लुटेर लगेको झोलाले खोल्यो विप्लव समूहका नेताको कर्तुत !
काठमाडौं । ‘सुन चाहिएको छ भने मलाई सम्पर्क गर्नुहोस्,’ नुवाकोट तारकेश्वरका ३० वर्षीय राजन तामाङले तीन महिनाअघि नवलपरासी बर्दघाटका योगेश विकलाई भनेका थिए ।
उनीहरुको सामान्य चिनजान मात्र थियो । तर, राजनलाई योगेश सुनचाँदी व्यवसायी हुन् भन्ने चाहिँ थाहा थियो । योगेशको नवलपरासीमै बालकृष्ण सुनचाँदी पसल छ । बीच–बीचमा राजनले योगेशलाई तारन्तर फोन गरिरहन्थे ।
गंगालाल अस्पतालमा उपचाररत बुबालाई भेट्न काठमाडौँ आएको बेला योगेशले राजनलाई पनि भेट्ने योजना बनाउँछन् । राजनले योगेशलाई सामाखुसी बसपार्कस्थित मुस्ताङ गेष्ट हाउसको ४०४ कोठा नम्बरमा बोलाउँछन् ।
योगेशसँग २ वटा झोला हुन्छ । सानो झोलामा सुन किन्न ल्याएको पैसा र ठूलो झोलामा आफ्नो कपडा । राजनले विदेशबाट ल्याएको ५०–५० ग्रामको सुनको ढिक्का आफूसँग रहेको कुरा योगेशलाई जानकारी गराएका समेत थिए ।
योगेश सो होटलको ४०४ नम्बरको कोठामा पुग्छन् । राजन एक्लै हुन्छन् । एकछिन उनीहरुबीच कारोबारको विषयमा कुराकानी हुन्छ । कुराकानीकै क्रममा राजनले साथीहरुले सुन ल्याउँदैछन् भनेर योगेशलाई भुलाउँछन् ।
केहीबेरमा सो कोठामा थप ४ जना युवाहरु पस्छन् । कोठाभित्र पसेलगत्तै उनीहरुले योगेशलाई कन्चटमा पेस्तोल देखाएर ‘हामी प्रहरी हौँ’ भन्दै ठूलो झोला लुटेर त्यहाँबाट भाग्छन् । सानो झोला योगेशसँगै हुन्छ ।
आफू लुटिएको थाहा पाएपछि योगेशले प्रहरीमा उजुरी दिन्छन् । उजुरी दिएको आधारमा प्रहरीले होटलको सीसी क्यामेरा हेर्छ । सीसी क्यामेरा हेर्दै गर्दा आधारमा प्रहरीले एकजना लुटेराको पहिचान गर्छ ।
प्रहरीले चिनेको व्यक्ति थिए गुल्मी ईस्मा गाउँपालिका–५ घर भई हाल हल्चोक बस्ने ३० वर्षीय युवराज भण्डारी । प्रहरीले युवराजलाई खोज्न सुरु गर्छ । अन्ततः महानगरीय प्रहरी परिसरको टोलीले दिउँसो १ बजेतिर बसपार्कबाट भण्डारीलाई पक्राउ गर्न सफल हुन्छ ।
भण्डारीलाई पक्रेर सोधपुछ गर्दै जाँदा घटनामा थप ७ जनाको संलग्नता देखिन आएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीसँग भने । भण्डारीको बयानको आधारमा खोज्दै जाँदा बाँकी ७ जना बसपार्कस्थित हाई रेष्टुरेन्ट एण्ड बारबाट पक्राउ परेको डीएसपी बोगटीले बताए ।
पक्राउ पर्नेहरुमा भण्डारीसँगै गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, नुवाकाट विदुरका २५ वर्षीय धर्मराज तामाङ, रसुवा छेदिङमोका २९ वर्षीय योर्साङ घले, धादिङ खनिवासका २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुरका ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ रहेका छन् ।
कुशल अधिकारी आर्मीका भगौडा समेत रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै सो समूहका मुख्य नाइके योर्साङ घले ‘गोरे’ हुन् । गोरे विप्लव समूहका नेता रहेको पाइएको छ ।
यस्तै राम बहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ राजन तामाङ र कुशल अधिकारी हाई रेष्टुरेन्ट एण्ड डान्स बारको सञ्चालक रहेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ परेका ८ जनालाई आज परिसरका पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
ठूलो झोलामा लाखौँ रुपैयाँ छ भन्दै...
होटलबाट योगेशको ठूलो झोलामा लाखौँ रुपैयाँ होला भनेर ५ जनाको समूहले लुटेर भागेको हुनसक्ने पत्रकार सम्मेलनमा परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।
एसपी सिंहले भने, ‘सुन किन्न आएको मान्छे । त्यसमा पनि सुन व्यवसायी नै । २०, २२ लाख त पक्कै ल्याएको होला । झोला उचाल्दा पनि भारी । यही सोचेर नै लुटेराहरुले सानो झोला छाडेर ठूलो झोला लुटेर गएको हुनसक्छ ।’
बौद्धको एक घर लुट्दै थिए
पक्राउ परेका लुटेरा समूहले आज या भोलि बौद्धस्थित एक व्यापारीको घर लुट्ने योजना समेत बनाएको पाइएको छ । पत्रकार सम्मेलनमा एसपी सिंहले लुटेराहरुले आज या भोलिसम्म बौद्धस्थित एक घर लुट्ने योजना बनाएको पाइएको बताए ।
‘उनीहरुले डान्सबारमा मिटिङ गरेर लुट्ने योजना बनाएका थिए,’ एसपी सिंहले भने, ‘समयमै घटनाबारे प्रहरीलाई जानकारी भएपछि लुटेराहरुको योजना विफल भएको छ ।’

बरामद सामान
पक्राउ परेका ८ जनाको साथबाट २ वटा पेस्तोल, सोको म्याजिङग २ वटा, ४ राउण्ड गोली र नक्कली सुन एक केजी पनि बरामद भएको छ ।
यस्तै लुटेरा समूहको साथबाट फलाम काट्ने एक औजार, लुटिएको पर्स, एटीएम कार्ड र मोबाइल २, लुटिएको कपटालगायत पछाडी बोक्ने झोला, मोटरसाइकल ४ र मोबाइल ७ वटा बरामद भएको छ ।
नेपाल प्रहरीले बोक्ने पेस्तोल
बरामद २ वटा चाइनिज पेस्तोल नेपाल प्रहरीले बोक्ने ६.२० एमएमको रहेको खुल्न आएको छ । पत्रकार सम्मेलनमा डीएसपी बोगटीले लुटेरा समूहबाट बरामद पेस्तोल सुरक्षा फौजले प्रयोग गर्ने पेस्तोल रहेको जानकारी दिए । डीएसपी बोगटीले भने, ‘लुटेरा समूहले कहाँबाट पेस्तोल ल्याए, अनुसन्धान गर्दैछौं ।’
पक्राउ परेका ८ जनाविरुद्ध हातहतियार खरखजना र लुटपाट तथा डकैती मुद्दा दायर हुने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण