विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
सारांश
- विश्वकप फुटबल प्रतियोगिताबाट फिफाले अर्बौं डलर आम्दानी गरेको छ, जसमा प्रसारण अधिकार, प्रायोजन र टिकट बिक्री मुख्य स्रोत हुन् ।
- समर्थकहरूका लागि विश्वकप महँगो साबित भयो, जहाँ टिकट, यात्रा र आवासको अत्यधिक मूल्यले गर्दा आर्थिक भार बढ्यो ।
- प्रसारण संस्था र प्रायोजकहरूले विज्ञापन र ब्रान्डिङमार्फत उल्लेखनीय आम्दानी गरे, जसमा हाइड्रेसन ब्रेक जस्ता नयाँ अवसरहरूले पनि फाइदा पुर्याए ।
काठमाडौँ । यस पटकको फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता बन्यो । धेरै देशको सहभागिता र धेरै खेल हुनुको अर्थ थप आकर्षण, दर्शक र आम्दानीको अवसर हुनु पनि हो ।
मैदानमा विश्व फुटबलका सुपरस्टारहरूले ऐतिहासिक क्षण सिर्जना गरिरहँदा प्रतियोगिताबाट अर्बौँ डलरको कारोबार भइरहेको छ । तर आर्थिक हिसाबले सबैले समान लाभ उठाएका छैनन् ।
फिफा– सबैभन्दा ठुलो विजेता
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपबाट कमाउने रकम अचम्मलाग्दो छ । कतारमा भएको सन् २०२२ को विश्वकपबाट फिफाले रेकर्ड ७.६ अर्ब अमेरिकी डलर (करिब ५.६ अर्ब पाउन्ड) आम्दानी गरेको थियो । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजित २०२६ विश्वकपमा ४८ टोलीको विस्तारित स्वरूपका कारण त्यो कीर्तिमान अझै पार हुने अपेक्षा गरिएको छ ।
डोइचे बैंक रिसर्चकी वरिष्ठ रणनीतिकार मेरियन लाबुरेका अनुसार चार वर्षे चक्रमा फिफाको कुल आम्दानी १३ अर्ब डलरको हाराहारी पुग्नेछ र ‘मुख्य विजेता निःसन्देह फिफा नै हो ।’
फिफाको आम्दानीका प्रमुख स्रोतहरू प्रसारण अधिकार, लाइसेन्स, आतिथ्य सेवा, प्रायोजन सम्झौता तथा टिकट बिक्री हुन् । लाबुरे भन्छिन्, ‘फिफाले आधिकारिक टिकट पुनर्बिक्री बजार पनि सञ्चालन गर्यो, जहाँ खरिदकर्ता र विक्रेता दुवैबाट १५ प्रतिशत शुल्क लिइयो ।’
आगामी प्रतियोगिताहरूमा यस्तो प्रवृत्ति अझ बढ्ने संकेत देखिएको छ । फिफाले भविष्यमा विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे समेत विचार गरिरहेको छ, जसमा चीन र भारतजस्ता विशाल बजारका टोली सहभागी हुन सक्नेछन् । यसले अझ धेरै दर्शक र आम्दानी थप्ने अपेक्षा गरिएको छ ।
समर्थक– घाटामा
विश्वकप प्रत्यक्ष हेर्ने सपना पूरा भए पनि आर्थिक दृष्टिले समर्थकहरूका लागि यो प्रतियोगिता निकै महँगो साबित भयो ।
टिकटको अत्यधिक मूल्य र माग बढ्दा मूल्य बढाउने फिफाको डाइनामिक प्राइसिङ नीतिको व्यापक आलोचना भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अमेरिकाको पाराग्वेविरुद्धको उद्घाटन खेलको टिकट १,००० डलर पुग्न सक्नेबारे सोध्दा ‘म त त्यति पैसा तिर्दिनँ’ भनेका थिए । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनल खेलको आधिकारिक टिकट मूल्य ३२,९७० डलर थियो भने पुनर्बिक्री बजारमा केही टिकट २० लाख डलरभन्दा बढीमा सूचीकृत गरिएका थिए ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने अमेरिकी अन्य खेल प्रतियोगिताको तुलनामा टिकट मूल्य असामान्य नभएको दाबी गर्दै यसको बचाउ गरे । टिकट मात्र होइन, हवाई यात्रा, होटेल र खानपिनको खर्चले पनि समर्थकको ढाड सेक्यो ।
यसको एउटा चर्चित उदाहरण न्यु जर्सी ट्रान्जिट रेल सेवा थियो । सामान्यतया १२.९० डलर पर्ने मेटलाइफ स्टेडियमसम्मको करिब ३० मिनेटको रेलयात्राको भाडा प्रतियोगिताका क्रममा १५० डलर पुर्याइयो । व्यापक विरोधपछि मूल्य घटाइए पनि सामान्य अवस्थाभन्दा अझै महँगै रह्यो ।
प्रसारण संस्था र प्रायोजक– विजेता
प्रतियोगिताको प्रसारण अधिकार किन्न प्रसारण संस्थाहरूले ठुलो रकम खर्चिए पनि विशाल दर्शक सङ्ख्या र विज्ञापनबाट उनीहरूले पनि उल्लेखनीय आम्दानी गर्ने अपेक्षा गरिएको छ ।
यस विश्वकपमा फिफाले हाइड्रेसन ब्रेक लागू गर्यो । इन्फान्टिनोले यसलाई विशेद्ध खेलसम्बन्धी निर्णय’ भन्दै फिफालाई यसबाट अतिरिक्त आम्दानी नभएको बताएका थिए ।
तर खेलाडीहरूले पानी पिउन पाउने ९० सेकेन्डको यो अन्तरालले प्रसारण संस्था र प्रायोजकका लागि नयाँ व्यावसायिक अवसर सिर्जना गर्यो । विशेषगरी अमेरिकामा खेलबीच विज्ञापन देखाउने परम्परा भएकाले यसलाई प्रभावकारी रूपमा प्रयोग गरियो ।
अमेरिकामा प्रसारण अधिकारका लागि करिब ४८५ मिलियन डलर तिरेको फक्स स्पोट्र्सले हाइड्रेसन ब्रेकलाई एक ब्रान्डद्वारा प्रायोजित कार्यक्रमका रूपमा प्रस्तुत गर्यो ।
विशेषज्ञहरूका अनुसार फक्समा विश्वकपको ३० सेकेन्डको विज्ञापनको मूल्य २ लाखदेखि ३ लाख डलरसम्म थियो भने अमेरिकी टोलीका खेलहरूमा यो ७ लाख ५० हजार डलरसम्म पुगेको थियो ।
यस हिसाबले हाइड्रेसन ब्रेकका विज्ञापनबाट अमेरिकामा मात्र २५ करोड डलरसम्म आम्दानी हुन सक्ने अनुमान गरिएको छ । लाबुरे भन्छिन्, ‘हाइड्रेसन ब्रेक वास्तवमा विज्ञापनका लागि अतिरिक्त समय हो । यो हट्ने सम्भावना निकै कम छ । विस्तारित विश्वकप पनि फिफाको नयाँ व्यापारिक मोडल बनेको छ ।’
बेलायतमा भने बीबीसी र आईटीभीका दर्शकहरू यस्ता विज्ञापनबाट जोगिए, किनभने बीबीसीमा विज्ञापन हुँदैन र आईटीभीमा नियामकीय सीमाहरू लागू छन् ।
विश्वकपका आधिकारिक प्रायोजकहरूले प्रतियोगितासँग आफ्नो ब्रान्ड जोड्न अत्यधिक रकम खर्च गरे पनि त्यसबाट राम्रो व्यापारिक लाभ उठाउने अपेक्षा गरिएको छ । एडिडास र कोका–कोलाजस्ता ब्रान्डहरू प्रतियोगिताभरि प्रमुख रूपमा देखिए ।
एडिडासले आफ्नो प्रतिस्पर्धी नाइकीसँगको प्रतिस्पर्धामा लामिन यामाल, जुड बेलिङ्घम र लियोनेल मेस्सीलाई समेटिएको ‘ब्याकयार्ड लिजेन्ड’ विज्ञापनमा करिब ५ करोड पाउन्ड खर्च गरेको बताइएको छ ।
यद्यपि केही अनधिकृत ब्रान्डहरूले पनि फाइदा उठाए । उदाहरणका लागि, सान फ्रान्सिस्कोको लेभाइज स्टेडियम बाहिर रहेको लेभाइजको लोगो ढाकिएपछि त्यसले उल्टै थप चर्चा पायो ।
डेभिड बेकह्याम– विजेता
एडिडासको मुख्य विज्ञापनमा सर डेभिड बेकह्यामको कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको संस्करण पनि समावेश गरिएको छ । वास्तवमा उनी व्यक्तिगत रूपमा विज्ञापन छायांकनमा सहभागी हुन समय निकाल्न नसक्ने अवस्था हुन सक्थ्यो ।
बेलायतका पहिलो अर्बपति खेलाडी बनेका बेकह्याम अहिले होम डिपोदेखि बैंक अफ अमेरिकासम्मका असंख्य विज्ञापनमा देखिन्छन् । यति धेरै ब्रान्डसँग जोडिएकाले उनी वास्तवमा कुन कम्पनीको प्रतिनिधित्व गरिरहेका छन् भन्ने नै बिर्सन सकिन्छ ।
एक दशकभन्दा बढीअघि फुटबलबाट संन्यास लिए पनि बेकह्याम अझै अमेरिकामा फुटबलको सबैभन्दा प्रभावशाली अनुहारमध्ये एक हुन् । उनले सह–स्वामित्व लिएको क्लब इन्टर मियामीको मूल्य अहिले १.४५ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ, जसले यसलाई मेजर लिग सकर (ःीक्) को सबैभन्दा मूल्यवान क्लब बनाएको छ ।
उनी खेलाडीका रूपमा विश्वकप जित्न सफल भएनन्, तर व्यावसायिक दृष्टिले भने विश्वकपबाट सबैभन्दा ठुलो सफलता हासिल गर्ने व्यक्तिमध्ये एक बनेका छन् ।
आयोजक सहर– अपेक्षाअनुसार लाभ भएन
अमेरिका, क्यानडा र मेक्सिकाका १६ आयोजक सहरले विश्वकपका क्रममा लाखौँ समर्थक र पर्यटकलाई स्वागत गरे । यसले होटेल, रेस्टुरेन्ट तथा स्थानीय व्यवसायमा केही समयका लागि चहलपहल बढायो ।
उदाहरणका लागि, स्कटल्यान्डका समर्थकहरूले बोस्टन सहरलाई उत्सवमय बनाइदिए र स्थानीय बासिन्दाको मन जिते । तर विज्ञहरूका अनुसार यस्ता प्रतियोगिताबाट हुने दीर्घकालीन आर्थिक लाभ भने निकै सीमित हुन्छ ।
फिफाले विश्वकपका कारण विश्व अर्थतन्त्रमा ४१ अर्ब अमेरिकी डलर बराबरको योगदान पुग्ने, जसमध्ये १७ अर्ब डलर अमेरिकाको अर्थतन्त्रमा थपिने र करिब १ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान गरेको थियो । यीमध्ये अधिकांश रोजगारी आतिथ्य र होटेल क्षेत्रमा केन्द्रित हुने भनिएको थियो ।
तर अक्सफोर्ड विश्वविद्यालयका व्यवस्थापन विज्ञ तथा अक्सफोर्ड ग्लोबल प्रोजेक्ट्सका प्रमुख कार्यकारी अलेक्जेन्डर बुडजियरका अनुसार यस्ता ठुला खेल प्रतियोगिताबाट दीर्घकालीन आर्थिक समृद्धि आउने दाबी व्यवहारमा पुष्टि हुँदैन ।
उनका अनुसार प्रतियोगिताको भिडभाडबाट बच्न धेरै पर्यटक अन्य समयमा मात्र यात्रा गर्ने भएकाले आयोजक सहरमा सामान्यभन्दा कम पर्यटकसमेत पुग्ने अवस्था आउँछ ।
‘रोजगारी त सिर्जना हुन्छ, तर सम्पत्ति सिर्जना हुँदैन,’ उनी भन्छन् । उनका अनुसार अधिकांश नयाँ रोजगारी कम पारिश्रमिक भएका होटेल तथा रेस्टुरेन्ट क्षेत्रमै सीमित हुन्छन् ।
अमेरिकाको आधिकारिक तथ्याङ्कले पनि प्रतियोगिता सुरु हुनुअघि मे महिनामा होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा भर्ती बढेको देखाए पनि त्यो वृद्धि धेरै समय टिक्न सकेन ।
बुडजियरका अनुसार यस्ता प्रतियोगिताको वास्तविक आर्थिक लाभ भने पूर्वाधार विकासबाट मात्र प्राप्त हुन्छ । उदाहरणका लागि, लन्डन ओलम्पिक २०१२पछि स्ट्राटफोर्ड क्षेत्रमा भएको पुनर्विकास र नयाँ आवास निर्माणलाई उनले सफल उदाहरणका रूपमा प्रस्तुत गर्छन् ।
तर यस विश्वकपमा अधिकांश खेल पहिल्यै बनेका रंगशाला, होटेल, प्रशिक्षण केन्द्र र यातायात पूर्वाधार प्रयोग गरिएकाले नयाँ विकास परियोजनाबाट उल्लेखनीय आर्थिक लाभ हुने सम्भावना नरहेको उनको भनाइ छ ।
होटेल उद्योग – अपेक्षाभन्दा कमजोर व्यापार
विश्वकपका कारण होटेलमा अत्यधिक चाप पर्ने अनुमान गरिए पनि वास्तविकता त्यस्तो देखिएन । उद्योगसम्बन्धी संस्थाहरूका अनुसार आयोजक सहरका होटेलमा यस वर्षको बुकिङ गत वर्षको तुलनामा कम रह्यो ।
ब्रिटिस कोलम्बिया होटेल एसोसिएसनका अनुसार क्यानडाको भ्यानकुभरमा सात खेल आयोजना भए पनि जुन र जुलाई महिनाको बुकिङ अघिल्ला वर्षहरूको तुलनामा कमजोर रह्यो ।
संस्थाले विश्वकपजस्ता प्रतियोगिताले लगातार ४० दिनसम्म सबै होटेल भरिने अवस्था सिर्जना नगर्ने, बरु केही निश्चित खेल भएका दिनहरूमा मात्र अत्यधिक माग हुने जनाएको छ ।
अमेरिकाका होटेल व्यवसायीहरू पनि प्रतियोगिताअघि गरिएको ठुलो व्यापारिक अपेक्षाबाट निराश भए । अमेरिकन होटेल एन्ड लजिङ एसोसिएसन (एएचयलए)ले फिफाले आफ्नै प्रयोजनका लागि अत्यधिक होटेल कोठा अग्रिम बुक गरेर कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएको थियो । फिफाले भने यस्तो आरोप अस्वीकार गरेको छ ।
डोइचे बैंक रिसर्चकी मेरियन लाबुरेका अनुसार सन् १९९८ को फ्रान्स विश्वकपमा पनि यस्तै अवस्था देखिएको थियो, जहाँ अपेक्षित माग पूरा हुन सकेको थिएन ।
उनका अनुसार अप्रिलसम्म अमेरिकाका ८० प्रतिशत होटेल सञ्चालकले बुकिङ प्रारम्भिक अनुमानभन्दा कम रहेको बताएका थिए । न्यूयोर्कका दुई तिहाइ होटेल सञ्चालक र सियाटलका करिब ८० प्रतिशत होटेल व्यवसायीले समेत अपेक्षाभन्दा कमजोर व्यापार भएको बताएका थिए । कतिपयले त विश्वकपलाई ‘व्यापारिक हिसाबले खासै प्रभाव नपारेको प्रतियोगिता’समेत भनेका थिए ।
सट्टेबाजी कम्पनी– सबैभन्दा ठुलो कमाइ
सन् २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठुलो खेल सट्टेबाजी प्रतियोगिता बन्ने अनुमान गरिएको छ ।
वित्तीय सेवा कम्पनी म्याक्वारीका अनुसार विश्वकपभरि करिब ५० अर्ब अमेरिकी डलर बराबरको बाजी लगाइनेछ । औसतमा प्रत्येक खेलमा ५० करोड डलर बराबरको सट्टेबाजी हुने अनुमान छ ।
यसको मुख्य कारण प्रतियोगितामा टोली र खेलको सङ्ख्या बढ्नु हो । सन् २०२२ मा ६४ खेल भएका थिए भने यसपटक १०० भन्दा बढी खेल आयोजना भएका छन् ।
फ्लटर इन्टरटेन्मेन्ट (सट्ट्बाजी कम्पनी) ले अमेरिकामा खेल सट्टेबाजीको तीव्र विस्तार र ब्राजिलजस्ता बजारको वृद्धिका कारण यस विश्वकपमा लगाइने कुल बाजी अघिल्लो विश्वकपको तुलनामा दोब्बर हुने प्रक्षेपण गरेको छ ।
म्याक्वारीका विश्लेषक चाड बेननका अनुसार अहिले खेल सुरु हुनुअघि मात्र बाजी लगाउने चलन घट्दै गएको छ । अहिले धेरैजसो मानिसले खेल चलिरहेकै बेला मैदानको अवस्थाअनुसार तत्काल बाजी परिवर्तन गर्ने प्रवृत्ति अपनाइरहेका छन् ।
सन् २०१८ सम्म अमेरिकाको नेभाडा राज्यबाहेक अन्यत्र खेल सट्टेबाजी कानुनी रूपमा अनुमति थिएन । तर अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि धेरै राज्यले यसलाई वैधानिक बनाएका छन् । यद्यपि क्यालिफोर्निया र टेक्सासजस्ता केही राज्यमा अझै पनि खेल सट्टेबाजी गैरकानुनी छ । त्यसैले ती स्थानमा युवामाझ लोकप्रिय बन्दै गएको ‘प्रिडिक्सन मार्केट’को प्रयोग तीव्र रूपमा बढेको छ । कानुनी रूपमा जुवाको श्रेणीमा नपर्ने भएकाले यसमार्फत जुनसुकै राज्यबाट पनि खेलको नतिजामा रकम लगाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण