बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
बीपीकाे ४४ ‌‍औँ स्मृति दिवस

प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा

बिहीबार, ०७ साउन २०८३, १७ : ०८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • कांग्रेस नेता गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्दै सुशासनको नाममा कुनै पनि गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
  • थापाले सरकारले संवैधानिक निकायहरू, विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाबमा राखेर आफ्नो सचिवालयको छाया बनाउन खोजेको आरोप लगाएका छन् ।
  • उनले प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने समाचारबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने र नेपालको सरकार संविधान मान्छ कि मान्दैन भन्ने प्रश्न उठाएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो प्रहार गर्दै सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राख्न खोजेको आरोप लगाए। 

प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ तर, काला कर्तुत गर्न छुट छैन । यो विषय हामीले संसद्‌मा पनि उठाइरहेका छौँ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयको छाया बनाउन खोजेको भन्दै प्रश्न गरे । 

‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो ? यसको उत्तर सरकारले दिनुपर्छ’ थापाले भने, ‘अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन ।’

सञ्चार माध्यममा आएका प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने समाचारहरूबारे टिप्पणी गर्दै थापाले चुनौती दिए । ‘यदि सञ्चार माध्यममा आएका ती कुरा सत्य होइनन् भने सम्बन्धित मिडियालाई कारबाही गर्नुस्, होइन भने हामीलाई यसको चित्तबुझ्दो जवाफ चाहिन्छ । नेपालको सरकारले संविधान मान्छ कि मान्दैन, हाम्रो मुख्य प्रश्न यही हो,’ थापाले भने ।

 अघिल्लो शेरबहादुर देउवा समूहका नेताहरूले आफूमाथि गरेको आलोचना र गालीगलौजप्रति लक्षित गर्दै थापाले व्यङ्ग्य गरे । ‘हिजो बीपी स्मृति दिवसको नाममा गगन थापा निन्दा प्रतियोगिता चलिरहेको रहेछ । त्यो सुन्नुभन्दा नसुन्नु नै उपयुक्त हुन्छ भन्ने ठानेर मैले बेवास्ता गरिदिएँ,’ उनले भने। 

थापाले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर राष्ट्रिय शक्ति भएको दाबी गरे । उनले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए। 

‘हामीसँग सङ्गठन छ, नीति र उद्देश्य पनि छन् । अब पुराना साथीहरूको सम्मान गर्दै नयाँ साथीहरूलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनु छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप