नारायणगढ–मुग्लिन सडक खण्ड : सवारीसाधन रोकेर तुइन खोलामा ढिस्को काटिने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याइसकेको छ ।
घिमिरेका अनुसार दैनिक दुई/तीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उनले जानकारी दिए । यो सडक राजधानीको ‘लाइफलाइन’ हो । दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन् ।
बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सिको मुग्लिनपट्टीको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ ।
पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिस झुण्डिएर जोखिमपूर्ण ढिस्काहरू तल झार्नुपर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उनले जानकारी दिए ।
पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको छ । नाम्सिको मुग्लिनपट्टीको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइको रहेको छ । केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो ।
सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ । मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, ब्याकहो लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण