शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता

‘सञ्चारमाध्यमले राजनीति र विवादभन्दा सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्छ’
शुक्रबार, ०८ साउन २०८३, १२ : ०१
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेकोमा चिन्ता व्यक्त गरेका छन्।
  • उनले सामाजिक सञ्जाल र टिकटक जस्ता प्लेटफर्मले नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको बताए।
  • उनले सञ्चारमाध्यमहरूलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे।

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन्। 

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको महानिरीक्षक कार्कीले उल्लेख गरे। सामाजिक सञ्जाल र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उनले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिए।

अध्ययनको शैली र प्रहरीको नयाँ अभ्यासबारे बोल्दै कार्कीले भने, ‘आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन्। टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ। यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ।’

उनका अनुसार प्रहरीले सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढङ्गले सूचना पुर्‍याउने प्रयास गरिरहेको छ।

यसैक्रममा महानिरीक्षक कार्कीले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे।

सञ्चारमाध्यमको भूमिकाबारे स्पष्ट पार्दै उनले थपे, ‘सञ्चारमाध्यमसँग पनि मेरो आग्रह छ– राजनीति, विवाद र द्वन्द्वका समाचार मात्र होइन, सिर्जनशीलता, परिश्रम, उत्पादन, कृषि, पर्यटन, नवप्रवर्तन, सुरक्षा र समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिहरूका प्रेरणादायी समाचारलाई पनि प्राथमिकता दिइयोस्।’

कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चारमाध्यमले स्थान दिनुपर्नेमा उनले जोड दिएका छन्। यस्ता सकारात्मक समाचारको प्रवर्द्धनले समाजलाई सभ्य, सचेत, उद्यमशील र रचनात्मकतातर्फ मोड्न ठुलो योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप