दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, त्यो त रेडिमेड कथा मात्र हो : अध्यक्ष ओली
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले नगरेको दाबी गरेका छन् ।
- उनले दीपेन्द्रले प्रेम सम्बन्धका कारण वंशनाश गरी आत्महत्या गरेको भन्ने हल्लालाई 'रेडिमेड कथा' भन्दै यसमा सत्यता नरहेको बताएका छन् ।
- ओलीले दरबार हत्याकाण्ड कसले गर्यो भन्ने सत्य कुरा अझै खुल्न नसकेको र प्रमुख सञ्चारमाध्यमले पनि सत्यता नबुझी अफवाह फैलाएको आरोप लगाएका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
आफ्ना आमाबुबा र भाइबहिनीसहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएर पछि आफैँलाई गोली हानी आत्महत्या गरेको भनी विश्वव्यापी रूपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको ओलीको भनाइ छ । उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर एउटा ‘रेडिमेड’ कथा विश्वव्यापी रूपमा फैलाइएको बताए ।
दरबार हत्याकाण्ड कसले गर्यो भन्ने सत्य कुरा अझै खुल्न नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्ड हुनेबित्तिकै विश्वव्यापी रूपमा एउटा हल्ला फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो ।’
उनले अगाडि थपे, ‘एउटा यस्तो रेडिमेड स्टोरी र युवराज दीपेन्द्रले बाबु, आमा, भाई, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो । बीसौँ वर्ष त्यस गलत सूचनाले राज गर्यो । सही सूचना के हो अझै थाहा छैन ।’
बिना अध्ययन तयार पारिएको उक्त कथाको रचनाकार को हो भन्ने कुरा अहिलेसम्म कसैलाई थाहा नभएको ओलीले बताए । उनले भने, ‘त्यो कथाको मूल वाचक को हो ? त्यो पनि थाहा छैन । तर एउटा कथा रचना भयो र वाचन गरियो । त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो ।’
विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत यति ठूलो घटनाका विषयमा सत्यतथ्य बुझ्ने चासो नराखेको भन्दै उनले अचम्म व्यक्त गरे । उनले थपे, ‘विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन् । बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने, त्यो पनि अनौठो कुरा छ । वास्तवमा त्यो सूचना सही होइन ।’
अध्यक्ष ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रको प्रेम असफल भएका कारण भएको भन्ने कथा यस षड्यन्त्रमा संलग्नहरूले नै बनाएको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण