सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?

सोमबार, ०४ साउन २०८३, ०० : ३०
सोमबार, ०४ साउन २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को फाइनल खेलमा ओप्टा सुपरकम्प्युटरले स्पेनलाई जितको बलियो दाबेदार मानेको छ ।
  • सुपरकम्प्युटरको विश्लेषण अनुसार स्पेनले ९० मिनेटमा ४५% जित्ने सम्भावना छ, जबकि अर्जेन्टिनाको सम्भावना २६% मात्र छ ।
  • समग्रमा स्पेनले विश्वकप जित्ने ५९.६% सम्भावना रहेको छ भने अर्जेन्टिनाको ४०.४% सम्भावना छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को ऐतिहासिक फाइनल खेल सुरु हुन केही मिनेट मात्र बाँकी रहँदा खेलको नतिजालाई लिएर अनेकौँ अड्कलबाजी र भविष्यवाणीहरू भइरहेका छन् ।

यसैबिच, खेलकुदको विस्तृत तथ्याङ्क विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ को सुपरकम्प्युटरले स्पेन र अर्जेन्टिनाबिचको यस फाइनल खेलको सम्भावित नतिजाबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । ओप्टा सुपरकम्प्युटरको विश्लेषण अनुसार यस महाभिडन्तमा युरोपियन च्याम्पियन स्पेनलाई जितको बलियो दाबेदारका रूपमा हेरिएको छ । 

सुपरकम्प्युटरको गणितीय विश्लेषण अनुसार निर्धारित ९० मिनेटको नियमित समयभित्रै स्पेनले खेल जित्ने सम्भावना ४५ प्रतिशत रहेको छ। अर्कोतर्फ, साबिक विजेता अर्जेन्टिनाले निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्ने सम्भावना केवल २६ प्रतिशत मात्र देखाइएको छ । त्यस्तै, दुवै टोलीले निर्धारित समयमा बराबरी खेल्दै खेल अतिरिक्त समय वा पेनाल्टी सुटआउटतर्फ धकेलिने सम्भावना भने २९ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ ।

समग्र रूपमा विश्वकप २०२६ को ट्रफी कसले उचाल्छ भन्ने विषयमा पनि सुपरकम्प्युटरले स्पेनलाई नै अगाडि राखेको छ । जसअनुसार स्पेनले विश्वकप जित्ने समग्र सम्भावना ५९.६ प्रतिशत रहेको छ। यस्तै, चार वर्षअघि कतार विश्वकपमा जितेको उपाधिलाई कायमै राख्दै अर्जेन्टिनाले पुनः विश्वविजेता बन्ने समग्र सम्भावना ४०.४ प्रतिशत मात्र रहेको छ । दुवै टोली मैदान उत्रनुअघि सार्वजनिक भएको यो तथ्याङ्कले फाइनल भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप