पश्चिम बंगालको कोलकातामा रहेको छ, इडेन गार्डेन्स अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम । यो भारतको सबैभन्दा चर्चित क्रिकेट रंगशाला हो । यो रंगशालामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भइसकेका छन् । यो भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियम पनि हो ।
यो क्रिकेट स्टेडियमको निर्माण सन् १८६४ मा भएको हो । यसका अतिरिक्त यो भारतको दोस्रो ठुलो क्रिकेट स्टेडियम पनि हो । यो क्रिकेट स्टेडियम हाल ६८ हजार दर्शक क्षमताको रहेको छ । यसैगरी इडेन गार्डेन्स विश्वकै तेस्रो ठुलो क्रिकेट स्टेडियम (दर्शक क्षमताका आधारमा) पनि हो । भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य घरेलु मैदान पनि इडेन गार्डेन्सलाई नै मानिन्छ । यो क्रिकेट मैदानले ‘भारतीय क्रिकेटको मक्का’ को उपनाम पनि पाएको छ । क्रिकेटमात्र होइन, भारतीय खेलकुदकै इतिहासमा यो सबैभन्दा पहिलो व्यवस्थित रंगशाला पनि हो ।
इडेन गार्डेन्समा यसअघि पनि एकदिवसीय विश्वकप, टी—२० विश्वकप, एसिया कपजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् । सन् १९८७ मा भारतले एकदिवसीय विश्वकप आयोजना गर्दा फाइनल खेल यही रंगशालामा खेलाइएको थियो । त्यतिबेला यो रंगशाला एकदिवसीय विश्वकपको फाइनल खेलाउने विश्वकै दोस्रो क्रिकेट रंगशाला पनि बनेको थियो । किनभने त्यसअघि पुरुष एकदिवसीय विश्वकपको पहिलो, दोस्रो र तेस्रो संस्करण लगातार इङ्ल्यान्डले आयोजना गरेको थियो ।
यसैगरी सन् २०१६ मा यही स्टेडियममा आईसीसी टी—२० विश्वकपको फाइनल खेल पनि खेलाइएको थियो । त्यतिबेला टी—२० विश्वकपको फाइनलमा क्यारेबियन टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएर उपाधिमाथि कब्जा जमाएको थियो । इडेन गार्डेन्स स्टेडियममा सर्वाधिक दर्शकको कीर्तिमान सन् १९९६ मा बनेको थियो । सन् १९९६ मा भएको एकदिवसीय विश्वकपको भारत र श्रीलङ्काबिच खेलिएको सेमिफाइनल खेल हेर्न एक लाख १० हजार पाँच सय ८४ दर्शक रंगशालामा उपस्थित भएका थिए । सन् १८६४ मा यो स्टेडियमको निर्माण सम्पन्न हुँदासम्म पनि नामको बारेमा भने टुङ्गो लागेको थिएन । पछि इडेन गार्डेन पार्कको नामबाट यो स्टेडियमको पनि नामकरण गरिएको बताइन्छ । यो स्टेडियममा पहिलो फुटबल खेल पनि खेलाइन्थ्यो ।
सन् १९८२ मा यही स्टेडियममा नेहरु कपको पहिलो संस्करण आयोजना गरिएका थियो । त्यसपछि सन् १९८४ को जनवरी १४ मा नेहरु कप फुटबल प्रतियोगिताअन्तर्गत नै भारत र उरुग्वेबिचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो । सन् १९८० मा यो स्टेडियममा एक अप्रिय घटना पनि भएको थियो । सन् १९८० को अगस्त १६ तारिखमा यो स्टेडियममा कलकत्ता फुटबल लिगअन्तर्गत मोहन बगान र पश्चिम बङ्गालबिच खेल भएको थियो । सोही खेलका क्रममा दुवै टोलीका समर्थकबिच भिडन्त हुँदा १६ जना समर्थकको मृत्यु भएको थियो । बङ्गाल क्रिकेट एसोसिएसनको मुख्यालय यही स्टेडियम परिसरमा रहेको छ । यो स्टेडियम बङ्गाल क्रिकेट टोलीको घरेलु मैदान हो । यसका अतिरिक्त इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सको घरेलु मैदान पनि यही हो । यो क्रिकेट स्टेडियममा आईसीसी महिला विश्वकपका खेलहरू पनि आयोजना भएका छन् ।
यो स्टेडियममा सन् २०१९ को नोभेम्बर २२ देखि २६ सम्म पहिलो पटक दिवा—रात्रि टेस्ट प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यो दिवा—रात्रि टेस्टमा भारतले बंगलादेशलाई एक पाली र ४६ रनको फराकिलो अन्तरले हराएको थियो । यो स्टेडियममा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले बनाएको सर्वाधिक योगफल पाँच विकेट गुमाएर चार सय चार रन हो । सन् २०१४ मा खेलिएको श्रीलङ्काविरुद्घको खेलमा भारतले उक्त रन बनाएको थियो । एकदिवसीय क्रिकेटमा बनेको सबैभन्दा सानो योगफल भने आठ विकेट गुमाएर एक सय २८ रन हो । सन् १९९६ मा सम्पन्न भारत र श्रीलङ्काबिचको खेलमा उक्त रन बनेको थियो ।
इडेन गार्डेन स्टेडियममा एकदिवसीय क्रिकेटको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी रोहित शर्मा हुन् । उनले सन् २०१४ मा श्रीलंकाविरुद्घको खेलमा दुई सय ६४ रन बनाएका थिए । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भने भारतका सचिन तेन्दुल्कर हुन् । उनले यो स्टेडियममा खेलिएको एकदिवसीय खेलमा कुल चार सय ९६ रन बनाएका छन् । यो रंगशालामा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने छ ।
कोलकत्ता नाइट राइडर्स
सनराइजर्स हैदराबाद
कोलकत्ता नाइट राइडर्स
पञ्जाब किङ्स
कोलकत्ता नाइट राइडर्स
लखनउ सुपर जाइन्ट्स
कोलकत्ता नाइट राइडर्स
राजस्थान रोयल्स
कोलकत्ता नाइट राइडर्स
गुजरात टाइटन्स
कोलकत्ता नाइट राइडर्स
मुम्बई इण्डियन्स
कोलकत्ता नाइट राइडर्स
दिल्ली क्यापिटल