सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
सारांश
- पाल्पाकी मीना नेपाल र बुटवलकी भीमा बस्याल सुन्न र बोल्न नसके पनि आकर्षक हस्तकलाका गहना बनाएर आत्मनिर्भर बनेका छन् ।
- सन् २०१३ मा भारतमा मानव बेचबिखनमा परेका महिला र बालबालिकाको उद्धारपछि उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सानो पाइला नामक संस्थाले ज्वेलरी बनाउने तालिम दिन थालेको थियो ।
- सन् २०२४ मा संस्थाले स्कुल अफ वुमन्स आन्ट्रप्रेनरसिप सुरु गरी घरेलु हिंसा र एकल महिलालाई हस्तनिर्मित गहना बनाउने तालिम दिएको छ ।
काठमाडौँ । पाल्पाकी मीना नेपाल र मणिग्राम, बुटवलकी भीमा बस्याल सुन्न र बोल्न सक्दैनन् । यद्यपि उनीहरू हस्तकलामा पोख्त छन्, जो आकर्षक गहना बनाएर उदाहरणीय बनेका छन् ।
ललितपुर, सातदोबाटोस्थित एक वर्कसपमा यी दुवैले आफ्नो सिप प्रयोग गरेर आत्मनिर्भर भएको मात्र होइन, अरूका लागि उदाहरणसमेत पेस गरेका छन् ।
वर्कसपमा ब्रासका धातुहरूमा यी दुई महिलाले नयाँ आकार दिएर आकर्षक गहना तयार पार्छन् । तीन महिना तालिम लिएर उनीहरू यो पेसामा लागेका हुन् ।
_4q1i1h5YHQ.jpg)
सन् २०१३ मा भारतमा मानव बेचबिखनमा परेका महिला र बालबालिकाको उद्धारपछि उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सानो पाइला नामक संस्थाले ज्वेलरी बनाउने तालिम दिन थालेको थियो । सन् २०१६ सम्म आइपुग्दा यो एउटा व्यावसायिक कम्पनी ‘कांस्य ज्वेलरी’ का रूपमा स्थापित भयो, जसमा कामदार आफैँँ मालिक छन् ।
‘कांस्य ज्वेलरी’ को यात्रा कुनै व्यापारिक उद्देश्यबाट सुरु भएको थिएन । कांस्य ज्वेलरीको विशेषता भनेको यहाँ काम गर्ने आर्टिस्टहरू केवल कामदार मात्र होइनन्, उनीहरू कम्पनीका हिस्सेदार (सेयर होल्डर) पनि हुन् । उनीहरू आफैँ गहना बनाउँछन्, आफैँ बजारमा लगेर बिक्री गर्छन् र आएको आम्दानीबाट आफ्नो जीविकोपार्जनसँगै संस्था विस्तार गर्नमा खर्चिन्छन् ।
_kQD9hHU7ul.jpg)
‘हाम्रो मुख्य उद्देश्य नै उहाँहरू जस्तै महिलाहरूलाई सशक्त बनाउनु हो । जति धेरै दिदीबहिनी यहाँ जोडिनुहुन्छ, यो यात्रा त्यति नै बलियो हुँदै जान्छ ।’ कांस्य ज्वेलरीका सीईओ दीपक बहादुर श्रेष्ठले भने ।
यहाँ काम गर्ने आर्टिस्टहरू बोल्न र सुन्न सक्दैनन् । उनीहरू हातको इशारा (साइन ल्याङ्गवेज) मार्फत आफ्नो कुरा राख्छन् । यहाँ बनाइएका गहना बजारमा लैजान र ग्राहकहरूसँग सहजीकरण गर्न संस्थाले दोभाषेको व्यवस्था गरेको छ । साइन ल्याङ्गवेजको काममा रमिता बुढाले उनीहरूलाई सघाइरहेकी छन् ।
_5R0Y53xdQu.jpg)
मीना र भीमाले स–साना इयर रिङदेखि नेकलेससम्मका कलाकृति बनाइरहेका हुन्छन् । सन् २०२४ मा संस्थाले स्कुल अफ वुमन्स आन्ट्रप्रेनरसिप सुरु गरेको थियो । नेपालभरिबाट घरेलु हिंसामा परेका र एकल महिला गरेर ११ जनालाई काठमाडौँ ल्याएर ३ महिनासम्म आवाससहित हस्तनिर्मित गहना बनाउने तालिम दिइएको थियो । तीमध्ये केही महिला अहिले कांस्य ज्वेलरीमै काम गरिरहेका छन् भने कतिपय आफ्नो गाउँ–ठाउँ फर्केर आफ्नै उद्यम सुरु गरिसकेका छन् ।
कांस्य ज्वेलरीमा उत्पादन गरिएका गहना प्रत्येक शनिबार लबीम मल र विभिन्न मेलामा स्टल राखेर बिक्री गरिन्छ । ती स्टलमा झुण्ड्याइएका ब्रास, पञ्चधातु, र अर्डर अनुसार बनाइएका सुन–चाँदीका गहनाले ग्राहकको मन तान्छन् नै, त्यसभन्दा बढी ती गहना पछाडिको सङ्घर्षको कथाले मानिसलाई आकर्षित गर्छ ।
सानो पाइलाका संस्थापक कञ्चन झाले कांस्य ज्वेलरीको शाखा छिटै नै वीरगञ्जमा सुरुवात गर्ने योजना रहेको बताए । ‘वर्कसप र आउट्लेट दुवै राख्दैछौँ,’ झाले भने ‘अब बाँसबाट बन्ने सामान र हस्त निर्मित सामानहरूको सम्भावनाबारे अध्ययन गरेर त्यसमा पनि काम गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण