मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्व फुटबलमा स्पेनको ‘स्वर्ण युग’: पाँच वर्षमा १६ उपाधि

सोमबार, ०४ साउन २०८३, १३ : २२
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनले फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै विश्व च्याम्पियनको उपाधि जितेको छ।
  • स्पेन अहिले एकै समयमा पुरुष र महिला दुवै विश्वकपको विजेता बन्ने इतिहासकै पहिलो राष्ट्र बनेको छ।
  • पछिल्ला पाँच वर्षमा स्पेनले यू-१७ देखि सिनियर स्तरसम्म विश्व र युरोपका १६ वटा उपाधि जितिसकेको छ।

न्युयोर्क । स्पेनले फेरि इतिहास रचेको छ। दुई वर्षअघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको ‘ला रोजा’ (स्पेन) ले आइतबार न्यु जर्सीमा भएको फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्व च्याम्पियनको उपाधि जितेको छ।

स्पेनले यसअघि पनि सन् २०१० मा यस्तै उपलब्धि हासिल गरेको थियो। त्यसबेला उसले सन् २००८ को युरो जितेको दुई वर्षपछि विश्वकप उपाधि उचालेको थियो। स्पेनको पछिल्लो सफलताले पुरुष र महिला दुवै फुटबलमा उसको असाधारण वर्चस्वलाई अझ बलियो बनाएको छ।

स्पेन अहिले एकै समयमा पुरुष र महिला दुवै विश्वकपको विजेता बन्ने इतिहासकै पहिलो राष्ट्र बनेको छ। सन् २०२३ मा सिड्नीमा भएको महिला विश्वकप फाइनलमा स्पेनले इंग्ल्याण्डलाई हराएर उपाधि जितेको थियो।

यति मात्र होइन, पुरुष टोलीले सन् २०२३ मा यूईएफए नेसन्स लिग र सन् २०२४ मा ओलम्पिक स्वर्ण पदक जित्यो। महिला टोलीले भने सन् २०२४ र २०२५ दुवै वर्ष नेसन्स लिगको उपाधि आफ्नो नाममा पार्‍यो।

वास्तवमा, पछिल्ला पाँच वर्षमा स्पेनले यू–१७ देखि सिनियर स्तरसम्म विश्व र युरोपका १६ वटा उपाधि जितिसकेको छ। स्पेनी फुटबल विशेषज्ञ गुइलेम बालागेले बीबीसी स्पोर्टसँग भने, ‘यो पूर्ण वर्चस्व हो।’

‘यो सबै कुरा सही समयमा मिलेको जस्तो हो। हाम्रो संस्कृति नै एउटा निश्चित शैलीमा फुटबल खेल्ने हो र सबैले त्यसमा विश्वास गर्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी कहिल्यै रोकिँदैनौं।’

‘पुरुष टोलीले सन् २०१० मा युरो जितेको दुई वर्षपछि विश्वकप जितेको थियो। अहिले हामीले फेरि त्यही उपलब्धि दोहोर्‍याएका छौं। यो अर्को सगरमाथा चढेजस्तै हो।’

spain-world-cup-2

स्पेनको उपाधि जित्ने मेसिन

  • महिला फुटबल (२०२२–२०२६: ११ उपाधि)

सिनियर टोली:

  • १ विश्वकप (२०२३)
  • २ नेसन्स लिग (२०२४, २०२५)

यू–२० टोली:

  • १ विश्वकप (२०२२)

यू–१९ टोली:

  • ५ युरोपियन च्याम्पियन (२०२२, २०२३, २०२४, २०२५, २०२६)

यू–१७ टोली:

  • १ विश्वकप (२०२२)
  • १ युरोपियन च्याम्पियन (२०२४)

पुरुष फुटबल (२०२२–२०२६: ५ उपाधि)

सिनियर टोली:

  • १ विश्वकप (२०२६)
  • १ युरोपियन च्याम्पियन (२०२४)
  • १ नेसन्स लिग (२०२३)

यू–२३ टोली:

  • १ ओलम्पिक स्वर्ण (२०२४)

यू–१९ टोली:

  • १ युरोपियन च्याम्पियन (२०२६)

‘डे ला फुएन्टेलाई प्रशिक्षक बनाउने निर्णय जोखिमपूर्ण थियो’

डिसेम्बर २०२२ मा स्पेनले लुइस डे ला फुएन्टेलाई मुख्य प्रशिक्षक नियुक्त गर्दा छोटो समयमै उनले नेसन्स लिग (२०२३), युरो (२०२४) र विश्वकप (२०२६) जिताउनेछन् भन्ने धेरैले सोचेका थिएनन्।

कतार विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पराजित भएपछि लुइस एनरिकेले पद छाडेका थिए र स्पेनी फुटबल महासंघ नयाँ प्रशिक्षकको खोजीमा थियो।

बालागे भन्छन्, ‘उनीहरूले यस्तो व्यक्ति रोजे, जसले स्पेनको खेलशैली र प्रणालीलाई गहिरोसँग बुझेका थिए।’

spain-world-cup-3

‘यो निकै जोखिमपूर्ण निर्णय थियो। यति धेरै सफलता मिल्छ भन्ने कसैले पनि सोचेको थिएन।’ डे ला फुएन्टेले कुनै ठूलो क्लबको प्रशिक्षण अनुभवबिना राष्ट्रिय टोली सम्हालेका थिए। सन् १९९४ मा खेल जीवन समाप्त गरेपछि उनले तल्लो डिभिजनका क्लब, युवा टोली र सहायक प्रशिक्षकका रूपमा लामो समय काम गरेका थिए। त्यसपछि उनी स्पेनका विभिन्न उमेर समूहका टोलीको प्रशिक्षक बने।

स्पेनका पूर्वमिडफिल्डर जुआन माटा भन्छन्, ‘डे ला फुएन्टेले यी अधिकांश खेलाडीलाई एकेडेमीबाटै चिनेका थिए। उनीहरू टोलीका रूपमा निरन्तर विकसित भइरहेका छन्।’

‘यो केवल वर्तमानको टोली होइन, भविष्यको टोली पनि हो।’ यू–१९, यू–२१ र ओलम्पिक टोली सम्हालेपछि सिनियर टोलीमा आएका डे ला फुएन्टेले प्रतिद्वन्द्वीप्रतिको सम्मान, प्रक्रियामा विश्वास, धैर्यता र शान्त संस्कृतिलाई प्राथमिकता दिएका छन्।

शुक्रबार न्युयोर्कमा उनले पत्रकार सम्मेलनमा भने, ‘तपाईंहरूमध्ये धेरैजना मभन्दा कान्छा हुनुहुन्छ। त्यसैले अनुभवको सम्मान गर्न सिक्नुपर्छ।’ ‘खेल सकिएपछि केही खेलाडीले मलाई भने, ‘कोच, अब जित्न बाँकी के छ ? हामीले सबै उमेर समूहमा सबै उपाधि जितिसक्यौं।’

‘हाम्रो निष्कर्ष के थियो भने अब सेप्टेम्बरको अर्को खेल जित्नु बाँकी छ, किनकि यो टोली कहिल्यै सन्तुष्ट हुँदैन।’

राष्ट्रिय टोलीको सफलता क्लब फुटबलमा पनि देखिएको छ।

पेप ग्वार्डिओलाले १० वर्षपछि म्यानचेस्टर सिटी छाडे पनि २०२६–२७ प्रिमियर लिग सुरु गर्ने प्रशिक्षककमध्ये कम्तीमा एक चौथाइ स्पेनी छन्। स्पेन अहिले सबै प्रतियोगितामा लगातार ३८ खेलदेखि अपराजित छ। यो युरोप वा दक्षिण अमेरिकाको कुनै पनि टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो।

‘हामी सबै कुरा जितिरहेका छौँ’

पछिल्लो दशकमा स्पेनको महिला फुटबलले पनि उल्लेखनीय प्रगति गरेको छ। सन् २०२३ मा इंग्ल्याण्डलाई हराएर महिला विश्वकप जित्नु प्रतियोगितामा स्पेनको केवल तेस्रो सहभागितामै सम्भव भएको थियो। टोलीले पहिलोपटक २०१५ मा विश्वकप खेलेको थियो।

त्यसपछि स्पेनले लगातार दुई वर्ष नेसन्स लिग (२०२४ र २०२५) पनि जित्यो।

spain-world-cup-5

पूर्वखेलाडी तथा पत्रकार मारिया गारिडोले सन् २०२४ मा बीबीसीसँग भनेकी थिइन्, ‘स्पेनको महिला फुटबलमा आएको परिवर्तन अत्यन्त ठूलो छ।’

‘दश वर्षअघि म बार्सिलोनाबाट खेल्दा केटीहरूका लागि ‘ला मासिया’ नै थिएन। हामी आफैंले यात्रा खर्च तिर्थ्यौं, अभिभावकले प्रशिक्षणमा ल्याउँथे र कुनै पारिश्रमिक पनि पाइँदैनथ्यो।’

‘तर पछिल्ला पाँच वर्षमा अवस्था नाटकीय रूपमा बदलिएको छ। महिला फुटबल प्रवर्द्धनका लागि थप उमेर समूह, राम्रो पूर्वाधार, उत्कृष्ट सुविधा र केटीहरूका लागि छुट्टै फुटबल एकेडेमी स्थापना गरिएको छ।’

‘यस परिवर्तनले महिला फुटबललाई मात्र होइन, महिलाप्रतिको सम्मानलाई पनि नयाँ उचाइमा पुर्‍याएको छ।’

  • ‘जितले अझ जित निम्त्याउँछ’

धेरैको विश्वास छ, स्पेनको यो वर्चस्व अझै लामो समय कायम रहनेछ। पुरुष टोलीमा लामिन यामाल र पाउ कुबार्सीजस्ता १९ वर्षीय प्रतिभाशाली खेलाडीले पहिलो विश्वकप उपाधि जितिसकेका छन्।

महिला टोलीकी भिकी लोपेज १९ वर्षकै उमेरमा बार्सिलोनाबाट तीन पटक च्याम्पियन्स लिग विजेता बनिसकेकी छन्। साल्मा पारालुएलोले २३ वर्ष नपुँग्दै राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेकी छन्।

यामाल विश्वकप फाइनल खेल्ने इतिहासकै तेस्रो कान्छा खेलाडी बने। उनीभन्दा कम उमेरमा केवल पेले (१९५८) र जुसेप्पे बेर्गोमी (१९८२) ले फाइनल खेलेका थिए।

spain-world-cup-4

१९ वर्षका पाउ कुबार्सी पनि फाइनलमा सुरुआती टोलीमा परेपछि स्पेन विश्वकप फाइनलमा एकैपटक दोस्रो किशोर खेलाडी उतार्ने पहिलो राष्ट्र बन्यो।

इंग्ल्याण्डका पूर्वगोलकिपर जो हार्टले भने, ‘स्पेनसँग यस्तो खेलशैली छ, जसको नजिक पुग्न पनि संसारका अन्य टोली सफल भएका छैनन्।’

‘यस विश्वकपमा कसैले पनि उनीहरूलाई साँच्चिकै चुनौती दिन सकेन। सम्पूर्ण प्रतियोगिताभर उनीहरूले केवल १० वटा मात्रै लक्ष्यतर्फका प्रहार सामना गरे।’

सन् १९९८ का विश्वकप विजेता थियरी हेनरीले पनि स्पेनको दीर्घकालीन सफलताको आधार प्रणाली भएको बताए।

उनले फक्स स्पोट्र्ससँग भने, ‘म स्पेनको प्रणालीलाई श्रेय दिन चाहन्छु। उनीहरूले निर्माण गरेको संरचना नै सफलताको आधार हो।’ ‘किनकि पहिले स्पेन ऐसेरी जित्दैनथ्यो। अहिले भने उनीहरू हरेक उमेर समूहमा जितिरहेका छन्।’

बीबीसी स्पोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नील जोन्स्टन
नील जोन्स्टन
लेखकबाट थप