बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्दैन: प्रदिप गिरी

मङ्गलबार, २४ भदौ २०७६, १५ : ०४
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।

स्वर्गीय वीपी कोइरालाले विकास गर्दा सँधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने  कुरा बताउँदै आएको स्मरण गर्दै उनले वीपीले देखाएको बाटोमा हिँड्न आग्रह गरे । उनले भने, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि  साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ ।  मनुष्य साध्य हो । मनुष्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुईचारवटा मान्छे मरे मरुन् । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाइँदैन ।  प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘बीपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएच डिलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।’

बीपीले सँधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उनले विकासका बारेमा बीपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद अनिलकुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।

सांसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् । साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको आरोप पनि उनले लगाए ।

उनले भने, ‘खाली हात जाने कि भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाउँ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् जनताले टिकट पाएका छैनन भनेर जाउँ कि ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डाखुल्डीमा भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर   सन्देश लिएर जाउँ कि ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप