मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने

सोमबार, ०४ साउन २०८३, १२ : ४२
सोमबार, ०४ साउन २०८३

सारांश

  • एमालेले पार्टीको स्पष्ट निर्देशन नआएसम्म बागमती सरकारबाट राजीनामा नदिने निष्कर्ष निकालेको छ ।
  • पार्टीको माथिल्लो तहबाट निर्देशन आएपछि मात्र सरकार छाड्ने विषयमा निर्णय हुने मन्त्री मधुसूदन पौडेलले बताए ।
  • बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग छलफल गरी अघि बढ्ने एमाले संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ ।

काठमाडौँ । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरूले सरकार नछाड्ने बताए । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाबारे बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको निर्देशन कुर्ने उनको भनाइ छ । 

मन्त्री पौडेलका अनुसार बागमती सरकारका बारेमा वर्तमान गठबन्धनमा नै रहेर अघि बढ्ने एमालेको निष्कर्ष रहेको छ । एमालेका मन्त्रीहरूले अहिले नै राजीनामा दिने कुनै तयारी नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले संसदीय दल र पार्टी केन्द्रको आधिकारिक निर्णय नै मुख्य हुने बताए ।

‘पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन आएपछि जे भनिएको छ, त्यही गरिनेछ । सञ्चारमाध्यममा आएका राजीनामाका समाचारहरू केवल हल्ला मात्र भएको र पार्टी केन्द्रबाट आधिकारिक निर्णय आएको छैन’ उनले भने, ‘पार्टी सचिव महेश बस्नेत समेत सहभागी बैठकमा पार्टीले कुनै निर्णय पठाएको छैन । निर्देशन पनि आएको छैन । हामी अहिले नै राजीनामा दिँदैनौँ ।’

वर्तमान सत्ता गठबन्धनको बारे अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए । उनका अनुसार, हाल नेपाली कांग्रेससँगको गठबन्धन कायमै छ र नयाँ ढङ्गले अगाडि बढ्ने विषयमा माथिल्लो तहमा छलफल भइरहेको भए पनि ठोस निर्णय भएको छैन । पछिल्लो समय मन्त्रालयहरूको जिम्मेवारी र बिना विभागीय मन्त्रीहरूका विषयमा भइरहेको आलोचनाका सम्बन्धमा पनि माथिल्लो तहमा छलफल भइरहेको र यसको टुङ्गो एक–दुई दिनभित्रै लाग्ने उनले बताए ।

मन्त्री पौडेलले पार्टीको निर्देशनको प्रतीक्षामा रहेको र निर्देशन आए लगत्तै आवश्यक कदम चालिने उनले बताए । तत्कालका लागि सरकारका काम कारबाहीमा नै केन्द्रित रहने उनको भनाइ छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमाले बागमतीको संसदीय दलको बैठकले बदलिँदो राजनीति परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग छलफल र संवादबाट अघि बढ्ने निष्कर्ष निकालेको छ । हरेक समय नयाँ परिस्थिति आइरहेकाले तत्काल सरकार छाड्ने विषयमा निर्णय नभएको उनको भनाइ छ । सरकार छाड्ने वा रहने भन्ने विषयमा अन्य दलहरूसँगको संवादपछि मात्र अघि बढ्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप