सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हुलाकी राजमार्गको १३ वटा खण्ड हस्तान्तरण

बुधबार, १८ चैत २०७७, १९ : ०८
बुधबार, १८ चैत २०७७

काठमाडौं । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरे ।

कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको छ । योसँगै हुलाकी राजमार्गलाई जोडने वीरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ । नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अड्किएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट साकार पार्न सकिने समेत उनले बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताए । नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताए ।

आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताए । यस्तै रक्सौल–काठमाडौं रेलमार्गका लागि डिपिआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप