शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
बैंकिङ ठगीको डरलाग्दो जालो

बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?

शुक्रबार, ०१ साउन २०८३, १२ : ३६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • रोजगारीको प्रलोभनमा बैंक खाता विवरण, नागरिकता, र शैक्षिक प्रमाणपत्र जस्ता व्यक्तिगत विवरणहरू अरूलाई दिँदा ठगीको आरोप लाग्न सक्ने खतरा हुन्छ ।
  • ठगहरूले युवायुवतीहरूको बैंक खाता प्रयोग गरी अनलाइन ठगी, क्रिप्टो व्यापार, वा जुवा जस्ता अवैध कारोबार गर्ने गरेको पाइएको छ ।
  • यस्ता ठगीबाट बच्नका लागि कसैलाई पनि आफ्नो बैंक खाता, मोबाइल बैंकिङ विवरण, वा ओटीपी नदिनुका साथै नचिनेका व्यक्ति वा संस्थामाथि विश्वास नगर्नु पर्दछ ।

रुकुमकी १९ वर्षीया रसिता (नाम परिवर्तन) को मोबाइल स्क्रिनमा एक दिन एउटा विज्ञापन झुल्कियो– ‘जब ट्रयाकरः घरमै बसीबसी मासिक १५ हजारदेखि २५ हजारसम्म कमाउने सुनौलो अवसर !’ कलेज पढ्दै गरेकी रसिताका लागि यो अफर सपना जस्तै थियो । घरको आर्थिक भार थोरै भए पनि हलुका हुने आशामा उनले विज्ञापनमा दिएको म्यासेन्जरमा सम्पर्क गरिन् ।

वार्तालाप निकै शिष्ट र व्यावसायिक थियो । सम्पर्कमा रहेका व्यक्तिले उनलाई सजिलै विश्वासमा पारे । काम सुरु गर्न भन्दै उनीहरूले समीक्षाको नागरिकता, शैक्षिक प्रमाणपत्र र बैंक खाताको विवरण अनलाइन अपलोड गर्न लगाए । यति मात्र होइन, ‘कम्पनीको नीति’ भन्दै उनीहरूले रसिताको एटीएम कार्ड एउटा गोप्य ठेगानामा कुरियर गर्न लगाए र मोबाइल बैंकिङको पासवर्ड समेत लिए ।

‘तपाईंको एकाउन्टमा विभिन्न ठाउँबाट पैसा आउँछ, त्यो हाम्रो व्यापारको पैसा हो । त्यो लिने र भुक्तानी दिने हामी मिलाउँछौँ ।’ ठगहरूले रसितालाई भनेका थिए, ‘तपाईँलाई मासिक तलब सिधै तपाईंको खातामा आउँछ । तलबको पैसा चाहिए चेकबाट निकाल्नु, अन्य कारोबार नचलाउनु र यो कामको बारेमा कसैलाई केही नभनेकै राम्रो ।’

सुरुका १–२ महिना रसिताको जीवन सोचेजस्तै चल्यो । बैक खातामा पैसा जम्मा हुने निक्लिने ट्रान्सफर हुने मोबाइलमा म्यासेज आउने भइरहेको थियो । खातामा महिना पुग्ने बित्तिकै ‘तलब’ पनि आयो । उनी खुसी थिइन् । 

तर यो त ठुलो समस्याको सुरुवात मात्र थियो ।

तेस्रो महिनाको सुरुमै रसिताको मोबाइलमा अपरिचित नम्बरहरूबाट फोन आउन थाल्यो । फोनमा रुँदै, कराउँदै गाली गर्दै भन्थे, ‘हाम्रो पैसा चाहियो, नत्र प्रहरीमा उजुर गर्छौ’ रसिता तिनछक परिन् । रसिताले थाहै नपाई ठगहरूले उनको बैंक खातालाई देशैभरिका मानिसहरूलाई अनलाइन ठगेर पैसा जम्मा गर्ने ‘म्युल अकाउन्ट’ बनाएका थिए ।

तनाव बढ्दै जाँदा एकदिन बैंकबाट एसएमएस आयो– ‘तपाईंको खाता रोक्का गरिएको छ ।’ लगत्तै प्रहरी कार्यालयबाट पनि फोन आयो । ‘तपाईंको खातामा ठुलो रकमको डिजिटल ठगीको पैसा जम्मा गरेको उजुरी परेको छ, तुरुन्तै सम्पर्क गर्नु होला । नभए प्रहरी घरमै लिन आउँछ ।’

रसिताको नौ–नाडी गले, गोडा थर्थर काँपे । उनले हतार–हतार आफूलाई ‘जागिर’ दिने व्यक्तिहरूलाई म्यासेन्जरमा सम्पर्क गर्न खोजिन् । तर, सबै ब्लक भइसकेका थिए । टेलिग्राम र ह्वाट्सएपका च्याटहरू डिलिट भइसकेका थिए । 

यति हुँदासम्म उनले तिनीहरुलाई कहिल्यै भेटेकी थिइनन् । न त उनीहरूको वास्तविक नाम र ठेगाना थाहा थियो । अपराध गर्नेहरू डिजिटल संसारको कुहिरोमा हराई सकेका थिए ।

रसिता खास अपराधी होईनन्, तर कानुनको नजरमा उनी दोषी देखिन्छिन् । किनभने उनकै बैंक खाताबाट कारोबार भएको छ । उनकै फोन नम्बर प्रयोग गरिएको छ । सानो जागिर वा भनौँ प्रलोभनमा परेर अपरिचित व्यक्तिलाई बैंकिङ विवरण सुम्पिँदा उनी बैंकिङ कसुर र ठगी मुद्दाको मुख्य ‘सस्पेक्ट’ बन्न पुगिन् ।’

‘घरमै बसेर मोबाइल वा ल्यापटपबाट सामान्य काम गरी दैनिक हजारौँ कमाउनु होस’, ‘घरमै बसेर मोबाइलबाटै दैनिक २–३ हजार कमाउनुहोस्’ जस्ता म्यासेज वा विज्ञापन हिजो–आज फेसबुक, टिकटक र टेलिग्राम जस्ता सामाजिक सञ्जालहरूमा जताततै देखिन्छन् ।

रोजगारको खोजी वा सहजै पैसा कमाउने चाहनाका कारण धेरै मानिस यस्ता विज्ञापनको जालमा फसिरहेका छन् । यस्तो आकर्षक अफरका पछाडि ठुलो वित्तीय अपराध लुकेको हुन्छ । वैंकिङ ठगहरु सर्वप्रथम सर्वसाधारणलाई आफ्नो प्रलोभनमा पार्छन्, ठुलो रकमको आश देखाउँछन् र उनीहरूको बैंक खाता लिएर त्यसैबाट कारोबार गर्छन् । 

अनि केही अप्ठेरो पर्दा वास्तविक अपराधीहरू सजिलै उम्कन्छन् भने सोझा मानिस बैंकिङ कसुरमा पर्छन् ।

माथि उल्लेखित रसिताको कथा त्यस्तै सत्य कथाहरु मध्येको एक हो । ठगी गर्नेहरुले सोझा र बेरोजगार युवा–युवतीहरूलाई कसरी निसाना बनाउँछन् भन्ने यो प्रतिनिधि घटना हो । यसका लागि उनीहरूले डाटा इन्ट्री गर्ने, भिडियो लाइक गर्ने, वा सामान अर्डर गर्ने जस्ता सजिला काम दिने बहाना गर्छन् । 

काम लगाउनु अघि ‘तपाईंको तलब पठाउन’ भन्दै बैंक खाताको नम्बर, मोबाइल बैंकिङ्ग आईडी, पासवर्ड, र ओटिपी माग्छन् । कतिपय बेलामा त ‘हाम्रो कम्पनीको धेरै कारोबार हुन्छ, तपाईंको खाता प्रयोग गर्न दिएबापत महिनाको निश्चित रकम दिन्छौँ’ भनी बैंक खाता नै खोल्न लगाई त्यसको प्रयोग उनीहरुले नै गर्छन् । 

कसरी दुरुपयोग हुन्छ त खाता ?

कुनै व्यक्तिको बैंक खात हात पार्ना साथ उनीहरु त्यसको एटीएम र मोबाइल बैंकिङ्ग पनि हात पार्छन् । त्यसपछि उनीहरु त्यस्ता खातालाई आफ्नै खाता जसरी प्रयोग गर्छन् । त्यसपछि नेपालमा गैरकानुनी मानिएको क्रिप्टो व्यापार वा अनलाइन जुवा लगायतबाट आएको पैसाको कारोबार गर्न त्यही खाता प्रयोग गर्छन् । 

अन्य व्यक्तिहरूलाई चिठ्ठा परेको वा सामान डेलिभरी गर्ने बहानामा ठगी गरिएको रकम समेत यस्ता खातामा जम्मा गर्न लगाइन्छ । आपराधिक क्रियाकलापबाट जम्मा गरिएको पैसा यस्तै–यस्तै व्यक्तिको खातामा घुमाएर वैध देखाउने प्रयास हुन्छ ।

यसबाट के असर पर्छ त ?

– बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार कारबाही हुन्छ ।

– मुलुकी अपराध संहिता, २०७४ (ठगी सम्बन्धी कसूर) अनुसार कारबाही हुन्छ ।

– सम्पत्ति शुद्धीकरण (मनी लौण्डरिङ) निवारण ऐन, २०६४ अनुसार कारबाही हुन्छ ।

– प्रहरी हिरासत र थुनछेक हुन्छ ।

– बयान र अदालती झमेलामा परिन्छ ।

– अनुसन्धानका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ ।

– कालो सूचीमा सूचिकृत भई समग्र करियरकै दुःखद अन्त्य हुन सक्छ ।

ठगी गर्ने व्यक्तिसँग आफ्नो कुनै साँठगाँठ, लेनदेन नभएको वा ठगी प्रक्रियामा आफू प्रत्यक्ष सहभागी नभए पनि ठगीका लागि आफ्नै बैंक खाता प्रयोग भएको हुनाले कानुनतः त्यसको जबाफदेहीता आफैले बेहोर्नुपर्ने हुन्छ । बैंकिङ कसुर, ठगी, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा खातावाला विरुद्ध मुद्दा चल्न सक्छ । 

प्रहरी अनुसन्धानका लागि बैंक खाताहरू तुरुन्तै रोक्का गरिन सक्छ । अरू बैंकमा खाता खोल्न वा ऋण लिन नमिल्ने गरी कालोसूचीमा पर्न सकिन्छ । नगरेको अपराधमा पनि अनुसन्धानको घेरामा पर्नुपर्ने र अदालत धाउनुपर्ने हुँदा अनावश्यक हैरानीमा पर्नुका साथै सामाजिक प्रतिष्ठामा समेत असर पर्न सक्छ ।

यसबाट जोगिन के गर्ने ?

सहजै पैसा कमाउने पासोबाट जोगिन र आफ्नो बैंक खाता सुरक्षित राख्न निम्न कुराहरूमा ध्यान दिनु अत्यन्त जरुरी छ । 

नचिनेको व्यक्तिलाई सरकारी कागजातहरू नदिनेः अपरिचित व्यक्ति, संस्था वा समूहलाई आफ्नो नागरिकता, राष्ट्रिय परिचयपत्र, प्यान नम्बर र पासपोर्टको सक्कल वा नक्कल प्रति तथा आफ्नो फोटो दिँदै नदिने । यदि कसैलाई दिनु परेमा त्यसको सत्यता परीक्षण गरेर मात्र दिने ।

सजिलै पैसा आउँछ भन्ने कुरामा विश्वास नगर्ने: कुनै काम नगरिईकन सजिलै पैसा कमाउन सकिन्छ भन्ने भ्रमबाट मुक्त हुने । कसैले पनि सजिलै पैसा कमाउन सजिलो छैन । यदि कसैले सजिलै पैसा कमाइन्छ भन्छ भने त्यसमा शङ्का गर्ने ।

संस्थाको आधिकारिकता परीक्षण गर्ने: कुनै पनि व्यक्ति वा संस्थाबाट कामको अफर आउँदा, संस्थाको आधारिकता जाँच गर्न पछि नपर्ने । स्थापित संस्था बाहेकको हकमा त्यस्तो कारोवारी संस्थाहरुको परीक्षण गरेर मात्र अघि बढ्ने ।

सुरुमै पैसा मागेमा सचेत हुनेः रोजगारी दिनुअघि नै सेक्युरिटी डिपोजिट, दर्ता शुल्क वा अन्य कुनै बहानामा पैसा माग्ने कम्पनीहरू अवैध हुने सम्भावना बढी हुन्छ, त्यसैले त्यस्ता कम्पनी वा संस्थाहरुको हकमा सचेत हुने । 

सामाजिक सञ्जालका स्पाम म्यासेजबाट जोगिनेः सामाजिक सञ्जालमा आइरहने म्यासेजहरू जस्तै ‘तपाईँले उपहार जित्नु भयो’, ‘सजिलो अफर’, ‘सजिलो जागिर’, ‘घर बसीबसी कमाऊँ’ भन्ने लिंकहरु नखोल्ने, त्यसमा दिइएका नम्बरहरूमा फोन नगर्ने ।

साथी–भाइ, आफन्तसँग कुरा गरौँ: कुनै पनि विषयमा आफ्नो निकटको साथी, आफन्तीहरुसँग कुराकानी गर्न नभुलौँ । यो बानीले तपाईँलाई ठगहरूको सञ्जालमा पुग्नु अगावै जोगाउन सक्छ । परिवारका सदस्यहरूलाई यस्तो बारेमा भन्दा कसै न कसैलाई यसबारे जानकारी भई यस्तो षडयन्त्रमा पर्ने सम्भावना न्यून हुन्छ ।

आफ्नो बैंकको खाता कसैलाई नदिनेः थोरै पैसाको प्रलोभनमा आफ्नो बैंक खाता, चेक, एटिएम र मोबाइल बैंकिङ्ग कसैलाई नदिने । यसका साथै बैंकबाट दिइने ओटिपी कसैलाई नदिने । यसका साथै आफ्नो चेक, एटीएम वा क्रेडिट कार्ड कहिल्यै कसैको ठेगानामा नपठाउने वा अरूलाई प्रयोग गर्न पनि नदिने ।

समय समयमा खाता जाँच गर्ने: आफ्नो खातामा के–के सुबिधा लिएको छ ?, ई–पेमेन्टको सुबिधा लिएको छ कि छैन ? आफ्नो बैक खाता अरू कसैले पो प्रयोग गरिरहेको छ कि भन्नेबारे निश्चिन्त हुन बैंकबाट बुझि राख्ने ।

नजान्नेले अनलाइन बैंकिङ्ग नगर्ने: डिजिटल सुरक्षाबारे तपाईँलाई राम्रोसँग थाहा छैन भने तपाईँले डिजिटल अनलाईन बैंकिङ्ग नगरेको राम्रो । कयौँ पटक प्रयोगकर्ताहरूले १० हजार पठाउनु पर्नेमा एक लाख पठाइरहेको, एउटालाई दिन खोज्दा नम्बर गल्ती भएर अर्कैलाई पैसा गइरहेको तथा आफूलाई थाहा नभएका अनेकौँ एप्सहरु चलाउँदा खाताबाट सबै पैसा चैट भएका उदाहरण पनि छन् । त्यसैले मोबाइल बैंकिङ्ग चलाउने हो भने आफ्नो डिजिटल सुरक्षाबारे पनि ख्याल राख्नुस् ।

शङ्कास्पद कारोबारको तत्काल जानकारी गराउने: आफूले थाहा नपाई कहीँबाट बैक खातामा रकम आउँछ वा पैसा काटिन्छ भने तत्काल आफ्नो बैकलाई जानकारी गराई खाता रोक्का गराउने ।

अनलाइनको प्रयोग बढेसँगै विभिन्न चुनौती पनि थपिएका छन् । त्यसैले डिजिटल सुरक्षाका विविध उपाय बारे पनि त्यति नै सचेत हुनुपर्छ । डिजिटल ठगीबाट जोगिने यो नै सबै भन्दा उपयुक्त विधि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

द्वारिका घिमिरे
द्वारिका घिमिरे
लेखकबाट थप