपर्ने छ भने कसैको पित्तथैली निकाल्नुपर्ने अवस्था छ । स्वास्थ्यकर्मीहरू आएर सामान्य जाँच गरे पनि महँगो औषधि किन्ने पैसा उनीहरूसँग छैन ।

लामो समयदेखिको विस्थापन र अनिश्चितताले सुकुमबासी परिवारहरूमा गहिरो मानसिक असर परेको छ । आफ्ना छोराछोरी र परिवारका सदस्य टाढिएर अरूको घरमा शरण लिनु पर्दा अभिभावकहरू विक्षिप्त छन् । राति निद्रामा रुने, कराउने र बर्बराउने समस्या देखिन थालेको सुकुमबासीले सुनाए ।

‘आफ्नो परिवार र उठीबास भएको देख्दा कसको मन थामिन्छ र ?’ जवाहरलाल उराव भन्छन्, ‘किशोर–किशोरीहरू कतै बलात्कार वा दुर्व्यवहारको सिकार हुने हुन् कि भन्ने डरले हामीलाई सताइरहन्छ ।’

बुधबार भक्तपुरका सीडीओ र अर्थ मन्त्रालयका सल्लाहकार उत्तम निरौलाले बोडे पुगेर होल्डिङ सेन्टर निरीक्षण गरे । उनीहरूले सुकुमबासीको पीडा बुझेको आश्वासन दिए पनि विस्थापितहरूले यसलाई पत्याइसकेका छैनन् । सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने भनेकोमा तीन महिना बितिसक्दा पनि केही काम नभएको उनीहरूको आरोप छ ।

‘मन्त्रीहरू आउँछन्, कापी–किताब बाँड्छन्, फोटो खिचाउँछन् र जान्छन् । तर हाम्रो समस्या ज्युँका त्युँ छ,’ दलमर्दन कामीले आक्रोश पोखे ।

विस्थापितहरूको मुख्य आक्रोश प्रधानमन्त्री बालेन शाहप्रति देखिन्छ । थापाथलीको बस्ती भत्काएपछि उचित व्यवस्थापन नगरेकोमा उनीहरू क्रुद्ध बनेका छन् । ‘बालेन शाह इन्जिनियर जस्तो मान्छे, उहाँले कुन ठाउँ गहिराइमा छ र कहाँ बाढी आउँछ भन्ने बुझ्नुपर्ने हो,’ जवाहरलालले भने, ‘कीर्तिपुरको त्यो गहिरो ठाउँमा हामीलाई लगेर राखियो जहाँ बाढीले हाम्रो सर्वस्व लुट्यो ।’

प्रधानमन्त्री शाहले फेसबुकमा ‘स्टाटस’ लेखेरमात्रै समस्या समाधान नहुने र जनताको पीडा बुझ्न धरातलमा आउनुपर्ने उनीहरूको माग छ ।

सरकारले अस्थायी राहत स्वरूप दिने भनेको २५ हजार वा ७० हजार रुपैयाँलाई यहाँ आश्रय लिइरहेका सुकुमबासीहरूले ठाडै अस्वीकार गरेका छन् । उनीहरूको माग पैसा होइन, बरु आत्मसम्मानसहित बाँच्न पाउने स्थायी आवास र भू–स्वामित्व हो । ‘राज्यले हामीलाई सडकमा फालेर १५–२० हजार दिएर टार्न खोज्दै छ । हामीलाई त्यो पैसाले के हुन्छ ? हामीलाई त एउटा सुरक्षित घर चाहियो, जहाँ हाम्रा छोराछोरी ढुक्कले निदाउन सकुन् ।’ दलमर्दनले भने ।

थापाथलीमा डोजर चलेपछि लखेटिएका र कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि फेरि विस्थापित बनेका यी सुकुमबासीहरूका लागि बोडेको आश्रयस्थलमा पनि ढुक्क छैनन् । यो केवल उनीहरूका लागि ‘होल्डिङ सेन्टर’ मात्रै हो, तर यो होल्डिङको बास पनि कहिलेसम्म हो ? उनीहरूमा अन्यौलता, डर र शंका मनको भित्री तहसम्मै फैलिएको छ । कतिखेर फेरि लखेटिनु पर्छ, सम्झिएर उनीहरूको मन आत्तिन्छ । आफूलाई केवल भोट बैंकका रूपमा प्रयोग नगर्न बोडेमा आश्रय लिइरहेका २३ परिवारले खबरदारी गरे ।

प्रधानमन्त्रीले कालो चश्मा लगाएर सुकुमबासीहरूको पीडालाई बेवास्ता गरिरहेको उनीहरूको आरोप छ । ‘नेपाली जनताले भोलिका दिनमा यसको हिसाब गर्नेछन्,’ जवाहरलालले आक्रोशित हुँदै भने, ‘भोलिका दिनमा सुकुमबासीहरूबाट उल्टै लखेटिनु पर्ला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप