मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही

मङ्गलबार, १२ साउन २०८३, १० : ४३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
  • नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गर्ने तयारी गरेका छन् ।
  • शाही आज कर्णालीको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन् ।

सुर्खेत । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए ।

नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गर्नेछन् । त्यसका लागि आवश्यक तयारी भइरहेको नेकपा स्रोतले बताएको छ ।

शाही आइतबार काठमाडौँ गएका थिए । शीर्ष नेतृत्वसँग भेट गरी उनी मंगलबार बिहान ८ बजेको विमानमार्फत सुर्खेत फर्किएका छन् । नेकपा एमाले र नेकपाबिच प्रदेशमा सत्ता समीकरण भएसँगै कर्णाली नेकपाको भागमा परेको थियो ।

यता एमाले संसदीय दलका नेता यामलाल कँडेल पनि आइतबार काठमाडौँ गएर सोमबार फर्किएका छन् । यद्यपि दुई दलका नेताबीच अहिलेसम्म औपचारिक बसाइ भने हुन सकेको छैन ।

स्रोतका अनुसार अहिले ११ बजेतिर दुई दलका नेताबीच छलफल हुने समयतालिका छ । शाहीले अहिले आफ्ना दलका सांसदसँग छलफल गरिरहेका छन् । शाही आज कर्णालीको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन् । यसअघि यामलाल कँडेलले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

नयाँ मुख्यमन्त्रीको दाबी पेसका लागि अहिलेसम्म प्रदेश प्रमुखको कार्यालयमा जानकारी भने राइएको छैन ।

‘आज अन्तिम समय हो तर हालसम्म जानकारी आएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप