‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
सारांश
- इरानको मिनाबस्थित शजरेह तयेबेह प्राथमिक विद्यालयमा भएको आक्रमणमा १२० बालबालिकासहित १५६ जनाको मृत्यु भएको छ।
- अमेरिकी सेनाले विद्यालय नजिकैको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) परिसरलाई लक्ष्य बनाएको आशंका गरिएको छ, यद्यपि अमेरिकाले जिम्मेवारी लिएको छैन।
- आक्रमणमा परी मृत्यु भएका बालबालिकाहरूका परिवारले आफ्ना छोराछोरीलाई लुगा र मोजाका आधारमा पहिचान गर्नुपरेको थियो।
इरानको दक्षिणी सहर मिनाबस्थित शजरेह तयेबेह प्राथमिक विद्यालय अहिले भग्नावशेषमा परिणत भएको छ । भत्किएको माथिल्लो तल्लाबाट ठूला–ठूला कङ्क्रिटका टुक्रा झुन्डिरहेका छन् भने केही कक्षाकोठामा अझै पनि फूलका चित्र लगायतका रङ्गीन भित्तेचित्र देखिन्छन् ।
यही विद्यालयमा पहिलो कक्षाका छात्राहरूलाई पढाउने ३३ वर्षीया शिक्षिका अमिनेह नादेमी सावधानीपूर्वक भग्नावशेषबीच हिँड्छिन् । उनलाई कुन ठाउँमा कुन कक्षाकोठा थियो भन्ने सबै याद छ ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेकै बिहान यस विद्यालयमा भएको आक्रमणले एक सामान्य विद्यालयको दिनलाई युद्धकै सबैभन्दा भीषण त्रासदीको दिनमा बदलिदियो । मिनाब सरकारी वकिल कार्यालयका अनुसार उक्त आक्रमणमा १२० बालबालिकासहित १५६ जनाको मृत्यु भयो । मृतकमध्ये एक गर्भवती महिला र उनको गर्भस्थ शिशुसमेत थिए।
विज्ञहरूका अनुसार उपलब्ध प्रमाणले विद्यालयसँगै रहेको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) परिसरलाई लक्ष्य बनाएर अमेरिकी सेनाले प्रहार गरेको संकेत गर्छ । यद्यपि अमेरिकाले यसको जिम्मेवारी स्वीकार गरेको छैन, तर अमेरिकी सञ्चारमाध्यमहरूले सैन्य अनुसन्धानमा यो आक्रमण सम्भवतः अमेरिकी सेनाबाट नचाहँदा–नचाहँदै भएको निष्कर्ष आएको बताएका छन् ।
‘हामी सबै हावामा उछिट्टियौं’
अमिनेहका अनुसार त्यो दिन रमजान महिना भएकाले विद्यार्थीहरू बिहान प्रार्थना कक्षमा कुरान पाठ गरिरहेका थिए । त्यसपछि उनले पहिलो कक्षाका बालबालिकालाई फारसी वर्णमालाको नयाँ अक्षर सिकाउन थालेकी थिइन् । युद्ध सुरु भएको खबरसँगै प्रधानाध्यापकले विद्यालय बन्द गर्ने घोषणा गरे र अभिभावकलाई आफ्ना बालबालिका लिन आउन आग्रह गरियो ।
त्यतिबेला उनका १५ विद्यार्थीमध्ये पाँच जना मात्र कक्षामा बाँकी थिए । उनी विस्फोटको आवाज सुनेर कक्षातर्फ फर्किँदै गर्दा मिसाइल विद्यालयमा खस्यो । ‘केही वस्तु मेरो टाउको र विद्यार्थीहरूको टाउकोमा लाग्यो, हामी सबै उछिट्टियौं,’ उनले सम्झिइन् । त्यसपछि बाक्लो कालो धुवाँले कक्षाकोठा भरियो ।
‘मेरो काखमा भएका विद्यार्थीहरू पनि देखिन छाडे । सास फेर्नै सकिएन ।’ त्यसपछिको अर्को विस्फोट, बालबालिकाको चिच्याहट र पूरै विद्यालय एकैचोटि भत्किएको आवाज उनले अझै बिर्सन सकेकी छैनन् ।
‘मेरो छोरा भेटाइदिनुहोस्’
इरानी रेड क्रिसेन्टका उद्धारकर्मी रेजा बेशारती घटनास्थलमा पुग्ने पहिलो टोलीमध्ये थिए । विद्यालय वरिपरिका सडक आफ्ना बालबालिकाको खोजीमा दौडिएका अभिभावकले भरिएको थियो । भग्नावशेषभित्र प्रवेश गर्दा उनले आफन्तहरूलाई पनि भेटे ।
‘हामी कसैलाई जीवित भेटिन्छ कि भनेर खोजिरहेका थियौं, तर दुर्भाग्यवश कोही पनि बाँचेका थिएनन्,’ उनले भने । उनका अनुसार धेरै शव यति धेरै क्षतविक्षत थिए कि कतै हात मात्र, कतै खुट्टा मात्र भेटिन्थ्यो । धेरै परिवारले आफ्ना छोराछोरीलाई जुत्ता वा लुगाका आधारमा पहिचान गर्नुपरेको थियो । उनले आफ्नी एक आफन्तले ‘मेरो बच्चा, मेरो छोरा भेटाइदिनुहोस्’ भन्दै रोएको दृश्य अझै बिर्सन नसकेको बताए ।
आक्रमणमाथि अनुसन्धान
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणबिनै इरानलाई दोष दिएका थिए । रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले नागरिकलाई कहिल्यै निशाना नबनाउने दाबी गर्दै अनुसन्धान भइरहेको बताएका थिए ।
पछि अमेरिकी सञ्चारमाध्यमहरूले प्रारम्भिक अनुसन्धानले अमेरिकी रक्षा गुप्तचर निकायको पुरानो तथ्यांकका कारण विद्यालयलाई सैन्य परिसरको भाग ठानिएको देखाएको खबर प्रकाशित गरे । उपग्रह तस्बिरले विद्यालय सन् २०१६ देखि आईआरजीसी परिसरबाट छुट्टै पर्खालले विभाजन गरिएको र यसको आफ्नै प्रवेशद्वार रहेको पुष्टि गरेको छ । साथै, यो विद्यालय भएको जानकारी सार्वजनिक रूपमा इन्टरनेटमा उपलब्ध थियो ।
मोजाले पहिचान भएको छोरी
विद्यालय नजिकैको कब्रिस्तानमा प्रत्येक साँझ पीडितका परिवारहरू भेला हुन्छन् । नौ वर्षीया सेतायेशकी आमा मासुमेह मेहरान शेखाबादी हरेक दिन छोरीको समाधिमा पुग्छिन् । उनी पनि आक्रमणपछि विद्यालयतर्फ दौडिएकी थिइन् ।
‘त्यहाँ विद्यालय थिएन, धुवाँ, बालबालिकाका रौँ, कतै हात, कतै खुट्टा मात्रै थियो,’ उनी भक्कानिँदै भन्छिन् । परिवारले अर्को दिन बिहान मात्र सेतायेशको मृत्यु पुष्टि गर्न सकेको थियो । ‘उनीहरूले मलाई छोरीले कस्तो रङको मोजा लगाएकी थिई भनेर बारम्बार सोधे । मैले क्रीम रङको भनेँ । अन्ततः मेरी छोरीलाई मोजाकै आधारमा चिनियो,’ उनले बताइन् । सेतायेशको सपना भविष्यमा शिक्षिका बन्ने थियो ।
‘उनीहरू पढ्न गएका थिए’
मिनाबको यो आक्रमणलाई इरान सरकारले अन्तर्राष्ट्रिय मञ्चदेखि सरकारी सञ्चारमाध्यमसम्म बारम्बार उठाउँदै आएको छ । युद्धले इरानी समाजलाई विभाजित पारे पनि मिनाब घटनाले धेरैलाई स्तब्ध बनाएको छ । अमिनेह अहिले पनि आफ्ना पूर्वविद्यार्थीहरूको समाधिमा पुग्छिन् ।
उता सेतायेशकी आमा एउटै प्रश्न दोहो¥याउँछिन्, ‘यी बालबालिकाको अपराध के थियो ? के उनीहरूले हतियार बोकेका थिए ? उनीहरूसँग त केवल पेन्सिल, किताब, कापी र विद्यालयको झोला थियो । उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए ।’
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण