५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
सारांश
- नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म बिना भन्सार घोषणा नेपाल भित्र्याउन सक्नेछन्।
- ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याएमा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्नेछ।
- सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २०० र ५०० दरका नोट प्रतिव्यक्ति २५ हजार भारुसम्म ल्याउन, लैजान तथा सटही गर्न सकिनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्थाबारे पुनः सूचना जारी गरेको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का व्यवस्थाहरूको आधारमा राष्ट्र बैंकले यो नियम लागू गरेको हो।
राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा ५ हजार अमेरिकी डलर बराबर र विनिमय दर प्रकाशन नहुने अन्य मुद्राको हकमा पनि ५ हजार डलर बराबरसम्म) बिना भन्सार घोषणा नेपाल भित्र्याउन सक्नेछन्। तर ५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ।
त्यस्तै, भारतीय रुपैयाँ कारोबारको सम्बन्धमा सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन। तर सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारुको सीमासम्म प्रचलित व्यवस्था अनुसार ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्।
यसैगरी, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्थासमेत राष्ट्र बैंकले स्पष्ट पारेको छ। यस विषयसँग सम्बन्धित २०८२ साल भदौ १० गते प्रकाशित सूचना भने खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण