बागमती सरकारका प्रवक्ता तामाङलाई प्रश्न : अब मुख्यमन्त्रीको विश्वासको मत कि राजीनामा ?
सारांश
- बागमती सरकारका प्रवक्ता प्रभात तामाङले तत्काल राजीनामा दिने योजना नरहेको बताएका छन्।
- उनले सरकारले विश्वासको मतका लागि अन्य दलहरूसँग छलफल गरिरहेको जानकारी दिए।
- मन्त्री तामाङले राप्रपाको भूमिका निर्णायक रहेको र कांग्रेसकै नेतृत्वमा पनि सरकार बन्ने अवस्था रहेको बताए।
हेटौँडा । बागमती प्रदेशमा सत्ता समीकरणको फेरबदलसँगै मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने विषयले चर्चा चलिरहेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ स्वयम् सरकार निर्माणका लागि आवश्यक बहुमत सिद्ध गरेमा आफूले मार्ग प्रशस्त गर्ने बताउँदै आएका छन् ।
उक्त अवस्थामा बागमती सरकारको नेतृत्व एमालेबाट हुने गरी नेकपाले सत्ता साझेदारीमा नयाँ गठबन्धन बनाएको छ । उक्त अवस्थाका बिच बागमती सरकारका मुख्यमन्त्री बानियाले अब के राजीनामा गर्लान् वा विश्वासको मत लिएर संसद् फेस गर्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
बागमती सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले तत्काल राजीनामा दिने योजना नरहेको बताए । सरकारबाट अहिले नै राजीनामा दिने अवस्था नरहेको र अन्य दलहरूसँग विश्वासको मतका लागि आवश्यक छलफल भइरहेको उनले बताए ।
प्रदेशमा हालसम्म कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिने विषय नरहेको र सरकारले विश्वासको मत लिन सक्ने समय पनि बाँकी रहेकाले छलफल भइरहेको उनले बताए ।
‘अहिलेको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीले तत्काल राजीनामा दिने विषय उठेको छैन । हामी विश्वासको मतको विषयमा अन्य दलहरूसँग छलफल गरिरहेका छौँ’ उनले भने, ‘संसदीय प्रक्रिया पनि त्यही हो । हाल कसैको पनि बहुतम नरहेकाले बागमती संसद्को स्थायित्वका लागि सरकारको निरन्तरता नै उत्तम हो ।’
उनका अनुसार सरकारले संवैधानिक प्रक्रिया अनुसार नै अगाडि बढ्ने रणनीति बनाएको छ र अन्य साना दलहरूको समर्थन जुटाउन छलफल गरिरहेको छ । नयाँ सरकार गठनका लागि एमाले र नेकपाको गठबन्धनलाई बहुमत पुर्याउन सकस भइरहेको उनले बताए । मन्त्री तामाङले राप्रपाको भूमिका सबैभन्दा निर्णायक रहेकाले कांग्रेस कै नेतृत्वमा पनि सरकार बन्ने अवस्था रहेको उनले बताए ।
यदि एमाले र नेकपाको गठबन्धनले बहुमत जुटाउन नसकेमा वा राप्रपाले पनि साथ नदिएमा संविधान अनुसार सबैभन्दा ठुलो दलको हैसियतमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए । अहिलेको राजनीतिक तरल अवस्थालाई चित्रण गर्दै उनले सरकार गठनको साँचो राप्रपासँगै रहेको र राप्रपाको ग्रिन सिग्नल पछि मात्र बागमती सरकारको आगामी बाटो प्रस्ट हुने बताए ।
‘नेकपा एमाले बहुमतमा पुग्ने भनिए पनि उनीहरूलाई राप्रपाको साथ अनिवार्य छ । राप्रपाले कुन पक्षलाई सहयोग गर्छ, त्यसैले सरकारको भविष्य तय गर्छ ।’
उनले भने, ‘नयाँ गठबन्धनको बहुमत पुग्न नसकेको खण्डमा ठुलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । त्यो बेला दोस्रो चरणको सरकारले बहुमत सिद्ध गर्न अन्य दलहरूको पनि सहयोग पाउने हाम्रो विश्वास छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण