बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी

बिहीबार, ०७ साउन २०८३, १७ : ३६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विज्ञान तथा प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले चीनको मुनशट एआईले एन्थ्रोपिकको प्रविधि ठुलो स्तरमा चोरी गरेको आरोप लगाएका छन् ।
  • मुनशट एआईले 'डिस्टिलेसन' प्रविधि प्रयोग गरी एन्थ्रोपिकको शक्तिशाली एआई मोडेलबाट क्षमता निकालेर आफ्नो किमी के-३ मोडेल विकास गरेको आरोप छ ।
  • मुनशट एआईले अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका अत्याधुनिक कम्प्युटिङ सर्भर प्रयोग गरी आफ्ना मोडेललाई प्रशिक्षण दिएको पनि आरोप लगाइएको छ ।

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विज्ञान तथा प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले चीनको मुनशट एआईले अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको प्रविधि ठुलो स्तरमा चोरी गरेको आरोप लगाएका छन् ।

क्राट्सियोसका अनुसार बेइजिङस्थित मुनशट एआईले 'डिस्टिलेसन' नामक प्रविधि प्रयोग गरेर एन्थ्रोपिकको शक्तिशाली एआई मोडेलबाट क्षमता निकाल्दै आफ्नो किमी के–३ मोडेल विकास गरेको हो । डिस्टिलेसन भनेको कम क्षमताको एआई मोडेलले शक्तिशाली एआई मोडेलका उत्तर र व्यवहारको अध्ययन गरेर आफ्नै क्षमता सुधार्ने प्रक्रिया हो ।

मुनशट एआईले अमेरिकी निर्यात नियन्त्रणको दायरामा रहेका एनभिडियाका अत्याधुनिक जीबी–३०० ग्रेस ब्ल्याकवेल कम्प्युटिङ सर्भरमा पनि पहुँच प्राप्त गरी आफ्ना मोडेललाई प्रशिक्षण दिएको आरोप पनि उनले लगाए ।

बीबीसीले यस विषयमा प्रतिक्रिया लिन मुनशट एआई, अमेरिकास्थित चिनियाँ दूतावास, एन्थ्रोपिक, ह्वाइट हाउस र एनभिडियासँग सम्पर्क गरेको भए पनि समाचार तयार पार्दासम्म कुनै पक्षबाट आधिकारिक प्रतिक्रिया नआएको बताइएको छ । गत साता मुनशट एआईले सार्वजनिक गरेको किमी के–३ मोडेलले विश्वभर ध्यान आकर्षित गरेको थियो । धेरै विश्लेषकहरूले यसले चिनियाँ र पश्चिमी एआई प्रविधिबिचको अन्तर उल्लेखनीय रूपमा घटाएको बताएका छन् । मुनशट एआईले पनि आफ्नो नयाँ मोडेलले अग्रणी अमेरिकी एआई प्रणालीसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेको छ ।

अमेरिकाले सन् २०२२ देखि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै घरेलु चिप निर्माता कम्पनी एनभिडियाका अत्याधुनिक चिप चीन निर्यातमा प्रतिबन्ध लगाएको छ । ती चिप चिनियाँ सेनाले प्रयोग गर्न सक्ने आशंकाका कारण यस्तो निर्णय गरिएको थियो । त्यसयता विभिन्न देशहरूले यस्ता चिपको अवैध तस्करी रोक्न कडा निगरानी गर्दै आएका छन् ।

क्राट्सियोसको आरोप सार्वजनिक हुनुभन्दा एक दिनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि चिनियाँ एआई कम्पनीहरूले अमेरिकी प्रविधिको क्षमता चोरी गरेका छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान गरिने बताएका थिए । उनले बौद्धिक सम्पत्ति चोरीका लागि औद्योगिक स्तरमा डिस्टिलेसन आक्रमण गर्ने चिनियाँ कम्पनीमाथि आवश्यक परे प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप