सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन

आइतबार, ०३ साउन २०८३, २१ : २८
आइतबार, ०३ साउन २०८३

काठमाडौँ । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ । एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् ।

शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै गुणस्तरीय शिक्षा सबै विद्यार्थीसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त विद्यालयलाई आधार बनाएर सुरु गरिएको यो पहलले नेपालभर स्मार्ट शिक्षाको अवधारणालाई विस्तार गर्ने नमुना परियोजनाका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका विद्यालयलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोडिनेछ। यसबाट विद्यार्थी र शिक्षकले प्रत्यक्ष वैज्ञानिक अनुसन्धानसम्बन्धी कक्षा, अन्तरक्रियात्मक सिकाइ तथा वास्तविक समयमै ज्ञान आदानप्रदान गर्न सक्नेछन् ।

हुवावेको ‘स्मार्ट क्लासरुम’मार्फत दुर्गम क्षेत्रका विद्यार्थीले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल सिकाइ सामग्री तथा सहकार्यात्मक गतिविधिमा सहभागी हुने अवसर पाउने छन् जनाइएको छ । साथै, विभिन्न विद्यालयका शिक्षकबीच शिक्षण अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यास साझेदारी र संयुक्त रूपमा कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ ।

हुवावे नेपालको ‘स्मार्ट एजुकेसन’ अवधारणाले सहरी–ग्रामीण शैक्षिक अन्तर घटाउने, शिक्षकलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउने तथा तथ्याङ्कमा आधारित सिकाइ प्रणाली विकास गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

एडिबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान सुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको उपयोगमार्फत सबै विद्यार्थीका लागि समावेशी, उत्थानशील र भविष्यउन्मुख शिक्षा प्रणाली निर्माण गर्न एडिबी प्रतिबद्ध रहेको बताए।

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेनले विद्यार्थीको भविष्य उनीहरू बस्ने स्थानले होइन, उनीहरूले प्राप्त गर्ने अवसरले निर्धारण गर्ने बताए। प्रविधिमार्फत नेपालभरका कक्षाकोठा जोडेर विद्यार्थी र शिक्षकबीच सहकार्य तथा ज्ञान आदानप्रदानको वातावरण निर्माण गर्न खोजिएको उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप