विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
सारांश
- फिफाले विश्वकप फाइनलको विजेता टोलीलाई विश्वकप इतिहासमा पहिलो पटक विशेष 'विश्वकप च्याम्पियन रिङ' प्रदान गर्ने भएको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो फाइनल खेल हेर्न रंगशालामा उपस्थित हुने भएका छन्।
- यो उपाधि भिडन्त अर्जेन्टिना र स्पेनबिच हुनेछ, जबकि तेस्रो स्थानका लागि इङ्गल्यान्ड र फ्रान्सबीच खेल हुनेछ।
न्युयोर्क। विश्व फुटबल महासंघ (फिफा) ले सोमबार हुने अर्जेन्टिना र स्पेनबिचको विश्वकप फाइनल खेलको विजेता टोलीलाई विशेष औँठी ‘विश्वकप च्याम्पियन रिङ’ प्रदान गर्ने भएको छ।
यो फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रङ्गशालामा उपस्थित हुने जानकारी बीबीसीले दिएको छ।
अमेरिकी खेल संस्कृतिमा विजेता टोलीलाई औँठी प्रदान गर्ने लामो परम्परा छ। विशेष गरी अमेरिकाको नेसनल फुटबल लिग–एनएफएल (अमेरिकी फुटबल) को सुपर बाउल जित्ने टोलीलाई यस्तो ‘च्याम्पियन औँठी’ प्रदान गरिन्छ। फिफाले विश्वकप इतिहासमा पहिलो पटक विजेताका लागि यही अमेरिकी परम्परा अपनाएको हो।
विश्व च्याम्पियन बन्ने टोलीका लागि ३० वटा विशेष औँठी तयार गरिएको छ। यसका साथै समर्थकहरूका लागि थप १ हजार ९ सय ९६ वटा औँठी बिक्रीमा राखिनेछ। प्रत्येक औँठीमा सानो विश्वकप ट्रफीको आकृति समावेश गरिएको छ भने यसको भित्री भागमा विशेष बुट्टा कुँदिएको छ।
विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने कार्यक्रममा उपस्थित हुने राष्ट्रपति ट्रम्पले यसअघि प्रतियोगिताका १०२ खेलमध्ये कुनै पनि खेल प्रत्यक्ष हेरेका थिएनन्। उनले अमेरिकी टोली अन्तिम १६ मा बेल्जियमसँग पराजित हुनुअघि खेलेका समूह चरणका खेलहरू पनि छुटाएका थिए।
यसैबिच क्यानडामा लागेको डढेलोका कारण न्युयोर्क क्षेत्रको वायु गुणस्तरबारे चेतावनी जारी गरिएको छ। यद्यपि मेटलाइफ स्टेडियममा हुने फाइनल खेलमा त्यसको कुनै असर पर्ने सङ्केत देखिएको छैन। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसअघि नै ट्रम्प फाइनलमा उपस्थित हुने बताएका थिए भने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि ट्रम्प आउने कुराको औपचारिक पुष्टि गरिसकेकी छन्।
यस विश्वकपमा इन्फान्टिनो र ट्रम्पबिचको सम्बन्ध सबैभन्दा ठुलो विवादको विषय बनेको थियो। अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई देखाइएको रातो कार्डको पुनरावलोकन गर्न ट्रम्पले फिफा अध्यक्षलाई फोन गरेको खुलासा भएको थियो। त्यसपछि बालोगुनमाथि स्वतः लागू हुने प्रतिबन्ध हटाइने निर्णय भयो।
यस कदमको व्यापक आलोचना हुनुका साथै प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो। प्रतिबन्ध हटेपछि बालोगुनले बेल्जियमविरुद्धको नकआउट खेल खेल्न पाए पनि अमेरिका ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो। यो विश्वकपमा अन्य कुनै पनि रातो वा पहेँलो कार्डको प्रतिबन्ध हटाइएको छैन, जबकि फ्रान्स र इङ्गल्यान्डले पनि आफ्ना खेलाडीमाथिका निर्णय पुनरावलोकन गर्न अनुरोध गरेका थिए।
ट्रम्पले आफ्ना दुई कार्यकालमा सुपर बाउल, यूएस ओपन टेनिस, एनबीए फाइनल, राइडर कप लगायत ठुला खेलकुद प्रतियोगितामा नियमित उपस्थिति जनाउँदै आएका छन्। उनले ह्वाइट हाउसमा यूएफसी प्रतियोगिता समेत आयोजना गरेका थिए। आयोजक राष्ट्रका राष्ट्राध्यक्ष विश्वकप फाइनलमा उपस्थित हुनुलाई असामान्य मानिँदैन।
यस संस्करणको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका हुन्, जसका अन्तिम दुई खेल अमेरिकामै हुँदैछन्। आइतबार तेस्रो स्थानका लागि इङ्गल्यान्ड र फ्रान्सबिच मियामयीमा खेल हुनेछ भने सोमबार अर्जेन्टिना र स्पेनबिच विश्वकपको उपाधि भिडन्त हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण