मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ

सोमबार, ०४ साउन २०८३, ०७ : ३१
सोमबार, ०४ साउन २०८३

सारांश

  • जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा ६ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।
  • सोही अवधिमा प्रहरीले ४४८ जना फरार प्रतिवादीलाई पक्राउ गरी ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराएको छ।
  • प्रहरीले लागुऔषध नियन्त्रण अभियानमा ५१ जनालाई पक्राउ गरी ८४७ किलोभन्दा बढी गाँजा र अन्य लागुऔषध बरामद गरेको छ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। 

एक वर्षको अवधिमा प्रहरीले झण्डै छ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गर्नुका साथै चार सय ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै एसपी सीताराम रिजालले वर्षभरि एक हजार एक सय ५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए। तीमध्ये छ सय ८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने चार सय ७२ वटा अनुसन्धानकै क्रममा रहेका छन्। यसै अवधिमा परेका चार हजार आठ सय ५० ठाडो उजुरीमध्ये चार हजार तीन सय ८० फर्छ्योट भएका छन् भने चार सय ७० उजुरी प्रक्रियामा छन्।

प्रहरीका अनुसार आर्थिक वर्षभरि विभिन्न प्रकृतिका मुद्दामा छ सय ९४ जनालाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। यस क्रममा आठ सय ४७ किलो सात सय २० ग्राम गाँजा, २५ ग्राम पाँच सय १० मिलिग्राम ब्राउन सुगर, चार हजार दुई सय ६५ नशालु एम्पुल तथा १३ हजार नौ सय १६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ।

अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत चार सय ४८ फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै ६९ लाख ७१ हजार आठ सय ७४ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

अवैध हातहतियार नियन्त्रण अभियानमा छ थान हतियार, १९ राउन्ड गोली बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ। त्यस्तै खोटा मुद्रासम्बन्धी तीन वटा मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको तथा एक लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ।

ट्राफिक व्यवस्थापनतर्फ एक वर्षमा एक हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको तथा एक हजार छ सय ९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार दुई सय ५५ सवारी साधनमाथि कारबाही गर्दा एक करोड एक लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १८ जनालाई पक्राउ गरी एक सय ५५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। यस क्रममा पाँच करोड ९२ लाख ५५ हजार सात सय २१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ। यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी रहेको एसपी रिजालले बताएका छन्।

प्रहरीले स्रोत नखुलेको १३ लाख ६२ हजार दुई सय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। यस्तै अवैध काठ नियन्त्रण अभियानमा दुई सय २२ क्युबिक फिट सालको काठ बरामद गरी दुई जनालाई पक्राउ गरिएको तथा पाँच लाख ९५ हजार दुई सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका क्रममा ३० वटा सवारी साधन र तीन जनालाई नियन्त्रणमा लिई दुई लाख ५७ हजार तीन सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा पाँच वटा अवैध मदिरा भट्टी, एक हजार पाँच सय ४५ लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चा पदार्थका साथै उत्पादित सामग्रीहरू नष्ट गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि एक हजार ५४ वटा कार्यक्रम सञ्चालन गरिएका थिए। साथै एक वर्षमा एक लाख ३३ हजार सात सय ६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सीमित जनशक्तिका बाबजुद नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न र अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्न प्रहरी सफल भएको बताएका छन्। फरार प्रतिवादी पक्राउ, राजस्व छली नियन्त्रण तथा सामुदायिक प्रहरी सेवामा प्राप्त उपलब्धि स्थानीयवासी, सञ्चारकर्मी र सरोकारवाला निकायको सहयोगकै परिणाम भएको उनले बताए। पत्रकार सम्मेलनमा एसपी रिजालका साथै जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतम, इन्स्पेक्टर विश्वानाथ यादव लगायतको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप